बिमस्टेककमा सहभागी हुन नेपाल आउने सात राष्ट्रका प्रमुखहरूलाई गोकर्ण रिसोर्टमा दिने भनिएको रात्रिभोज अन्यौलमा परेको छ।
समयमै बाटो नबनेका कारण गोकर्णको रात्रिभोज अन्यौलमा परेको हो। अति विशिष्ट पाहुनालाई गोकर्ण भिलेज रिसोर्टमा रात्रिभोज दिने र त्यहाँ पुग्ने बाटो पिच गर्ने सरकारको तयारी थियो।
समयमै सडक नबनेपछि रात्रिभोजस्थलबारे अन्यौल भएको हो। भदौ १० गतेसम्म भौतिक योजना मन्त्रालयले बाटोका खाल्डा पुरेर पिच गर्ने भन्दै मन्त्री आफैं स्थलगत अवलोकन गर्न पुगेका थिए। तर, अहिलेसम्म सडक पिच नभएपछि गोकर्णमा गर्ने भनिएको रात्रिभोज अन्यत्र कतै सार्न परराष्ट्र मन्त्रालयले सम्बन्धित पक्षसँग छलफल थालेको स्रोतले सेतोपाटीलाई जानकारी दियो।
स्रोतका अनुसार बुधबार भएको बैठकमा सो कुरा उठेको थियो। गोकर्ण रिसोर्टको बाटो नबने सरकारले सेनाको एमआई–१७ हेलिकप्टरबाट त्यहाँ लैजाने भनेको थियो। तर, विज्ञहरूले वर्षाका बेला जमिन भासिन सक्ने भन्दै जोखिम नउठाउन सुझाव दिएपछि परराष्ट्रले विकल्प खोज्न थालेको स्रोतले जानकारी दियो।
बिमस्टेकमा सहभागी हुन ६ राष्ट्रका राष्ट्र प्रमुख वा सरकार प्रमुख नेपाल आउँदैछन्। बिमस्टेक सम्मेलन भदौ १४–१५ गते हुँदैछ।
चाबहिल-जोरपाटी-साँखु सडक लथालिंग अवस्थामा छ। निर्माण कम्पनीले उक्त सडक सम्झौता अवधिभित्र बनाउन सकेको छैन।
सडक दूरावस्थाको लाज ढाक्न पिच गर्ने तयारी पनि साकार नभएपछि बिमस्टेकका पाहुना अतिथिहरूलाई कहाँ रात्रिभोज दिने सरकार अन्यौलमा परेको हो।
यी पनि हेर्नुहोस् :
बौद्ध-साँखु सडकको सास्ती
बौद्ध-साँखु सडकमा विकल्पको तयारी: अहिलेलाई बीचको १०-१२ मिटर कालोपत्रे गरिने