नेपाल कम्युनिष्ट पार्टीकी प्रतिनिधि सभा सदस्य निरूदेवी पाललाई अज्ञात समूहले ज्यान मार्ने धम्की दिएको छ।
संसदीय सुनुवाइ समितिकी सदस्यसमेत रहेकी पाललाई मंगलबार राति बानेश्वरमा एक जना अपरिचितले पेस्तोल ताक्दै आज समितिको बैठकमा सहभागी भए मारिदिने धम्की दिएका हुन्।
‘राति साढे आठ बजेतिर म पसलमा दूध लिन जाँदा एक जनाले ममाथि पेस्तोल ताक्यो र भन्यो- भोलिको बैठकमा गइस् भने तेरो बाउले पनि बचाउन सक्दैन,’ बुधबारको समिति बैठकमा आफूमाथि आएको धम्कीबारे सांसद पालले भनिन्,‘उसले मेरो मोबाइल पनि लुटेर लगेर गयो।’
घटनापछि सांसद पालले समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णलाई घटनाबारे जानकारी गराएकी थिइन्।
खबर गृहमन्त्रीसम्म पुगेपछि हिजै राति प्रहरीले समितिका सबै सदस्यलाई सुरक्षा दिने तयारी गरेको थियो। सोही अनुसार प्रहरीले राति नै समिति सदस्यलाई फोन गरेको थियो।
पालमाथि भएको घटनापछि प्रहरीले बुधबार समितिका ६ जनालाई हतियारसहित एक/एक जना सई पिएसओ खठाएको छ।
समितिमा रहेका कांग्रेस सांसदहरूले भने सुरक्षागार्ड नलिने बताएका थिए।
गत बिहीबार समितिले प्रधानन्यायाधीशमा सिफारिस न्यायाधीश दिपकराज जोशीको सुनुवाइ गरेको थियो। तर उनको अनुमोदन गर्ने/नगर्नेबारे भने समितिले निर्णय गर्न सकेको छैन। समितिको अर्को बैठक शुक्रबारका लागि डाकिएको छ।