नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी)ले सुर्खेतमा दुइटा ट्रकमा आगजनी गरेको छ।
पार्टीले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै कार्यकर्ताहरूले शनिबार बिहान रत्न राजमार्गअन्तर्गत भेरीगंगा नगरपालिका–२ सत्तरीमा भे६ख ७२१३ नम्बरको ट्रकमा आगलागी गरेका छन्।
यस्तै, बराहताल गाउँपालिकाको बड्डीचौरमा ना६ख १७३२ नम्बरको ट्रकमा पनि आगजनी गरेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
पुस २२ गते वीरेन्द्रनगरका एक व्यापारीलाई बन्धक बनाएर चन्दा मागिरहेको अवस्थामा प्रहरीले विप्लव समूहका भेरी ब्यूरो सदस्य गोविन्द योगी र अनेरास्ववियु क्रान्तिकारी सुर्खेतका अध्यक्ष कमल बुढालाई पक्राउ गरेको थियो।
पक्राउ परेका कार्यकर्ताहरूलाई विनाशर्त रिहाइको माग गर्दै विप्लवले शनिबार सुर्खेत बन्दको आह्वान गरेको थियो ।