साँझ झपक्क हुँदै थियो। चिसो बढ्दै गयो, शंखमुलस्थित एक पार्टी प्यालेसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यताउता हेर्दै थिए।
उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदारलाई दायाँ-बायाँ राखेका देउवा बसेकै हारमा महामन्त्री पूर्णबहादुर खड्का पनि थिए।
तै पनि देउवाको मन स्थिर थिएन। देउवाको दायाँतिर एउटा कुर्सी रित्तो थियो। जब वरिष्ठ नेता रामचन्द्र पौडेल नमस्कार गर्दै हलभित्र छिरे, अनि देउवा शान्त देखिए।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले पाहुनालाई स्वागत गर्दै थप बोल्न उपसभापति निधिलाई माइक थमाए। भर्खरै सकिएको महासमिति बैठकका मुख्य निर्णयको व्याख्यामा निधिले आधा घण्टा खर्चिए।
महासमिति बैठक सकिएपछि त्यसबारे जानकारी दिन र सल्लाह सुझाव लिन भन्दै कांग्रेसले पत्रकारहरूसँग ‘डिनर मिटिङ’ गरिरहेको छ। शुक्रबार बेलुकी त्यसकै निरन्तरता थियो।
मंसिर २९ मा महासमिति बैठक उद्घाटन समारोहमा हात मिलाउन दकस मानेका सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच हिजोआज प्रेमी-प्रेमिकाको जस्तो मायामोह छ।
एक साताअघि महासमिति बैठक समापन समारोहमा आफूहरूबीच ‘डिप लभ’ भएका जोडीमा जस्तै ‘इमोसनल एट्याचमेन्ट’ रहेको बताएका देउवा-पौडेल त्यसयताका कार्यक्रममा 'प्रीति भोज' मा झैं एउटै मञ्चमा रमाएको देखिन्छ।
शुक्रबार शंखमुलको पार्टी प्यालेसको जमघट ‘इमोसनल एट्याचमेन्ट’कै एक उदाहरण जस्तो थियो। यो जमघटमा कांग्रेसमा १३ औं महाधिवेशनदेखि सक्रिय ३ गुटमध्ये पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता उपस्थित थिएनन्।
उपसभापति निधिले विधानको व्याख्या सिध्याएपछि सभापति देउवाले केही जिज्ञासा भए सोध्न सहभागीलाई समय दिए। सञ्चार माध्यममा कांग्रेस विट हेर्ने पत्रकार कार्यक्रमका पाहुना थिए।
सुझावभन्दा जिज्ञासा धेरै आयो। कांग्रेस एजेन्डाविहीन भएको हो? १४ औं महाधिवेशन कहिले हुन्छ? सत्तामा हुँदा सञ्चार माध्यमको वेवास्ता गर्ने प्रतिपक्ष हुँदा चाहिने? जिज्ञासा यस्तै थिए।
सुझाव एउटै- कांग्रेसले प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्न सकेको छैन।
अब जवाफ दिने पालो आयो।
यतिन्जेल तातोपानी सुरूप-सुरूप पारिरहेका वरिष्ठ नेता पौडेलले कुरा सुरू गर्नु भन्दा पहिले फूँ-फूँ गर्दै माइक फूके। मलिनो आवाज बढाउँदै लगे। उनीले महाधिवेशनका कुरा झिके।
‘अर्ली महाधिवेशन होइन। त्यसका लागि समय घर्किसक्यो। म त टाइम्ली (समयमै) महाधिवेशन गर्नुपर्छ भन्ने पक्षमा छु,’ पौडेलले भने।
महासमितिमा देउवा-पौडेलको मिल्तीबाट शसंकित बनेका अर्का नेता कृष्णप्रसाद सिटौलाले एकदिन अघिमात्र शीघ्र महाधिवेशनको कुरा चलाएका थिए। उनीहरूलाई उछिनेर बिहिबार पत्रकार भेला गरेका सिटौलाले, ‘जेठभित्र महाधिवेशन गर्न पार्टी नेतृत्वले मिति तोकोस्, होइन भने विधानको संक्रमणकालीन व्यवस्थाअनुसार वडादेखि केन्द्रसम्म निर्वाचनबाटै कार्यसमिति चयन गरौं,’ भनेका थिए।
देउवा-पौडेलबीचको लभ छिटै ‘लस्ट’ नहोस् भन्ने सुझाव पनि सिटौलाले दिएका छन्। सिद्धान्त र व्यवहारमा कत्ति पनि फरकपन नदेखिएको भन्दै देउवा-पौडेलको ‘लभ लस्ट’ हुने उनले ठोकुवा नै गरिदिए।
सिटौलाको खबरदारीले देउवा-पौडेल सम्बन्ध झन् प्रगाढ बनाएको देखियो।
महाधिवेशन शीघ्र हैन समयमै गर्ने सन्देश पौडेलले पत्रकारमार्फत् सिटौलालाई दिए। देउवासँग लामो समयदेखि सहकार्यमा रहेको तथा सँगै जेलनेल बसेको बताउँदै पौडेलले उदाहरण पनि दिए- मैले बाबुराम भट्टराई र रवीन्द्र मिश्रलाई भनेको छु, ‘इमोसनल एट्याचमेन्ट’ नभई पार्टी चल्दैन।
‘अन्याय भयो भनेर पार्टी छाडेर गइहाल्न हुँदैन,’ माओवादी पार्टी छाडेर नयाँ दल खोलेका बाबुरामको उदाहरण दिँदै पौडेलले सभापति देउवालाई पनि झस्काए। गिरिजाप्रसाद कोइराला सभापति हुँदा देउवाले पनि कांग्रेस फुटाएर प्रजातान्त्रिक कांग्रेस बनाएका थिए। पछि देउवा मूल घर फर्किएर सभापति बनेका हुन्।
‘कांग्रेस मेरो ‘उइकनेस’ हो। पार्टी छाडेर म कहाँ जाने?,’ पौडेलले भने।
यति भनेर पौडेल फेरि पार्टी एक भइसकेको प्रष्टाउनमा व्यस्त भए।
‘झिनामसिना कुराले कांग्रेस विचलित हुँदैन भन्ने देशभर हामीले आश्वस्त पारेका छौं, कार्यकर्ता खुसी छन्,’ सभापतिसँग गहिरो प्रेम रहेकोबारे पौडेलले भने, ‘अहिले म धेरै कुरा भन्दिनँ, हाम्रो सम्बन्धबारे तपाईंहरूले चासो राखिदिनु भएकोमा धन्यवाद।’
पौडेलको कुरा ध्यान दिएर सुनेका सभापति देउवाले माइक पाउन साथ कांग्रेस र प्रेस पर्यावाचीजस्तै भएको बताए। यति भनेपछि उनी पनि आफूहरूबीचको प्रेम सम्बन्धका कुरा उप्काए।
‘डिप लभभन्दा पनि हामीबीच विश्वास छ,’ हाँस्दै देउवाले भने, ‘प्रेमी प्रेमिकाकै जस्तो एकअर्कालाई बुझ्ने ट्रस्ट। बिहे भइसक्या जोडीको जस्तो ट्रस्ट । लभ गर्दा कसले बढी गर्ला कसले कम गर्ला। बढी लभ गर्नेले जहिले नि दु:ख पाउँदो रहेछ।’
देउवाले कांग्रेसले प्रेसलाई हेर्ने दृष्टिकोण पनि सुनाए।
कांग्रेस प्रेसको पक्षमा रहेको तर पत्रकारहरूको ‘सेल्फ सेन्सरसिप’को विरूद्ध रहेको उनले बताए।
‘मेरो खिलापमा लेख्नुस् म केही भन्दिनँ, अहिलेसम्म यस्तो लेखिस् उस्तो लेखिस् भनेको पनि छैन,’ उनले भने, ‘कम्युनिस्ट सरकारका गलत कामविरूद्ध लेख्न नडराउनुहोस्। प्रेस जनताको हो।’
निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच महिना हुँदासमेत सरकारले दोषी पत्ता लगाउन नसकेको देउवाले आक्रोश व्यक्त गरे।
‘निर्मलाले न्याय नपाएसम्म हामी सडकदेखि सदनसम्म आवाज उठाइरहन्छौं,’ उनले भने, ‘प्रेसले पनि साथ दिनुपर्छ।’
सबै तस्वीर: प्रशन्न पोखरेल/सेतोपाटी।