सांसद निरुदेवी पालले साउन १५ गते साँझ दूध किनेर फर्कदै गर्दा आफूलाई पेस्तोल देखाएर तर्साउने काम भएको भन्दै सबैलाई सुरक्षाको प्रत्याभूति गराउन सरकारसँग माग गरेकी छन्।
प्रतिनिधिसभाको बिहिबारको बैठकको विशेष समयमा बोल्दै सांसद पालले आफूमाथि भएको घटनाले सदनलाई जानकारी गराउँदै त्यसको समग्र मुलुकभरको सुरक्षा चुनौतीलाई देखाएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराइन्। पेस्तोल देखाउँदैमा आफू नडराउने भन्दै उनले भनिन्,‘निरुपाललाई घाँटीमा पेस्तोल राखेर यो सरकार डगमगाउँछ कि भन्ने कसैले सपना देखेको हो भने त्यो दिवा सपना मात्रै हुनेछ। निरुपाल धम्कीले धम्कीने वाला छैन। म त २०१४ मै मरिसकेको मान्छे। हालका प्रधानमन्त्री र राष्ट्रपति हुनुहुँदैनथ्यो भने म त्यत्तिबेलै मरिसकेको मान्छे। मेरो त यो नाफाको जीन्दगी हो। मेरो अन्तिम सास रहनेबेलासम्म म लडिरहनेछु। म पेस्तोल देखाउँदैमा डराउने मान्छे म होइन।’
आफूलाई मात्र नभइ आम राष्ट्रकै नागरिकको सुरक्षाको प्रत्याभूति गर्नको लागि उनले माग गरिन्।
साथै, उनले देश र राष्ट्रको पक्षमा सदैव लडिरहने पनि बताइन्।