नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिलाई प्रतिबन्ध लगाएको अर्को दिन प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधिलाई विप्लव माओवादीसँग नडराउन भनेका छन्।
बुधबार नेपाल नगरपालिका संघको वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधिलाई विप्लवले दिएको धम्कीबाट नडराउन भने।
‘राजनीतिका नाममा लुटपाट मच्चाउने, बम काण्ड र उपद्रो मच्याउने तत्वलाई राजनीतिक मान्न सकिन्न। कानुन बमोजिम गैरराजनीतिक हिंसा नियन्त्रण गर्ने हो,’ प्रधानमन्त्रीले भने, ‘तपाईंहरूसँग पैसा मागेको छ। धम्की दिएको छ भने नडराउनुस्। लुटेरा समूहलाई पैसा नदिनुस्।’
उनले कम्युनिकेशनका टावर भत्काउने, बाटोमा हिँडेका मान्छे मार्ने आतंककारी गतिविधि सरकारलाई सह्य नहुने बताए।
‘राजनीतिक क्रियाकलापमा आउने सबैलाई छुट छ, तर लुटको धन्दा चलाउने छुट कसैलाई छैन,’ प्रधानमन्त्रीले भने।
यसअघि मंगलबार विप्लवको पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गर्नुअघि प्रधानमन्त्रीले उनीसँग वार्ता गर्नुको कुनै औचित्य नभएको बताएका थिए।
फरक प्रसंगमा प्रधानमन्त्री ओलीले देशमा अब विखण्डनकारी शक्ति सकिएको दाबी गरे।
विखण्डनका नाममा पेपर प्रस्तुत गरेर खानेहरूको पेटमा लात लागेकाले उनीहरूले सिके राउतसँग सरकारले गरेको सहमतिको विरोध गरेको प्रधानमन्त्रीले तर्क गरे।