सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सञ्चार माध्यम शक्तिशाली र सशक्त बन्नुपर्ने बताएका छन्।
सामुदायिक रेडियो प्रसारक संघको सुर्खेतमा आयोजित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा मन्त्री बाँस्कोटाले सञ्चार माध्यमले सरकारको गल्तीका बारेमा खबरदारी तथा नागरिकको हितका लागि सशक्त भएर लाग्नुपर्नेमा जोड दिए।
‘मिडिया भनेका सरकारको बलियो प्रतिपक्षीजस्तो बन्नुपर्छ,’ मन्त्री बाँस्कोटाले भने, ‘जसले सरकारको खबरदारी गर्छ, सरकारका गल्तीको खबरदारी गर्छ त्यही मिडियालाई सरकारले प्रोत्साहन गर्नु आवश्यक ठानेको छु।’ सञ्चार माध्यमले नाफालाई हेरेर कार्य गर्नुभन्दा राष्ट्र र नागरिकको हितमा हुनेगरी कार्य गर्नुपर्ने उनले औंल्याए।
उनले सञ्चार माध्यमसम्बन्धी बन्ने कानुनहरू न्यायमा आधारित हुने बताए। सरकारले सबै क्षेत्रमा समान व्यवहार गरिरहेको भन्दै मन्त्री बाँस्कोटाले सबै विधाको पत्रकारितालाई समावेश गरेर उचित कानुन बनाइने बताए।
उनले स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यता सुनिश्चित गरेर कानुन बन्ने जानकारी दिए।
सञ्चार माध्यममा काम गर्ने श्रमिकहरूको न्यूनतम पारिश्रमिक अनिवार्य लागू गर्ने कुरामा सरकार पछि नहट्ने उनको भनाइ थियो।