महन्थ ठाकुरलाई महाधिवेशन मूल आयोजक समितिको संयोजक बनाएपछि राष्ट्रिय जनता पार्टी(राजपा)नेपालमा असन्तुष्टि देखिएको छ।
चैत २६-२८ गते बसेको अध्यक्ष मण्डलको बैठकले ठाकुरलाई महाधिवेशन मूल आयोजक समितिको संयोजक तोकेको थियो ।
महाधिवशेनको मिति नतोकिकन संयोजक तोक्न नहुने भन्दै अध्यक्ष मण्डलका सदस्यहरू महिन्द्र राय यादव र राजकिशोर यादवले बैठकमै असन्तुष्टि जनाएका थिए।
‘महन्थजीलाई संयोजक बनाउनेबारे हाम्रो कुनै असहमति होइन। उहाँलाई संयोजक बनाइसकेपछि महाधिवेशनको मिति र कार्यतालिकासहित तोकेर जानुपर्छ भनेको हो,’ अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले भने, ‘महन्थजीलाई संयोजक बनाएपछि पनि महाधिवशेन गर्न ढिलो भयो भने यसले पार्टीभित्र निराशा आउँछ भनेको हो।’
अध्यक्ष मण्डलका अर्का सदस्य राजेन्द्र महतोले पार्टीभित्र कार्यकर्ताले जिम्मेवारी नपाएकाले विशेष महाधिवशेन गरेर भए पनि एकल नेतृत्वमा जानका लागि ठाकूरलाई संयोजक तोकिएको बताए।
‘अहिले त सबै अधिकार अध्यक्ष मण्डलमा मात्रै छ। अब अध्यक्ष मण्डलबाट पार्टीलाई मुक्ति दिनुपर्छ,’ महतोले भने, ‘पार्टीको जीवनका लागि सोच्ने बेला आइसकेको छ। कर्यकर्ताले जहाँ राख्छन् अब त्यहीँ बस्ने हो।’
अध्यक्ष मण्डलको बैठकमा संयोजक शरतसिंह भण्डारीले पार्टी केन्द्रीय सदस्य,संघीय\प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवार,स्थानीय तहका प्रमुख\उपप्रमुखका उमेदवार,जिल्ला कार्यसमितिका अध्यक्ष मण्डल प्रतिनिधि रहने गरी विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका थिए। महाधिवेशन प्रतिनिधि छानिने कार्यकर्ता पनि उनीहरू नै भएकाले विशेष महाधिवशेन गर्दा फरक नपर्ने भण्डारीको तर्क छ।
अध्यक्ष मण्डलका अर्का सदस्य महिन्द्र राय यादवले भने विशेष महाधिवेशनको विकल्पलाई सोच्नै नसकिने बताए।
‘पार्टी संविधान र विधान अनुसार चल्ने हो। पार्टीको विधानसमेत नभएकाले पूर्ण महाधिवेशनमै जानुपर्छ,’ यादवले भने, ‘सबै नेता कार्यकर्ता वडादेखि चुनिएर आउनुपर्छ। विशेष महाधिवेशनको बहानामा टिके प्रथाको सुरूआत गर्न सकिदैन।’
महाधिवेशन गर्न आयोजक समिति जरूरी रहे पनि कुनै तयारी नगरी हतारमै संयोजक तोकिएको यादवले बताए।
फोरमसँग अनौपचारिक छलफल चलिरहेको छःमहतो
महतोले संघीय समाजवादी फोरमसँग एकताका लागि अनौपचारिक छलफल सुरू भएको जानकारी दिए। फोरमसँग मात्र नभई विचार मिल्ने अन्य पार्टीहरूसँग समेत छलफल भइरहेको बताए।
‘हामीले अनौपचारिक रूपमा भए पनि छलफललाई तीव्रता दिएका छौं। अब विचार मिल्नेहरूसँग एकता गर्नुको विकल्प छैन,’ महतोले भने, ‘हामी जति विभाजित हुन्छौं। राजनीतिक माग पूरा हुन त्यति समय लाग्छ।’
अधिकार प्रप्तिका लागि भएका आन्दोलन जति सबै बीचमै अल्झिएकाले मुलुक द्वन्द्वमै रहिरहेको महतोले बताए।
‘राज्यले जोसँग पनि सहमति गर्ने तर कार्यान्वयन नगर्ने गरिरहेको छ। यसले न त राज्यलाई फाइदा भएको छ न आन्दोलनकारीलाई,’ उनले भने, ‘राजनीतिक अस्थिरताकै कारण विकास भएन। त्यसैले अब स्थिरताका लागि वैकल्पिक शक्ति एक ठाँउमा हुनुपर्छ।’
महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपछि पार्टी एकताका लागि समेत सहज हुने महतोले बताए।