मितिनी र सोल्टीलाई गत मंगलबार दबदबे हिलोबाट निकालेर ट्रकमा चढाइयो। आफू जन्मेहुर्केको चितवनको जंगल छोडेर उनीहरू काठमाडौंतिर लागे। बिहीबार काठमाडौंबाट चीन जाने कार्यक्रम थियो। मौसम बिग्रियो। उनीहरूलाई लैजाने जहाज आएन। थप एक रात खुमलटारको खोरमा बिताए।
शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा वनमन्त्री शक्तिबहादुर बस्नेतले मितिनी र सोल्टी चीन सरकारलाई उपहार दिए।
केहीबेरमा उनीहरू आफूभन्दा निकै ठूलो कार्गो जहाज चढे। अहिले हजारौं फिटमाथि आकाशमा उडिरहेका होलान्।
भोलि शनिबार चीनको सांघाई पार्क पुग्नेछन्। सायद त्यही पार्कभित्र उनीहरूको जीवन गुज्रनेछ।
नेपालदेखि कोशौं टाढा पुगे पनि बाँचुञ्जेल उनीहरूले आफू जन्मेको देश चिनाइरहनेछन्। मितिनी र सोल्टी हेर्न आउनेहरूले नेपाल पनि देख्नेछन्। उनीहरूलाई राखिएको ठाउँबाहिर लेखिएको हुनेछ- चिनियाँ जनतालाई नेपाली जनताको उपहार।
गैंडाको अर्को जोडी रूपसी र भद्र असार अन्त्यतिर चीन उडेका थिए। उनीहरू गोन्जाओस्थित चेमेलोङ पार्कमा छन्।
रूपसी र भद्र, मितिनी र सोल्टीजस्तै उनीहरूका पुर्खालाई धेरै वर्ष पहिलेदेखि हाम्रा पुर्खाले नेपालबाहिर पठाउन थालेका हुन्।
झन्डै दुई सय वर्षअघिको कुरा हो। राजदरबारभित्रै रहेको खोरमा राखेको गैंडाले बच्चा जन्मायो। नेपालमा खोरभित्र गैंडा जन्मेको यो नै पहिलो घटना हो।
त्यो गैंडा खोरमा जन्मेको पहिलो केटा (गैंडाको बच्चा) मात्र थिएन। नेपालको 'गैंडा कूटनीति' मा विदेश जाने पहिलो केटा पनि थियो।
सन् १८३४ मा उक्त गैंडा तत्कालीन इस्ट इन्डिया कम्पनीलाई उपहार दिइयो र कलकत्ता पठाइयो।
त्यतिबेला तराईंको जंगलमा वन्यजन्तु प्रशस्तै भेटिन्थे। राणाहरू भारतमा शासन गरिरहेका ब्रिटिस खुसी पारी आफ्नो शासन जोगाउन ती वन्यजन्तुलाई माध्यम बनाउँथे। बेलाबेलामा शिकार खेल्न निम्त्याउँथे। आफू पनि खेल्थे। त्यतिबेला शिकार खेल्नु राजा/महाराजाहरूका लागि मनोरञ्जनको एउटा माध्यम थियो।
शिवपुरी राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत कमलजंग कुँवरले आफ्नो पुस्तक 'गैंडालाई चार वर्ष' मा सन् १८४६ मा जङ्गबहादुर राणाले गैँडालाई ‘शाही सिकार’ को नाम दिएर राणा र शाह परिवारका सदस्यले मात्र सिकार गर्न पाउने वन्यजन्तुका रूपमा घोषणा गरेको उल्लेख छ।
राणाहरू शिकारपछि विदेशीलाई बाघ, हात्ती र गैंडा उपहार दिन्थे। सन् १९११ मा शिकार खेल्न नेपाल आएका राजा जर्ज पाँचौंलाई प्रधानमन्त्री चन्द्रशमशेरले गैंडा, हात्ती र बाघका बच्चा क्रिसमस उपहार दिए। ती जनावर लन्डन चिडियाखानामा पठाइयो।
१९२१ मा वेल्सका युवराज इडवार्ड आठौं चितवनमा शिकार खेल्न आए। उनले धेरै जनावरको शिकार गरे। फर्कने बेला उनलाई पनि चन्द्रशमशेरले बेसी नामको गैंडासहित केही जनावर उपहार दिए। जुद्धशमशेरले पनि राजा जर्ज पाँचौंलाई एक जोडी गैंडा उपहार दिए।
गैंडा उपहार मात्र होइन, बिक्री पनि गरिन्थ्यो।
एलसी रूकमेकर लगायतले सन् १९९४ मा गरेको एक अध्ययनले सन् १९०५ देखि १९३९ सम्म युरोप र अमेरिका पुगेका सबै गैंडा नेपालबाट गएको देखाएको छ।
गैंडा एकातिर शिकार र उपहारमा प्रयोग गरिन्थ्यो भने अर्कातिर यो धार्मिक आस्था र स्वास्थ्य उपचारसँग पनि जोडिन्थ्यो।
चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवका अनुसार पहिला गैंडाको खागमा तर्पण दिए स्वर्गे भएका पितृहरूले पार पाउँछन भन्ने विश्वास थियो। त्यही भएर राजाहरू आफ्ना पितृका लागि गैंडाको खागमा तर्पण दिने गर्थे।
राजा वीरेन्द्रले पनि विसं २०३८ मा चितवनमा गैंडा मारेर त्यसैको खागमा पितृलाई तर्पण दिएको यादवले बताए। वीरेन्द्रको वंश विनाशपछि राजा बनेका ज्ञानेन्द्र शाहले भने त्यस्तो तर्पण दिएनन्।
कुँवरले आफ्नो पुस्तकमा कतिपय पूर्वीय परम्परागत उपचार प्रणालीमा दम, ज्वरो, फोक्सो र पाचन प्रणालीसँग सम्बन्धित विभिन्न रोगको औषधि बनाउन गैँडाको खाग प्रयोग हुने गरेको लेखेका छन्।
उनका अनुसार खासगरी परम्परागत चिनियाँ पद्धतिअन्तर्गत यौन उत्तेजना बढाउने औषधि बनाउन खागको अत्यधिक प्रयोग हुने गरेको छ। यसबाहेक खाडी राष्ट्रहरुमा हाते छुरी, खन्जर र चुप्पीको बिँड बनाउन पनि खाग प्रयोग गरिएको पाइन्छ। खागलाई शुभ वस्तुका रूपमा औँठीमा राखी प्रयोग गर्ने पनि चलन छ।
यही जनविश्वासले पहिला पहिला गैंडा मर्दा निकुञ्ज आसपासका मान्छे लुछाचुँडी गरेर मासु लैजान्थे।
'अब त्यो क्रम धेरै रोकिएको छ। त्यो अन्धविश्वास मात्र हो भन्ने धेरैले बुझेका छन्। अहिले गैंडा मरेपछि गाडिन्छ,' गैंडामा विद्यावारिधि गरेका नरेश सुवेदीले भने, 'कतिलाई भने अझै अन्धविश्वास छ, उनीहरू गाडेको गैंडा पनि उधिन्न आउँछन्।'
विसं २०२८ सम्म नेपालमा वन्यजन्तु संरक्षण ऐन थिएन। २०२९ मा ऐन आएपछि वन्यजन्तुको खुला शिकार बन्द भयो। २०३० मा चितवन राष्ट्रिय निकुञ्ज स्थापना भयो। त्यसपछि गैंडालगायत वन्यजन्तु संरक्षण गर्न थालियो।
शिकार गर्न प्रतिबन्ध भए पनि तत्कालीन राजपरिवार वन्यजन्तुबाट टाढा भएनन्। पूर्वसंरक्षण अधिकृत यादवका अनुसार त्यतिबेला राजपरिवारका सदस्यकै नाममा हात्ती र गैंडाका नाम राख्ने चलन थियो। भालेको नाममा राजपरिवारका सदस्यको नाम राखेर पछाडि प्रसाद र गज थपिन्थ्यो भने पोथी जनावरको नामका पछाडि कलीको फुर्को जोडिन्थ्यो।
नेपाल सरकारद्वारा चीन सरकारलाई उपहार स्वरुप दिइएका दुईवटा गैंडा मितिनी र सोल्टी शुक्रबार साँझ विमानस्थलमा वन तथा वातावरणमन्त्री शक्ति बस्नेतद्वारा नेपालस्थित चिनियाँ दूतवासका प्रतिनिधि झाङ फानलाई हस्तान्तरण गरिँदै। तस्बिर: प्रदीपराज वन्त/राससगणतन्त्र आएपछि भने नेपाली संस्कृति झल्कने शब्दबाट गैंडाको नाम राख्न थालिएको छ।
मित्र राष्ट्रलाई गैंडा उपहार दिने निर्णय पनि राजदरबारबाटै हुन्थ्यो।
यादवका अनुसार अहिलेसम्म अमेरिका, भारत, बेलायत, जापान, जर्मनी, पाकिस्तान, बर्मा, थाइल्याण्ड र अष्ट्रियालाई गरी ३६ वटा गैंडा उपहार दिइएको छ। उपहारमा दिइएका गैंडाको यकिन तथ्यांक सरकारसँग छैन। राजतन्त्र हुँदा तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषले गैंडा उपहारको चाँजोपाँजो मिलाउँथ्यो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल भट्टराईले राणाकाल र राजतन्त्रमा सबै निर्णय दरबारबाट हुने भएकाले कति गैंडा उपहार दिइयो भन्ने यकिन विवरण नभएको बताए।
पछिल्लो समयमा तत्कालीन युवराज पारस शाहले सन् २००६ मा अष्ट्रियालाई गैंडा उपहार दिएका थिए। त्यसपछि गैंडा उपहारको क्रम रोकिएको थियो। गणतन्त्र आएपछि पहिलोपटक मन्त्रिपरिषद्बाट निर्णय गरी चीनलाई गैंडा उपहार दिइएको हो।
भट्टराईका अनुसार गैंडा उपहार बहुआयामिक हो।
‘एक त यसले दुई देशको सम्बन्ध सुधार्नमा सहयोग पुग्छ। अर्को कुरा हामीले एउटा जनावर उपहार दिए अर्को जनावर उपहार पाउँछौं,’ भट्टराईले भने। भारतलाई ४ वटा गैंडा दिएर नेपालले १६ वटा हात्ती ल्याएको थियो।
यसको अर्को पाटो भनेको अन्य देशको हावापानीमा नेपालको गैंडा बाँच्न सक्छ कि सक्दैन भनेर परीक्षण गर्नु पनि हो।
‘यसले एकातिर सम्बन्धित देशमा गैंडासम्बन्धी जनचेतना जगाउँछ भने अर्कातिर हामीले उपहार दिएपछि उनीहरूले पनि त्यसको साटो केही न केही दिन्छन्। त्यसले गैंडा संरक्षणमा ठूलो सहयोग पुग्छ,’ भट्टराईले भने।
नेपालमा पाइने गैंडा विश्वमै दुर्लभ प्रजातिको हो। ग्रेटर वन हर्न राइनोसर्स नामको यो एकसिङे गैंडा नेपाल र भारतको आसाम मात्र पाइन्छ।
सन् २०१५ को गणनाअनुसार नेपालमा ६ सय ४५ गैंडा छन्। तीमध्ये ६ सय ५ गैंडा चितवन राष्ट्रिय निकुञ्जमा छन्। बाँकी बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा वन्यजन्तु आरक्षमा छन्।
कतिपयले नेपालमा मात्र पाइने यस्तो विशेष जनावर अरूलाई दिँदा यसको महत्व घट्ने तर्क गर्छन्। तर पूर्वसंरक्षण अधिकृत यादव गैंडा उपहार दिएर यसको महत्व नघट्ने बरू जनचेतना फैलिएर संरक्षणमा सघाउ पुग्ने बताउँछन्।
पछिल्लो समय चीनमा वन्यजन्तुका अंगबाट बनेका अवैध सामानको प्रयोग बढिरहेको छ। उनीहरूमा चेतना आए यस्ता सामानको खपत कम हुने र यसले अप्रत्यक्ष रूपमा संरक्षणमा सघाउ पुग्ने यादवको तर्क छ।
'एक त यो हाम्रो हावापानीमा मात्र हुन्छ, उनीहरूकोमा हुँदैन। अर्को कुरा उपहारमा लगेका गैंडाबाट बच्चा जन्माउन नपाइने सर्त हुन्छ,' यादवले भने, 'विदेशीहरूले आफ्नो देशको चिडियाखानामा नेपालमा पाइने गैंडा देखे भने हाम्रो महत्व झन बढ्छ।'