नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य घनश्याम भुषालले आइतबार साँझ ट्वीट गरे- विगत केही दिनमा नेताहरूको सांस्कृतिक अधपतन र नग्नताको जुन राष्ट्रिय परेड प्रदर्शन भयो त्यसको मूल्य यस मुलुकका सन्तान-दरसन्तानले लामो समयसम्म तिर्नु पर्नेछ।
उनको संकेत अघिल्लो साता सामाजिक सुरक्षा कार्यक्रम सार्वजनिक गर्दा सरकारले गरेको तामझाम र राजधानीमा आयोजित एसिया प्यासेफिक समिटमा सरकारको भूमिकातिर थियो।
उक्त ट्वीटका विषयमा राखिएको जिज्ञासामा भुषालले सेतोपाटीसँग भने:
यो मैले जिन्दगीमा लेखेको दोस्रो वा तेस्रो ट्वीट होला। अति नै उकुसमुकुस भएकाले लेखेको हुँ।
अहिले हामी धेरै अप्ठेरो अवस्थामा छौं। गलत नेता हुनुको मूल्य एउटा राष्ट्रका लागि कस्तो हुन्छ भन्ने उदाहरण हो, जे हामीले अहिले देखिरहेका छौं।
केही दिनअघि सामाजिक सुरक्षा कार्यक्रम लागू भयो, त्यो आवश्यक थियो। तर आत्मप्रदर्शनको जुन परेड भयो, त्यसले शोभा दिएन। त्यहाँ सत्तामा बसेकाहरूको कुण्ठा, उनीहरूका अतृप्त चाहनाहरू प्रदर्शित भए।
२०५१ मा सरकार बनाउँदा हामीले वृद्धभत्ता ल्याएका थियौं। त्यो एउटा सुरूआत थियो। आफ्नो गाउँ आफैं बनाउँ पनि एउटा सुरूआत थियो। तर यो खालको आत्मप्रशंसा हामीमा थिएन। ती कार्यक्रमले तल गएर किन जनतालाई छोए भन्दा ती उनीहरूका जिन्दगीका कुरा भए।
त्यसमा मेरा कृपाले तिमीलाई दिएँ भन्ने भाव थिएन। त्यसमा कृपा छँदै थिएन, यसमा त कृपामात्र बढी छ।
एसिया प्यासेफिक समिटबारे भन्ने त कुनै शब्द नै छैन। त्यो 'ट्रु मदर'ले गरेको भाषण , यो संस्थाको उद्देश्य.... त्यसबारे भन्ने शब्द मसँग छैन।
हामी बाँचेको एक्काइसौं शताब्दी, त्यसमाथि मार्क्सवाद, कम्युनिज्म, विज्ञान जुन भन्छौं त्यो कहीँकतै कुनै हिसाबले पनि यससँग सुहाउँदैन।
सरकार पहिला यसमा सहआयोजक भयो। पछि सहयोगी बन्यो। यो पाखण्ड हो। उनीहरूले जे भने जे गर्दैछन् यो सबै पाखण्ड हो। यो सम्मेलन आयोजना गर्नुको मूल्य हामीले तिर्नुपर्छ।
हाम्रो साँस्कृतिक रूपान्तरण हुन नसकेकाले यस्तो भइरहेको छ। त्यसमा शिक्षा र दीक्षाको पनि कुरा होला।
अलि ठूलो गास खानका लागि वा कसैसँग रिस फेर्नका लागि उनीहरू कम्युनिष्ट पार्टीमा लागे। दाइभाइले खाँदाखेरि कहिले दाइले ठूलो गास खाइदियो होला कहिले भाइले ठूलो गास खाइदियो होला, भाइ कांग्रेस वा कम्युनिष्ट भएको रिसमा आफू कम्युनिष्ट वा कांग्रेस भएपछि आजसम्म तिनीहरूको चेतना त्यही गासमा छ। ४० वर्षअघि भाइले खाएको गास, दाइले खाएको गास त्यही सम्झिन्छन् अहिले पनि। त्यसको बदलामा सारा कुरा हुँदैछ। त्योभन्दा ठूलो गास खानका लागि राजनीति गर्दैछन्।
उनीहरूलाई सरकार मेरा लागि हो। मैले आर्जेको हो। मेरो रैतान हो भन्ने छ। जमिनदारहरू हिजो जसरी सम्झन्थे त्यसरी नै उनीहरू मुलुकलाई रैतान सम्झिरहेका छन्। मानौं यो उनीहरूका भाग्यमा लेखेको थियो।
मलाई यस्तै होला जस्तो लाग्छ किनकी अहिले उनीहरूले जे गरिरहेका छन्, कुनै सिद्धान्तले यसलाई ब्याख्या गर्दैन। त्यसैले यसको विश्लेषण गर्ने मसँग कुनै शब्द छैन।
व्यावहारिक रूपमा भन्ने हो भने हिजो राजाले खाए। तिनका विरूद्ध हामी लड्यौं। कांग्रेसले खाए, तिनका विरूद्ध हामी लड्यौं। अब हामीले खाने हो किनभने हामीले जित्यौं। उनीहरूको तर्क तिनले जितेर तिनले खाएका थिए। हामीले जितेर हामीले खाने हो भन्ने छ।
पार्टीभन्दाबाहिर बस्ने मान्छेहरूले त बोल्न पाउँछन्, सजिलो छ। हामीलाई त ऐंठनबाहेक केही पनि हुँदैन। म बोल्न चाहन्छु, चल्न चाहन्छु तर बोल्न सक्दिनँ, चल्न सक्दिनँ। यो त डरलाग्दो ऐंठन हो नि।
हरेक सम्राटले म सकिँदाखेरि यो संसार सकिन्छ भन्ने ठान्थ्यो रे। धेरै सम्राट सकिए तर संसार सकिएन। त्यसैले एउटा सम्राट छ भने फेरि पनि सृष्टि छ भन्ने सोचेर यसलाई सुधार्न सकेको पहल गर्ने हो।
पहिलो कुरा मान्छेले नैतिक रूपमा आफूलाई यस्ता कुराबाट अलग पार्ने हो। अप्ठेरो छ, त्यसले गर्दा केही मान्छेहरू छिटै उत्तेजित हुन्छन्। मचाहिँ अप्ठेरो पर्दा आत्तिनुहुन्न भन्छु। दोस्रो कुरा छलफल गर्ने हो। तेस्रोमा पहलकदमी लिने हो। अहिले हामी पहिलो र दोस्रोमै छौंजस्तो लाग्छ।