बिहिबार र शुक्रबार काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनका लागि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।
सम्मेलनमा सहभागी हुन आउने प्रत्येक भीभीआईपीको सुरक्षाका लागि चार जना अधिकारीलाई जिम्मा दिने भएको छ।
सोल्टी होटलमा हुने शिखर सम्मेलनमा बिमस्टेकमा सदस्य राष्ट्रहरूमा नेपालसहित भारत, भुटान, बंगलादेश, श्रीलंका, थाइल्याण्ड र म्यानमारका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरू नेपाल आउँदैछन्।
आयोजक नेपालले सबै सदस्य राष्ट्रका डेलिगेसनका लागि चार जनाको टोली खटाउने व्यवस्था मिलाएको छ। जसमध्ये एक जना निजि सुरक्षा अधिकारी राष्ट्र/सरकार प्रमुखको साथमा हुनेछन्।
त्यस्तै राष्ट्र/सरकार प्रमुखका पति/पत्निका लागि एक जना सम्पर्क अधिकारीको व्यवस्था समेत गरिनेछ। सम्पर्क अधिकारीको टोलीले आयोजक राष्ट्रसँगको सम्पर्क तथा समन्वयमा सहयोग पुर्याउने छ।
यसरी खटिने अधिकारीको टुंगो लगाएर सम्बन्धित देशका डेलिगेट्सहरूलाई जानकारी गराइसकिएको गृह मन्त्रालयले जनाएको छ।
सम्मेलनलाई सुरक्षित बनाउन सरकारले चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने भएको छ। सुरक्षाको सम्पूर्ण जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। ‘नेपाली सेनाले सुरक्षा नेतृत्वको जिम्मेवारी लिएको छ। सबै सुरक्षा निकायहरूसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइसकेका छौँ,’ नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गोकुल भण्डारीले भने, ‘सम्मेलन स्थल भिभिआइपी आउने जाने रूट, बस्ने होटल र भेटघाट हुने सम्पूर्ण स्थानको पहिलो घेरामा नेपाली सेना रहने र कुनै पनि प्रकारको सुरक्षा स्थितिमा कन्जुसाइँ हुँदैन्।’
चार वटै सुरक्षा निकायका गरी २० हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरू विशिष्ट व्यक्तिको सुरक्षामा खटिने छन्।
तीन घेरामा सुरक्षा
अति विशिष्ट व्यक्तिहरूको तीन घेरामा सुरक्षा मिलाइएको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मीहरू खटिनेछन्।
पहिलो घेरामा नेपाली सेना रहने छ। दोस्रो घेरमा नेपाल प्रहरीको सुरक्षा तैनाथ रहनेछ। सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले भने तेस्रो घेरमा रहेर सुरक्षा दिनेछन्।
सेनाको हवाई गस्ती
सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका सरकार प्रमुखहरू मंगलबारदेखि नेपाल आउन थालेका छन्। आज म्यानमारका राष्ट्रपति युमिन मिच काठमाडौं उत्रिएका छन्।
राष्ट्रपति युमिन दिउँसो पौन दुई बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्।
त्यस्तै भदौ १३ गते श्रीलङ्काका राष्ट्रपति मैत्रिपाल श्रीसेना र भुटानका प्रधान न्यायाधीश तथा सरकारका अन्तरिम सल्लाहकार दसो छिरिङ वाङचुक नेपाल आउनेछन्।
भुटानमा निर्वाचन चलिरहेका कारण सरकारको प्रतिनिधित्व गर्दै वाङचुक नेपाल आउने भएका हुन्।
त्यस्तै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुट च्यान सम्मेलन उद्घाटनका दिन भदौ १४ गते बिहान ८ बजे काठमाडौं आउने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
राष्ट्रप्रमुखको सवारीका बेला विमानस्थलको उडान/अवतरण सेवा बन्द हुनेछ।
विशिष्ट व्यक्तिहरू आउँदा, बस्ने होटेल आउँदा जाँदा, कार्यक्रम सहभागी हुँदाको बखतमा नेपाली सेनाले स्थलसहित हवाई गस्ती गर्नेछ।
हवाई गस्तीको लागि सम्पूर्ण व्यवस्था मिलाइसकेको सहायक रथी भण्डारीले जानकारी दिए।
नेपाली सेनाले सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराख्ने भन्दै उनले हेलिकप्टरलाई स्टाण्डबाई राखिएकाले आवश्यकता अनुसार परिचान हुने बताए।
एक भिआइपी आउँदा/जाँदा करिब ४ सय ट्राफिक खटिने
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भिआइपीको सवारीको समयमा ट्राफिक व्यवस्था मिलाएको जानकारी दिएको छ।
भिआइपी व्यक्तिहरू सवार हुँदा मुख्य सवारी रूट, वैकल्पिक सवारी रूट, फिर्ती मुख्ख सवारी रूट, फिर्ती वैकल्पिक रूट र अन्य स्थानमा गरेर एक भिआइपीको सवारीमा ४ सय ट्राफिक परिचान हुनेछन्।
जोर बिजोर प्रणाली
यस्तै सम्मेलन बुधवार, बिहीबार र शुक्रवार उपत्यकाभित्र चल्ने सम्पूर्ण निजी तथा भाडाका सवारी साधनमा ट्राफिक प्रहरीले जोर बिजोर प्रणाली लागू गरेको छ।
बिमस्टेक शिखर सम्मेलनका क्रममा काठमाडौं उपत्यकाको सडकमा हुने सवारी आवागमन सहज र सरल बनाउन जोर–विजोर सेवा लागू गर्न गृह मन्त्रालयले ट्राफिक प्रहरीलाई निर्देशन दिएको छ। १३ र १५ गते बिजोर र १४ गते जोर नम्बरका सवारी साधन मात्र चलाउन पाइनेछ।
भिआइपी व्यक्तिको सुरक्षा र सवारी व्यवस्थालाई मध्यनजर गर्दै गृहको निर्देशन पालना गरिने ट्राफिक महाशाखाले जनाएको छ।
जोर विजोड सवारी सञ्चालन गर्ने सवालमा भने अत्यावश्यक सवारी साधन, बिमस्टेकको कार्ड होल्डर र मिडियालाई भने जोर विजोड लागू नहुने जनाएको छ।
मिडियाको हकमा सूचना विभागको कार्ड अनिवार्य साथमा हुनुपर्नेछ।
तीन दिन (१३ देखि १५ गते) सम्म बेलुका १० देखि बिहान ६ बजेसम्म भने जोर विजोड लागू नहुने जनाइएको छ।
सडक खाली
विशिष्ट व्यक्तिको आगमन हुने स्थानमा सवारीको एक घण्टा अगाडि र पछाडि सम्पूर्ण सवारी आगमन ठप्प पारिनेछ।
विमानस्थलबाट आउने सरकार तथा राष्ट्रप्रमुखहरू सिधै होटल सोल्टी जाने कार्यक्रम छ।
उक्त समयमा विमानस्थलदेखि सोल्टी होटलसम्मको रूटमा पर्ने क्षेत्रको सवारी आवागमन अवरुद्ध हुने ट्राफिक प्रहरीले जनाएको छ।
त्यसका लागि अहिले तीन वटा रुटलाई तयारी अवस्थामा राखिएको छ। जसमा विमानस्थलबाट सिनामंगल, तिनकुने, नयाँ बानेश्वर, त्रिपुरेश्वर, कालिमाटीहुँदै सोल्टी। दोस्रोमा विमानस्थलबाट गौशाला, रातोपुल, रत्नपार्क हुँदै कालिमाटी र तेस्रो विमानस्थलबाट कोटेश्वर, वल्खु हुँदै कालिमाटी जाने रुटलाई तयारी अवस्थामा राखिएको छ।
उपत्यकाका शिक्षण संस्था २ दिन बिदा
सरकारले बिमस्टेक सम्मेलनको अवसरमा उपत्यकाका शिक्षण संस्था २ दिन बिदा दिने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा जारी सूचनामा यही भदौ १४ र १५ गते काठमाडौं, भक्तपुर र ललितपुरका शिक्षण संस्थामा बिदा दिने उल्लेख छ।
‘शिखर सम्मेलनमा भाग लिन आउने पाहुनाहरूको आवागमनलाई सुरक्षित,व्यवस्थित र सहज बनाउने उद्धेश्यले भदौ १४ र १५ गते काठमाडौंका शिक्षण संस्था स्थानीय सरकारमार्फत् बन्द गराउन आग्रह गरिएको’ मन्त्रालयबाट जारी सूचनामा भनिएको छ।
निजी सुरक्षा अधिकारीले हतियारको जानकारी गराउनुपर्ने
यसैबीच विमस्टेकमा सहभागी हुन आउने भीभीआईपीका निजी सुरक्षा अधिकारीले आफूसँग ल्याएको र ल्याउने हतियारको बारेमा नेपाल सरकारलाई जानकारी दिनुपर्नेछ।
सुरक्षा अधिकारीले बोक्ने हतियारको संख्या, निर्माण तथा मोडेल, हतियारको प्रकारसहितका जानकारी मागिएको छ।
त्यस्ती उनीहरुले बोक्ने हतियार (बन्दुक) को क्यालिवर, म्यागजिन र राउण्डको बारेमा समेत जानकारी दिनुपर्नेछ।
त्यस्तै हतियारको सिरियल नम्बर, हतियारमा जडित विशेष फिचर तथा हतियार सम्बन्ध अन्य जानकारी मागिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै हतियार बोक्ने अधिकारीको नामसहितको जानकारी मागिएको छ।
परराष्ट्र मन्त्रालय/विम्स्टेक सम्मेलन सचिवालयले यस्तो जानकारी मेल मार्फत उपलब्ध गराउन सदस्य राष्ट्रलाई पत्राचार गरेकोमा उनीहरुबाट सो जानकारी प्राप्त भएको र त्यसबारेमा तथ्यांक राखिएको सचिवालयले जनाएको छ।
त्यस्तै सरकारले विम्स्टेकमा सहभागी हुन आउने भीभीआईपीको सुरक्षाका लागि बुलेटप्रुफ कारको व्यवस्था गरेको छ।
त्यसका लागि अर्थमन्त्रालयले बुलेटप्रुफ कार भाडामा लिन दुई करोड रुपैयाँ रकमान्तर गरी गृहमन्त्रालयलाई उपलब्ध गराएको थियो।
अध्यागमन तथा भिसा फेसिलेसन डेस्क स्थापना हुने
यसैबीच सम्मेलनमा सहभागि हुन नेपाल आउने डेलिगेट्सको सुविधाका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेल्प डेक्स स्थापना गरिने भएको छ।
यो डेक्सले नेपाल आउने सदस्य राष्ट्रका डेलिगेट्सहरुलाई अध्यागमन तथा लगेज किलियरेन्सका लागि सहयोग पुर्याउने छ। त्यस्तै भारतबाहेकका सदस्य राष्ट्रका डेलिगेट्सका लागि भिसा सम्बन्धि विषयमासमेत डेक्सले सहयोग गर्नेछ।
पाँच दिन अन्तर्राष्ट्रिय उडान प्रभावित, २ दिन २४ घण्टा सञ्चालन
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलन काठमाडौंमा हुने भएकोले आजदेखि शनिबारसम्म विमानस्थलका उडान तथा अवतरण प्रभावित हुने भएका छन्।
विशिष्ट पाहुनाहरुको उडानको समयमा विमानस्थलमा अन्य व्यावसायिक उडान बन्द गर्ने परम्परा रहेको छ। सोहीअनुसार सम्मेलनको क्रममा सरकार प्रमुखहरु आउने भएकोले उडान तथा अवतरण प्रभावित हुने भएको विमानस्थल कार्यालयले जानकारी दिएको छ।
विमानस्थल वरपरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ।
आज म्यानमारका राष्ट्रपति विन मिन्ट आउने कार्यक्रम रहेको छ। बिहिबारदेखि काठमाडौंमा सुरु हुने सम्मेलनमा भाग लिन सम्मेलनकै दिन भारत, बंगलादेश र थाइल्यान्डका सरकार प्रमुख काठमाडौं आउने कार्यक्रम रहेको छ।
शुक्रबार र शनिबार उनीहरु स्वदेश फर्किने कार्यक्रम रहेको छ। फर्कदा पनि उडान तथा अवतरण प्रभावित हुने भएको छ। अति विशिष्ट उडानको कारणले प्रभावित भएका उडानलाई सामान्य पार्नको लागि बिहीबार र शुक्रबार २४ घण्टा विमानस्थल संचालन गर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ।