नेपाली सेनाले काठमाडौं, महांकालस्थित त्रिचन्द्र सैनिक अस्पताल भत्काएर बनाएको नयाँ भवनको नक्सापास प्रक्रिया सुरु गरेको छ।
भवन निर्माण अन्तिम चरणमा पुगिसकेपछि बल्ल सेनाले नक्सापासनिम्ति काठमाडौं महानगरपालिकासँग पहिलो चरणको छलफल सकेको महानगरका नक्सा विभाग प्रमुख रवीन्द्र पौडेलले जानकारी दिए।
‘उहाँहरूले नक्सापास प्रक्रिया थालेको दुई महिना भयो। केही दिन पहिला पनि छलफलमा आउनुभएको थियो,’ पौडेलले सेतोपाटीसँग भने, ‘केही मापदण्ड मिलेका थिएनन्। हामीले सुझाव दिएर पठाएका छौं। सच्याएर ल्याएपछि पास प्रक्रिया सुरु हुन्छ।’
आर्थिक वर्ष २०६९/७० देखि सेनाले यो भवन बनाउन सुरु गरेको हो। सुरूमा यसको नक्सा १४ तलाको थियो। काठमाडौंको केन्द्र र घनाबस्ती छेउ रहेकाले ठूलो अस्पतालले विपदमा समेत स्वास्थ्य सेवा दिन सक्ने सेनाको तर्क थियो। भवन अगाडि टुँडिखेल भएकोले थप सहज हुने उसको भनाइ थियो।
तर २०७२ सालको भुइँचालोपछि सरकारले जारी गरेको भवन निर्माण सम्बन्धी आचारसंहिताअनुसार यसलाई अण्डरग्राउण्ड र वेसमेन्टसहित ९ तलामा झारिएको हो।
नयाँ भवन बनाउँदा सेनाले महानगरपालिकाबाट नक्सापास गरेको थिएन।
नक्सा विभाग प्रमुख पौडेलका अनुसार सेनाले सुझावअनुसार नक्सा परिवर्तन गरेर ल्याएपछि जुरीमा राखेर छलफल हुन्छ। ठूला भवन निर्माणका लागि प्राविधिक जुरी हुन्छ जसले नक्सामा हुनुपर्ने मापदण्डदेखि अन्य विभिन्न प्राविधिक कुरा समाधान गर्छ।
‘सरकारी निकाय जस्तैः पुलिस हेड्क्वाटर, आर्मी हेड्क्वाटर सुरक्षा हिसाबले संवेदनशील क्षेत्र भएकाले नक्सापास गर्न ढिला भएको हुन सक्छ। अब उहाँहरुले महानगरमा प्रस्ताव गरिसक्नुभएको छ,’ पौडेलले भने।
सरकारले भवन निर्माण सम्बन्धी आचारसंहिता २०७३ मा निजी, सरकारी तथा अर्धसरकारी सबै घर निर्माणका लागि मापदण्ड तोकेको छ।
आचारसंहिताले आधुनिक मल, आवासीय, परम्परागत, व्यापारिक भवन, पर्खाललगायत संरचनाका लागि छुट्टाछुट्टै व्यवस्था छ।
यसका लागि राष्ट्रिय प्रतिष्ठाका घरलाई ‘क’, ६ तलासम्म नक्सा पास गरिएका भवनलाई ‘ख’, परम्परागतलाई ‘ग’ र झुप्राझुप्रीलाई ‘घ’ वर्गमा वर्गीकरण गरिएको छ।
आचारसंहिता अनुसार तीन तलाभन्दा अग्ला सबै आवासीय र सर्वसाधारण भेला हुने भवन निर्माण गर्न अनिवार्य माटो परीक्षण गर्नुपर्छ। यसमा सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक लगायत पर्छन्। त्यस्तै १७ मिटर (पाँच तला) भन्दा अग्ला भवनको हकमा भौगर्भिक परीक्षण र भूकम्पीय विश्लेषणसहितको प्रतिवेदन आवश्यक हुन्छ।
सोही संहितालाई ध्यानमा राख्दै आफूहरुले नक्सापास प्रक्रिया सुरु गरेको सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए।
‘सेनाले अहिलेसम्म बनाएको कुनै पनि भवनको नक्सापास गरेको छैन। तर भवन निर्माण सम्बन्धी आचारसंहिता ध्यानमा राख्दै अस्पताल भवनको नक्सापासमा लागेका हौं। प्रक्रिया अघि बढेको छ,’ प्रवक्ता भण्डारीले सतोपाटीसँग भने।
सेनाले महानगरलाई बुझाउने नक्सामा भने भवनको लम्बाई, चौडाई र उचाई मात्र हुने उनले जानकारी दिए।
नक्सा पास भएपछि महानगरले सेनालाई भवन निर्माण सम्पन्नको प्रमाणपत्र दिनेछ।
९० वर्ष लामो इतिहास बोकेको यो अस्पताल प्रथम विश्वयुद्धपछि बेलायत सरकारको सहयोगमा बनेको हो। घाइते सैनिकको उपचारनिम्ति बनाइएको यो अस्पताल त्यतिबेला दक्षिण एसियाकै उत्कृष्ट सैनिक अस्पतालमध्ये मानिन्थ्यो।
यो भवन निर्माण सुरुदेखि विवादमा थियो। पुरानो भवन भएकाले कतिले भत्काउन नहुने तर्क गरेका थिए। तर १०० वर्षभन्दा पुरानो भए मात्र भत्काउन वा पुनर्निर्माण गर्न पुरातत्व विभागको अनुमति लिनुपर्ने नियम भएकाले ९० वर्ष पुरानो यो भवन पुरातत्वको सिफारिश नलिकनै सेनाले भवन भत्काएको हो।
नयाँ भवनमा पनि पूरै अस्पताल नबनाई व्यापारिक प्रयोजननिम्ति भाडामा दिने भएपछि थप विवाद उठेको थियो। सेनाले पहिले अस्पताल भएको जति भागमा अस्पताल नै बनाउने र बाँकी भाग भाडामा लगाउने बताउँदै आएको छ।