कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरीले मतदाताले आफूलाई न्याय दिएको बताएका छन्। बिहीबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा सपथ लिएपछि प्रतिक्रिया दिँदै सांसद चौधरीले भने- मलाई मतदाताले न्याय दिए अब न्यायालयले न्याय दिन बाँकी छ।
सात सुरक्षाकर्मीसहित आठ जनाको ज्यान गएको टीकापुर घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध परेको मुद्दा अदालतमा जारी छ।
यसअघि सिंहदरबारस्थित आफ्नो कार्यालयमा दिउँसो ३ बजे सभामुख कृष्णबहादुर महराले चौधरीलाई सपथ खुवाएका थिए। चौधरीले थारू भाषामा सपथ लिए।
सपथपछि सभामुख महराले सांसद चौधरीलाई फूलमाया लगाइदिए। चौधरीको सपथ कार्यक्रम राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरू पनि उपस्थित थिए। उनीहरूले पनि चौधरीलाई फूलमाला लगाए।
२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरीसहित ८ जनाको ज्यान गएको थियो। सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध मुद्दा लागेको थियो। घटनापछि फरार रहेका चौधरीले सार्वजनिक नभइकनै प्रतिनिधि सभामा उम्मेद्वारी दिएका थिए।
उनी निर्वाचित भए पनि सपथ लिन पाएका थिएनन्। गत असारमा उनले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए।
त्यसपछि प्रहरीले उनलाई जेल हालेको थियो। डिल्ली बजार जेलमा रहेका चौधरीलाई सपथ खुवाउन प्रहरीले सिंहदरबार ल्याएको थियो। सपथपछि उनलाई प्रहरीले फेरि कारागार लगेको छ।
सपथ लिए पनि सांसद चौधरी संसद बैठक जाने छैनन्।