बिहीबार सुर्खेतमा तेस्रो नदी शिखर सम्मेलन कार्यक्रमको उद्घाटन हुँदै थियो। गैरसरकारी संस्था नदी संरक्षणले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित एक होटलमा उद्घाटन कार्यक्रम आयोजना गर्यो। देशका विभिन्न ठाउँबाट दर्जनौं सहभागी कार्यक्रममा उपस्थित थिए।
अतिथि आसनबाट कार्यक्रम सुरू भयो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख अतिथिको आसन गरे। त्यसपछि अतिथिको आसन ग्रहणको क्रम चल्यो। उद्घोषकले कर्णाली प्रदेश सरकारका सबै मन्त्रीलाई एकपछि अर्को गर्दै आसन गर्न आग्रह गरे। नाम बोलाइएअनुसार मन्त्रीहरू विशिष्ट अतिथिको फोरममा गएर बसे।
मुख्यमन्त्री शाहीसहित प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा योजना मन्त्री नरेश भण्डारी, भूमि व्यवस्था तथा कृषि मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्री खड्क खत्री, सामाजिक विकास मन्त्री दल रावलसहित पूरै मन्त्रिमण्डल नै कार्यक्रममा सहभागी भयो।
र्कायक्रमको प्रमुख अतिथि मुख्यमन्त्री हुँदा अध्यक्षता उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीले गर्नु पर्ने थियो। बाँकी सबै मन्त्री भने विशिष्ट अतिथिका रूपमा आमन्त्रित थिए।
कर्णाली प्रदेश सरकारका प्रवक्ता तथा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले आफ्नो काममा प्रभाव नपर्ने गरी मन्त्रीहरू कार्यक्रममा जाँदा खासै फरक नपर्ने बताइन्। आफ्नो कार्यालय समयमा मन्त्रीहरू नियमित पुग्ने गरेकाले बिहानको समय भएकाले मात्र कार्यक्रमबारे बुझ्न आफूहरु त्यहाँ पुगेको उनको भनाइ छ।
‘बिहानको समय थियो, खासै काम थिएन। के रहेछ भनेर सम्मेलनबारे बुझ्न मन्त्रीज्यूहरु जानुभएको होला,’ उनले भनिन्, ‘सबै काम गर्ने समयमा मन्त्रालय फर्किसक्नुभएको थियो। खाली समयमा जाँदा खासै फरक पर्दैन होला।’
कर्णाली प्रदेशका सबै मन्त्री एकै कार्यक्रममा सहभागी भएको यो पहिलो कार्यक्रम भने होइन। यसअघि पनि सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रममा पनि मन्त्रीमण्डल नै उपस्थित थियो।