नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले चिकित्सा शिक्षा विधेयकको विषय लिएर अनसनमा बसेका डा. गोविन्द केसीका माग सरकारले पूरा गर्नुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन झापा शाखाद्वारा बुधबार विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा बोल्दै सिटौलाले वर्तमान सरकार आफैंले ४ महिना अघि डाक्टर केसीसँग गरेको सम्झौता कार्यान्वयन गर्न कुनै समस्या नभएको बताउँदै अहिंसामा आधारित सत्याग्रहलाई कमजोर ठान्नु नहुने बताए।
परिवर्तन र आन्दोलनका पक्षमा साथ दिने जनता निराश हुनु परेको बताउँदै नेता सिटौलाले संविधानभित्रै बाटै सरकारले जनतालाई धेरै कुरा दिनसक्ने भए पनि सरकार त्यो मामलामा असफल भएको दाबी गरे।
दुई तिहाई बहुमत प्राप्त सरकारले जनताको पक्षमा काम गर्न चाहे कुनै समस्या नरहेको टिप्पणी गर्दै कांग्रेस नेता सिटौलाले सरकार बलियो भए पनि सरकारकै कारण देश र जनता कमजोर भएको टिप्पणी गरे। उनले भने, ‘लोकतन्त्रमा जनता कमजोर हुनु किमार्थ स्वीकार्य हुँदैन।’
आफ्नै जिल्लाका सहकर्मी प्रधानमन्त्रीले सरकारको कामको आत्मसमिक्षा गर्नुपर्ने बताउँदै सिटौलाले भने,‘शक्तिशाली सरकार भएका बेला जनता किन निराश हुनुपर्यो, प्रधानमन्त्रीले आत्मसमिक्षा गर्नुपर्छ।’
सरकारले गल्ती गरोस् र प्रतिपक्षलाई फाइदा होस् भन्ने पक्षमा कांग्रेस नरहेको स्पष्ट पार्दै उनले राष्ट्र र जनताको हितमा अधिकतम काम गरेर देखाउन प्रधानमन्त्रीलाई सुझाव दिए।
‘सरकार काम गर्दैन प्रतिपक्षी बोल्दैन,’ सिटौलाले भने, ‘कर्मचारी भर्तीदेखि सम्पूर्ण कुरामा राजनीतिकरण हाबी हुँदै आएको भान हुन थालेको छ।’
तल्लो तहदेखि माथिल्लै तहसम्मका जनप्रतिनिधिमा दम्भ र उदण्डता बढेको टिप्पणी गर्दै सिटौलाले भने, ‘यसले अन्तराष्ट्रिय रुपमा पनि सरकारको छवि राम्रो जाँदैन।’