बिमस्टेक सम्मेलनमा आएका पाहुनाको एस्कर्टिङ मोटरसाइकल चिप्लिएर बुधबार कालिमाटीमा एक प्रहरी घाइते भए।
घाइते प्रहरी हवल्दार दिनेश श्रेष्ठले ‘सडकमा छरिएका स–साना गिटीमा चिप्लिएको’ सेतोपाटीलाई बताएका छन्।
यो दुर्घटना म्यानमारका राष्ट्रपति विन मिन्टको सवारीमा भएको हो।
सवारी कारगेड कालिमाटीबाट टंकेश्वर जाने चोक नाघेर अघि बढिसकेको थियो। कारगेडको अन्तमा दुइटा एस्कर्टिङ बाइक थिए। अघिल्लो बाइकको गति मध्यम थियो, पछाडिको तीव्र।
चोकमा एक जना ट्राफिक उभिएका थिए। पछाडिको बाइक जसै ट्राफिकनिर पुग्यो, चिप्लिएर लड्यो। भुइँमा घिस्रिँदै पर रेलिङमा ठोक्किन पुग्यो। रेलिङपारि सर्वसाधारण उभिएका थिए। उनीहरूले प्रहरीसँगै मिलेर घाइतेलाई बोके।
हवल्दार श्रेष्ठको हातमा चोट लागेको छ। उनी प्रहरी अस्पतालबाट ‘डिस्चार्ज’ भई नक्साल हेडक्वार्टरमा आराम गरिरहेका छन्।
यो घटनामा धेरैले प्रहरीलाई दोष दिएका छन्। खाली सडकमा पनि दुर्घटना गराएको आलोचना सुनिँदैछ।
हामीले उनैसँग जान्न खोज्यौं– यति ठूलो सम्मेलन र भव्य तयारीबीच यस्तो ‘चुक’ कसरी भयो?
‘कसरी भनुँ? दशा लागेको,’ ३५ वर्षीय हवल्दार श्रेष्ठले भने, ‘दशा लागेपछि अनुभवी चालकले पनि त्रिशूलीमा गाडी खसाल्छ। मेरो पनि त्यस्तै भयो भनुँ न।’
उनी त्यतिबेला ‘बुलेट’ मोटरसाइकल हाँक्दै थिए। लगभग ८० देखि ८५ किलोमिटर प्रतिघन्टाको गतिमा रहेको उनी बताउँछन्।
‘म स्पिडमा थिएँ। सडकमा सायद खाल्डो थियो। खाल्डो भर्खरै पुरेको हुनसक्छ। स–साना गिटी छरिएका थिए। मैले याद गरिनछु। मेरो ध्यान अगाडि उभिएको ट्राफिकमा थियो। उनी अर्कोपट्टि फर्केर उभिएका थिए। छलेर अगाडि बढ्न खोज्दा टायर त्यही साना गिटीहरूमा परेर चिप्लियो। बाइक थाम्नै सकिनँ,’ श्रेष्ठले घटनाको कारण बताए।
हामी बिहीबार दिउँसो त्यही ठाउँ हेर्न गयौं।
अर्को कुनै सवारी हुन लागेको रहेछ। सडक खाली गराइँदै थियो।
श्रेष्ठको बाइक चिप्लिएको ठाउँमा कुनै खाल्डो हामीले देखेनौं। साना गिटी भने छरिएका थिए। उनले भनेजस्तै स्पिड बाइकको टायर त्यसैमा परेर सन्तुलन बिग्रेको हुनसक्छ।
त्यहाँ सडकको सतह मिलेको छैन। मूलबाटो र टंकेश्वरतिर जाने बाटो अलिकति तलमाथि छ। स्पिड बाइकको टायर त्यही उबडखाबडमा परेर पनि सन्तुलन गुमेको हुनसक्छ। सतह बिग्रेका यस्ता ठाउँमा तीव्र गतिको बाइक थाम्न गाह्रै पर्छ।
चौध वर्षदेखि प्रहरी सेवामा रहेका श्रेष्ठ सिकारु चालक होइनन्। उनले तीन–चारचोटि अतिविशिष्ट पाहुनाको एस्कर्टिङ गरिसकेका छन्। अघिल्लोचोटि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पनि एस्कर्टिङ बाइक हाँकेका थिए।
‘दशा बिग्रेपछि कहिल्यै नहुने पनि हुँदो रहेछ,’ विराटनगर घर भएका उनले भने, ‘डाक्टरले दुई–चार दिन आराम गर्नू भनेको छ।’
हेर्नुहोस् भिडियो:
गिटीमा बाइक चिप्लिनु राजधानीका थुप्रै दुर्घटनामध्ये एक हो।
वर्षौंदेखि मर्मत नभएका सडकमा दुर्घटना जोखिम बढ्दो छ। बिमस्टेक सम्मेलनका लागि मूलबाटो मर्मत गरियो, तर के जोखिम हट्यो?
सडक विभागका एक इञ्जिनियर अहिलेका मर्मतलाई ‘कामचलाउ’ भन्छन्।
‘हडबडमा भटाभट ठेक्का दिएर कमसल काम गराइएको छ,’ उनले भने, ‘महिनादिन मात्र टिके ठूलो कुरा।‘
उनको भनाइले बिमस्टेक नसकिँदै सडक भत्कने हो कि भन्ने शंका उब्जेको छ। गिटीमा चिप्लिएर एस्कर्टिङ बाइक दुर्घटनाले पनि बिमस्टेक मर्मतमा प्रश्न उठेको छ।
हामीले यसबारे सडक विभागका प्रवक्ता मुक्ति गौतमसँग कुराकानी गर्यौं।
उनका अनुसार बिमस्टेक मर्मत नियमितभन्दा फरक तरिकाले गरिएका छन्।
सामान्यतया सडक कालोपत्रे गर्दा अलकत्रा प्रयोग गरिन्छ। अहिले बर्खामा अलकत्रा राम्ररी अडिँदैन। त्यही भएर विभागले ‘इमल्सन’ हालेको उनले बताए।
‘इमल्सन भनेको विशेष प्रकृतिको रसायन हो। यसमा ६० देखि ६५ प्रतिशत अलकत्रा, अलिकति पानी र केही रासायनिक पदार्थ मिसाइएको हुन्छ,’ उनले भने, ‘चिसो ठाउँमा अलकत्रा हालेर पिच गर्न मिल्दैन। इमल्सन मिल्छ।’
अलकत्रा १३० देखि १४० डिग्रीमा तताउनुपर्छ। इमल्सन घुलनशील भएकाले तताउनु पर्दैन।
यो अलकत्रा र इमल्सनको फरक भयो। के यो अलकत्राजत्तिकै टिकाउ हुन्छ?
यसमा भने शंका छ।
‘अलकत्रासँग तुलना गर्दा सयमा ९० प्रतिशत हुन्छ होला,’ प्रवक्ता गौतमले भने।
डिभिजन सडक कार्यालय, काठमाडौंका प्रमुख मुकुन्द अधिकारीका अनुसार इमल्सन लगाएपछि राम्ररी सुक्न दिनुपर्छ। ‘एकपटक सुकेपछि बल्ल ‘सेट’ हुन्छ। सेट हुन पाए राम्रो काम गर्छ,’ उनले भने।
उनकै भनाइ मान्दा, के यसपालि लगाइएका इमल्सन ‘सेट’ भए त?
राजधानीमा सडक मर्मतको धपेडी सुरु भएयता पानी परेको पर्यै छ। साँझ र राति सिमसिम गरेको धेरै दिन भयो। केही दिनअघि झरीमै सडक मर्मत भइरहेको तस्बिर सामाजिक सञ्जालमा देखिएको थियो।
झरीबीच गरिएको सडक कालोपत्रे कुन बेला सुक्यो होला? सुक्न नपाएपछि इमल्सन कसरी ‘सेट’ भयो होला? राम्ररी ‘सेट’ नभएपछि कसरी टिकाउ रहला?
प्रवक्ता गौतम भने बिमस्टेकपछि पनि मर्मतलाई निरन्तरता दिने दाबी गर्छन्। यसपालि कुनै कसर रहेको भए आगामी दिनमा सच्चिने उनको भनाइ छ।
‘बाटो त सधैं ठिक राख्नुपर्ने हो। नियमित मर्मतसम्भार भइरहनुपर्ने हो,’ उनले भने, ‘हामी ‘खाल्डाखुल्डीरहित सडक’ को अभियानमा छौं। बिमस्टेकपछि पनि हाम्रो अभियान जारी रहन्छ।’
‘अहिले हतारमा छिटोछिटो गर्नुपर्यो होला, अब यो काम आफ्नै गतिमा अघि बढ्छ,’ उनले भने।
उनको दाबी सत्य होला कि नहोला, केही दिनमा थाहा भइहाल्छ। अहिलेलाई हामीले सोध्यौं, ‘एस्कर्टिङमा दुर्घटना परेका प्रहरीले सडकको कमसल मर्मतलाई दोष दिएका छन् नि?’
‘खोइ, उहाँले त्यसो भन्नुभएछ, म दुर्घटना भएको ठाउँ हेर्न गएको छैन,’ उनले भने, ‘तर, सय ठाउँमा कालोपत्रे गर्दा एक–दुई ठाउँ उक्कियो भने पनि आश्चर्य मान्नुपर्दैन। बर्खाको समय काम गर्नुपरेकाले केही ठाउँमा समस्या छ होला। म छैन भनेर ठोकुवा गर्दिनँ।’
हतपतको काम लतपत पुरानो रोगै हो।
सार्कमा पनि कालोपत्रे गरिएको थियो। प्वाल टालटुल पारिएका थिए। रेलिङ रङरोगन गरिएका थिए। सडकपेटी सिंगारिएको थियो। रातारात बिरुवा रोपिएका थिए। हलक्क फूल फुलेको गमलाले सडककै शोभा हलक्क बढाएको थियो। रानीपोखरीमा झन्डै चार करोड खर्च गरेर पानीको फोहोरा पनि उडाइएकै थियो।
सम्मेलन सकिँदासम्म सब साफ। चटकेको चटकजस्तै।
कालोपत्रे महिनादिनमै उक्किए। प्वालका टालाटुली भत्किए। रेलिङ खुइलिए। सडकपेटीका इँटा निस्के। चोरिए। बिरुवामा पानी हाल्ने कोही भएन। तिर्खाएरै मरे। ठूला गमलाजति सडकमै फुटे। साना गमलाले कसैको घरको शोभा बढाए। रानीपोखरीको पानीको फोहोरा त्यसै मिल्कियो। चार करोड पानीमै गयो।
बिमस्टेकको तामझाम त्यस्तै नहोला भन्न सकिन्न।
यसपालि विमानस्थलबाट सोल्टी होटल र राष्ट्रपति भवन महाराजगन्जसम्मका बाहिरी आवरण सजाइएका छन्। हिजोसम्म यही सडकमा जनतालाई सास्ती हुँदा सरकारको आँखा गएन। न भत्केको सडक कालोपत्रे गरियो, न प्वाल टालिए। अहिले रातारात सब काम फत्ते भयो। रानीपोखरी मासिएकाले चार करोडको फोहोरा हाल्न भने पाएनन्।
हामीले सडक अधिकारीसँग मर्मत खर्चबारे पनि सोधेका थियौं।
नियमित बजेटबाटै खर्च गरिएको उनीहरूले बताएका छन्। अलकत्राको तुलनामा इमल्सन महँगो पर्ने हुँदा बढी खर्च हुनसक्ने प्रवक्ता गौतमको भनाइ छ।
कति बढी? त्यो भने उनीहरू खुलाउँदैनन्।
‘अहिल्यै पैसाको हिसाब थाहा हुन्न। नियमित बजेटबाटै खर्च भइरहेको छ। सबै ठेकेदारले हिसाब बुझाउन ल्याएपछि बल्ल भन्न सकिन्छ,’ डिभिजन प्रमुख अधिकारीले भने, ‘१५–२० दिनमा सबै हिसाब निस्केला।’
उनका अनुसार २५ भन्दा बढी ठेकेदार कम्पनीलाई बिमस्टेक मर्मतमा लगाइएको छ।
पैसाको हिसाब मात्र होइन, अबको १५–२० दिनमा कामको हिसाब पनि थाहा हुनेछ– बिमस्टेक मर्मत सडक विभागका अधिकारीले दाबी गरेझैं ‘टिकाउ’ छ वा एस्कर्टिङमा दुर्घटना परेका प्रहरी हवल्दार दिनेश श्रेष्ठले शंका गरेझैं ‘कामचलाउ’?