निर्मला पन्तको बलात्कार र हत्या छानबिनमा लापरबाही गरेको भन्दै सेवाबाट बर्खास्त नेपाल प्रहरीका तत्कालीन एसपी डिल्लीराज विष्टले आफूमाथि लागेको आरोपबारे संगठन र गृह मन्त्रालयविरुद्ध टिकाटिप्पणी नगर्ने बताएका छन्।
उक्त आरोपको सत्यतथ्य केही समयमा खुल्ने विष्टको दाबी छ।
‘एक निर्दोष आत्मालाई दु:ख दिइयो, त्योभन्दा दु:ख अरू के होला,’ गृह मन्त्रालयले बर्खास्त गरेको केही दिनपछि सेतोपाटीसँग कुरा गर्दै उनले भने, 'मलाई जुन आरोप लगाएर नोकरीबाट निकालिएको छ, त्यसको सत्यतथ्य केही समयमा आउला। सत्यको जित हुन्छ।'
'मैले के काम गरेँ, त्यसको रिपोर्ट कहाँ कहाँ गरेँ भनेर अहिले भन्दिनँ, त्यो पछि सबैलाई थाहा हुने कुरा हो। त्यो समयले देखाउँछ। म गलत छैन भन्ने कुरा पछि थाहा होला,' उनले भने।
'मैले आफूले सकेको गरेको हुँ। फिल्डमा डिएसपीदेखि अन्य अधिकारी पनि परिचालित थिए। जिल्ला प्रहरी कार्यालयमा त्यति धेरै जनशक्ति छन्, जुन आरोप लगाइएको छ, त्यो मबाट हुने सम्भवको कुरै हैन,' उनले भने।
उक्त निर्णयविरुद्ध प्रहरी नियमावलीअनुसार पुनरावेदन गर्न पाउने उल्लेख गर्दै उनले भने, 'पुनरावेदन गर्न पाउने व्यवस्था नियमावलीमै छ, के गर्ने विचार गर्दैछु।'