घरसँग त्यहाँ बस्ने मान्छेको मात्र होइन, सहरको कथा जोडिएको हुन्छ। काठमाडौंजस्तो सम्पदा सहरमा प्रत्येक पुराना घरको कथा महत्वपूर्ण छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भित्री काठमाडौंको घनाबस्तीका पुराना घर भत्काएर 'अपार्टमेन्ट' शैलीको संयुक्त आवाज योजना अघि सारेको छ। पहिलो चरणामा किलागलको दम्बचोक र बुङ्मति छनौट गरिएको छ।
भुइँचालोमा क्षति पुगेका यी बस्ती पुरानै शैलीमा जीर्णोद्धार गर्नुपर्ने थियो। प्राधिकरण भने पुरानो सभ्यता निमिट्यान्न पारेर बहुतले आवास योजनामा जान खोजेको छ। संरक्षण अभियन्ताहरुले यो योजनाबाट काठमाडौंको मौलिक सम्पदा र संस्कृति मासिने भन्दै विरोध गरेका छन्।
माघ २४ गते बसेको प्राधिकरण बैठकले काठमाडौं उपत्यकाका क्षतिग्रस्त घर पुनर्निर्माण हुन नसकेको भन्दै 'हाउस पुलिङ' प्रणालीबाट बस्ती विकास गर्ने निर्णय गरेको थियो। यही भदौ ६ गते बुधबार बस्ने कार्यकारी समिति बैठकमा थप छलफल हुँदैछ।
हाउस पुलिङका लागि ठाउँ छनौट गर्न प्राधिकरणका सहसचिव राजुमान मानन्धर संयोजकत्वको ५ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलले पहिलो चरणका लागि दुइटा ठाउँ सिफारिस गरेको हो। किलागलका ५९ घर यसमा समेटिने छन्।
‘दुई ठाउँबाट सुरु गरेर विस्तारै काठमाडौंका सबै पुराना बस्तीमा लागू गर्ने योजना छ,' सहसचिव मानन्धरले सेतोपाटीसँग भने।
यो योजनाअन्तर्गत बस्तीका पुराना घर भत्काइनेछ। बाटो फराकिलो पारेर बहुतले सामूहिक भवन निर्माण गरिने प्राधिकरणले जनाएको छ। भवन बनेपछि घरधनीलाई तला वा फ्ल्याट हस्तान्तरण गरिनेछ।
एकीकृत भवन निर्माण गर्न धेरै स्थानीयले २०७२ सालमै लालपुर्जा बुझाएका थिए। सुरुमा २५ प्रतिशत स्थानीयको आपत्ति रहे पनि सबैलाई सहमतिमा लिएर बस्ती विकास गर्न खोजेको काठमाडौं, वडा नम्बर १८ का अध्यक्ष न्हुछेकाजी महर्जनले बताए।
‘मैले स्थानीयसँग भोट माग्दा नै यो विषय उठाएको थिएँ। त्यतिबेला ९० प्रतिशत जनता यसको पक्षमा थिए। कामले सोचेजस्तो गति लिन नसकेपछि स्थानीय फेरि विभाजित भएका छन्। अहिले ७५ प्रतिशतले मात्र एकीकृत प्रणालीमा जाने भनेका छन्,’ उनले भने।
उनका अनुसार हाउस पुलिङले थोरै जग्गामा बनेका साना र जोखिमयुक्त पुराना घरको सट्टा एकै ठाउँमा धेरै परिवार बस्ने अपार्टमेन्टको प्रबन्ध मिलाउँछ। पुराना कलाकौशल, सम्पदा र मौलिकता कायम राख्दै यो आयोजना कार्यान्वयन गर्न सकिने उनको भनाइ छ।
सम्पदा संरक्षणविद्हरु भने यो तर्कसँग सहमत छैनन्। हाउस पुलिङ गर्ने भनिएका ठाउँमै सबै स्थानीयको एकमत छैन।
काठमाडौंको भित्री बस्ती भनेको लस्करै मिलेर बनेका स–साना घर हुन्। तिनलाई अहिलेकै अवस्थामा भुइँचालो प्रतिरोधक बनाउनुपर्नेमा निमिट्यान्न पारेर बहुतले घर बनाउँदा यहाँका सभ्यता र संस्कृति नाश हुने सम्पदाविद् तथा आर्किटेक्चर इञ्जिनियर सुदर्शनराज तिवारी बताउँछन्।
'काठमाडौं सम्पदा सहर हो। यहाँको भित्री बस्तीमा अझै पनि लिच्छवि र मल्लकालीन शैली बाँचेको छ। ती घर जोखिममा छन् भने रेट्रोफिट वा अन्य तरिकाबाट जिर्णोद्धार गर्न सकिन्छ। सबै भत्काएर अपार्टमेन्ट बनाउने योजनाले कुनै पनि भित्री बस्ती संरक्षण हुनेवाला छैन,' उनले भने, 'यसले काठमाडौंको मल्लकालीन आवास शैली मात्र होइन, यहाँको वातावरणमा समेत असर पर्छ।'
दम्बचोकमा प्रस्तावित हाउस पुलिङ योजनाको डिजाइन आफूले पनि हेरेको जानकारी दिँदै तिवारीले भने, 'त्यसमा चोक र गल्लीहरुलाई अहिलेको भन्दा फरक ठाउँमा सारिएको थियो। नयाँ डिजाइनमा धेरै परिवर्तन गरिएको छ रे। मैले हेर्न पाएको छैन।’
‘जे भए पनि यो कहीँ नसुनिएको अवधारणा हो। यसले हाम्रा सम्पदा र मौलिकताको कुनै हालतमा संरक्षण गर्दैन,’ उनले भने, 'यो खराब सोचको परिणाम हो।'
सम्पदा संरक्षण अभियन्ता तथा किलागलका स्थानीय आलोकसिद्धि तुलाधर पनि हाउस पुलिङ अवधारणासँग सहमत छैनन्।
‘विकास र आधुनिकताका नाममा काठमाडौंलाई चिनाउने परम्परागत बसोबास शैली मास्ने प्रयास भइरहेको छ,’ उनले भने, ‘म आफैं भुइँचालोमा नाशिएका रानीपोखरी, काष्ठमण्डपजस्ता सम्पदा मौलिक शैलीमा पुनर्निर्माण हुनुपर्यो भनेर लागेको छु। आफ्नै वडामा पुरानो मौलिक शैलीका घर भुइँचालो जोखिमका नाममा मास्ने प्रयास भइरहेको छ।’
स्थानीयलाई भुइँचालोको डर र विकासको लोभ देखाएर लालपुर्जा बटुल्ने काम भएको उनको आरोप छ। महानगरले सुरक्षाको ख्याल राख्ने हो भने यहाँका घरलाई अहिलेकै अवस्थामा भुइँचालो प्रतिरोधक बनाउन सहयोग गर्नुपर्ने उनले बताए।
‘गलत सूचनाको भरमा बहकिएका स्थानीयलाई हामी सम्पदाको महत्व बुझाउन थालेका छौं। यसले काठमाडौं सभ्यता मासिने खतरा बुझेपछि धेरैले हात झिक्न थालेका छन्,’ उनले भने,’ यो आयोजना तुरून्तै नरोकिए विवाद हुने पक्का छ।’
‘संस्कृति भनेको सेयरमा लगानी गरेजस्तो होइन। हाउस पुलिङ मान्नु भनेको लालपुर्जा बन्धकी राखेर बहुतले घरको सेयर लिएजस्तो हो। बहुतले घर भनेको न हाम्रो सभ्यता हो, न संस्कृति। यसमा हाम्रो मौलिकता रहँदैन। आत्मीयताको भावना हुँदैन। यसले हाम्रो संस्कृति बिगार्छ। भत्काउँछ,’ उनले भने।
प्राधिकरणले गैरसरकारी संस्था भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट) को अवधारणामा यो योजना अघि बढाएको हो।
‘हामीले सन् २०११ देखि यो विषय उठाएका हौं। भूकम्पजस्ता विपदबाट बच्न मध्यसहरका पुराना घरलाई यस्तै अवधारणाबाट पुनर्निर्माण गर्नुपर्छ भन्ने हाम्रो धारणा हो। त्यतिबेला कसैले ध्यान दिएनन्। अहिले बल्ल कार्यान्वयन हुन लागेको छ,’ समाजका वरिष्ठ प्राविधिक सल्लाहाकार सूर्यभक्त साङ्घाछेले भने, ‘दुई ठाउँमा मात्र होइन, उपत्यकामा रहेका अन्य ५२ वटा पुराना बस्तीमा पनि यही अवधारणा लागू गर्नुपर्छ।’
समाजले २०७२ को भुइँचालो गएको तीन महिनापछि नै स्थानीय र नगरपालिकाको आग्रहमा यस्ता बस्ती पहिचान गरेको थियो। उनीहरुले साँखु, बुङ्मति, खोकना लगायत पाँच ठाउँमा हाउस पुलिङको सुरुआती डिजाइन तयार पारेका छन्। उपत्यका बाहिरका जिल्लामा पनि यो अवधारणा लागू गर्न सिफारिस गरेको छ।
उनका अनुसार पैतृक सम्पत्ति बाँडफाँटका क्रममा टुक्रिएका जमिनमा बनेका साना घरले उपत्यकाका भित्री सहर अव्यवस्थित छन्। जथाभाबी तला थप्ने, भित्ता र पर्खाल थपेर घर टुक्र्याउने र मर्मतसम्भार नगर्ने प्रवृत्तिले पुराना बस्ती जोखिममा रहेको उनले बताए। ती बस्तीलाई अर्को भुइँचालो जानुअघि नै हाउस पुलिङबाट व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए।
‘पुरानै शैलीमा घर पुनर्निर्माण गर्न, वास्तुकला बचाउन, धर्म, संस्कृति, जात्रापर्वको संरक्षण गर्न पनि हाउस पुलिङ सहयोगी हुनेछ,’ साङ्घाछेले भने।