दक्षिणपूर्वी एसियाली मुलुक थाइल्याण्डमा संवैधानिक राजतन्त्र छ। त्यसैले राजपरिवारका सदस्य देशको सक्रिय राजनीतिमा सहभागी हुँदैन। तर राजकुमारी उबोलरतना राजकन्याले आउने मार्च २४ मा हुने निर्वाचनमा प्रधानमन्त्री उम्मेद्वार बन्ने घोषणा गरेर तरंग ल्याइदिएकी छन्।
स्वर्गीय राजा भूमिबोल अदुल्यादोजकी छोरी ६७ वर्षीया उबोलरतना निर्वासनमा रहेका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राको पार्टीबाट प्रधानमन्त्रीकी उम्मेदवार बन्न लागेकी हुन्।
थाइल्याण्डमा शुक्रबारसम्म हरेक दलले आफ्ना प्रधानमन्त्री उम्मेदवारका नाम निर्वाचन आयोगमा बुझाउनु पर्ने थियो। सिनावात्राको थाई रक्षा चार्ट पार्टीले आफ्नो प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा उबोलरतनाको नाम पठाएको छ।
‘देशभित्र र बाहिरको अनुभव बाँड्दै उहाँ हाम्रो प्रधानमन्त्रीको उम्मेद्वार हुन राजी हुनुभयो। हामीलाई विश्वास छ उहाँ उपयुक्त उम्मेद्वार हो,’ पार्टीका नेता प्रीचापल पोङपानिचले संवाददाताहरूसँग भने, ‘हामी नियमको पालना गर्नेछौं। हामीले गर्ने सबै कुरा कानुनअनुसार हुनेछन्। उहाँका लागि कुनै विशेष अधिकार र सुविधा हुने छैन।’
राजसंस्थासम्बन्धी कानुनले राजपरिवार कुनै सदस्यको विरोध गर्न पाइँदैन। उम्मेदवार बनेपछि उनको हकमा यो लागू हुन्छ कि हुन्न भन्ने अन्यौल छ।
उबोलरतनाको उम्मेदवारीसँग सन् २०१४ मा सैन्य कूमार्फत सत्तामा आएका प्रायुथ चान ओचालाई आगामी चुनावमा धक्का लाग्ने देखिएको छ। उनी जुन्तासमर्थक पालाङ प्रचारत पार्टीबाट प्रधामन्त्री उम्मेदवार बनेका छन्।
राजकुमारी उबोलरतना अहिलेसम्म पार्टीकी सदस्य छैनन्। उनले सांसदका लागि उम्मेद्वारी पनि दिएकी छैनन्। थाइल्याण्डको संविधानअनुसार सांसद नहुँदा पनि प्रधानमन्त्री बन्न पाइन्छ।
अमेरिकी नागरिक पिटर जेन्सनसँग विवाह गरेपछि सन् १९७२ मा उबोलरतनाले थाई राजपरिवारको उपाधि त्यागेकी थिइन्। १९९८ मा उनको पिटरसँग सम्बन्धविच्छेद भएको थियो। त्यसको तीन वर्षपछि उनी स्वदेश फर्किएकी थिइन्।
सन् १९३२ संविधानले राजसंस्था आलंकारिक बनाएपछि थाई राजपरिवारका कुनै पनि सदस्यले सक्रिय राजनीति पदका लागि चुनाव लडेका छैनन्।
उबोलरतनाले उम्मेदवार बन्न सिनावात्राको पार्टीलाई छानेकाले पनि धेरैले यसलाई आश्चार्य मानेका हुन्।
प्रहरीबाट टेलकम व्यवसायी हुँदै राजनीतिमा होमिएका सिनावात्रा थाई जनतामा निकै लोकप्रिय छन्। सन् २००१ यता भएका सबै चुनावमा उनको पार्टीले बहुमत ल्याएको छ। तर दुई पटक भएका सैन्य कूबाट प्रधानमन्त्रीलाई हटाइएको छ।
सन् २००६ मा भएको सैन्य कूपछि सिनावात्रा निर्वासनमा गए। त्यसपछि उनका ज्वाइँ सोम्चाइ वोङसवात सन् २००८ मा प्रधानमन्त्री बने। सन् २०११ मा सिनावात्राकी बन्नी यानलक सिनावात्राले प्रधानमन्त्री जितिन् तर सन् २०१४ को सैन्य कूबाट उनलाई हटाइयो।
उनी प्रधानमन्त्री हुँदा अनुदानको चामल कार्यक्रममा मुद्दा लगाएर उनलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ। सिनावात्रा दाजु बहिनी निर्वासनमा देश बाहिर बस्छन्। प्राय उनीहरू युएईको दुबई बस्ने गरेका छन्।