नेपाल कम्युनिष्ठ पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताले एक दुई दिन भित्रै पूर्णता पाउने बताएका छन्। आज सिन्धुपाल्चोकको कुविण्डेमा आयोजीत एक कार्यक्रममा दाहालले सो कुरा बताएका हुन्।
दाहाल चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४, कुविण्डेको सेतीदेवि पञ्चकन्या माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन सिन्धुपाल्चोक आइपुगेका हुन्। ‘हामीले बनाएको कार्यदलले एक दुई दिनमै प्रतिवेदन पेश गर्नेछ, ’ प्रचण्डले भने, ‘त्यसपछि पार्टी एकताको कामले औपचारिक रूपमै पूर्णता पाउनेछ।’
आफूले सिन्धुपाल्चोकको हरेक दुःखमा साथ दिने अवसर पाएकोले आफूलाई सिन्धुपाल्चोक आफ्नै घर जस्तो लागेको बताए।
सिन्धुपाल्चोकलाई कृषिको विशेष पकेट क्षेत्र बनाउनुपर्ने विचार व्यक्त गर्दै यस विद्यालयलाई कृषि क्याम्पस बनाउन सबै पक्षलाई आग्रह गर्दै आफूले पनि सहयोग गर्ने बचनबद्धता व्यक्त गरे।
सिन्धुपाल्चोकको साविकको कुविण्डे गाविसलाई जनयुद्वको उद्गमस्थल मानिन्छ। यहाँ २०५२ सालमा स्थानीय महिलाले एक प्रहरीको हत्या गरी जनयुद्वको औपचारीक शुरूवात भएको मानिन्छ। त्यसपछि सोही ठाँउबाट जनयुद्वको लागि भूमिगत भएकामध्ये २४ जनाले ज्यान समेत गुमाए।
तत्कालीन अखिल क्रान्तिकारीका सिन्धुपाल्चोक अध्यक्ष माधव नेपाल ‘अखिल’ अझै पनि बेपत्ता छन्। यहीँबाट जनयुद्धमा होमिएका अग्नी प्रसाद सापकोटा नेपाल सरकारको सूचना तथा सञ्चार र वन मन्त्री भए। कुविण्डेकै कृष्ण प्रसाद सापकोटा र माधव सापकोटा ‘सुबोध’ पनि हाल नेकपाको केन्द्रीय सदस्य छन्। यसरी जनयुद्ध देखि हालसम्म पनि नेपालको कम्युनिष्ठ आन्दोलनमा आफ्नो बेग्लै छवि बनाएको कुविण्डेमा आफू आउन पाउँदा अत्यन्तै हर्षीत बनेको प्रचण्डले बताए।
कार्यक्रममा वर्तमान सरकारबारे बोल्दै प्रचण्डले अहिलेको सरकारले देखिने ठोस काम नगरेको भए पनि मुलुकको राजनीतिक स्थिरता कायम गर्न र छिमेकी मुलुकहरुसँगको सम्बन्धमा सुधार गर्नको लागि महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्षम रहेको बताए।
‘असोज ३ भित्र विभिन्न कानुन नबनेको भए देश ठूलो राजनैतीक संकटमा फस्ने थियो,’ प्रचण्डले भने, ‘समयमै आवश्यक कानुन बनाउन सफल भई देशलाई अस्थीरतामा जानबाट जोगाउनु पनि अहिलेको सरकारको मुख्य सफलता हो।’
प्रचण्डले देशलाई अस्थीरतामा जानबाट जोगाएकोमा सरकारलाई धन्यबाद समेत दिए ।
प्रचण्डले जनयुद्धको शुरुवात देखि नै कुविण्डेले विशेष भूमीका निभाएको स्मरण गर्दै दाहालले सो स्थानका २४ जना शहिदप्रति श्रद्धान्जली समेत व्यक्त गरे।
कार्यक्रममा कुविण्डेबाट जनयुद्धमा लागि शहिद तथा बेपत्ता पारीएका २५ परिवारलाई सम्मान पत्र समेत प्रदान गरीएको थियो ।