नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले अर्थमन्त्री युवराज खतिवडालाई प्रत्यक्ष चुनाव लड्न चुनौती दिएका छन्।
आइतबारको संसद बैठकमा बोल्दै गिरिले सांसदको ‘ट्राप’मा परेर स्थानीय पूर्वाधार कार्यक्रमका लागि ४ करोड दिएको भन्ने धारणाको घुमाउरो शैलीमा खण्डन गरे।
‘बोल्दा हाड नभएको जिब्रो लर्बरियो होला। सांसदको ‘ट्रयाप’मा के पर्नुपर्थ्यो। सांसदको भन्दा बढ्ता अपमान आज कसैको छ?’, गिरिले भने, ‘ट्रयाप कहाँ पर्नुभयो? एमएमा पढेको शिक्षा। पिएचडीमा पढेको शिक्षा र वर्ल्ड बैंकको संगत एकातिर छ। नेताहरूको दबाब अर्कोतिर छ। उहाँ अन्तरआत्मा र महाबली नेताको ट्रयापमा परेको हो। नेता भन्छन् सुपर सोनिक जेट ल्याऊ, त्यो तारा होइन जुन पनि खसाइदिउँला’, गिरिले संसदको बजेट छलफलमा भने, ‘अर्थमन्त्रीले हिसाब किताब गर्ने भएकाले थाहा छ। देशको आवश्यकता पनि होइन। धान्न पनि सक्दैन।’
उनले भर्खरै आएका अर्थमन्त्रीलाई आफूले शंकाको सुविधा दिन चाहेको बताए।
‘अर्थमन्त्री भर्खरै आउनुभएको छ। विगतको अनुभव जे भए पनि जनराजनीतिको अनुभव छैन’, गिरिले भने, ‘एकातिर ‘ट्रयाप’…, आफ्नो आर्थिक अनुशासन र आर्थिक अध्ययन अर्कातिर नेताहरूको पपुलिस्ट मागको ‘ट्रयाप’, अर्कोतिर सांसदको ‘ट्रयाप’।’
उनले भूकम्पपीडितलाई ल्याइदिएको त्रिपाल लिने सांसदका लागि अर्थमन्त्रीको भनाइ ठिकै भएको बताए। साथै अर्थमन्त्रीलाई चुनाव लड्न निम्ता दिए।
‘एकपटक विनम्रतापूर्वक भन्न चाहन्छु। अर्थमन्त्रीले एकपटक प्रत्यक्ष चुनाव लड्नैपर्छ। अनि सांसदको पीडा बुझ्नुहुन्छ। अरु ‘ट्रयाप’का कुरा गर्नुस्। निमुखा सांसदको ‘ट्रयाप’को कुरा गर्नुभयो कि तिनका मर्म पनि बुझ्नुस्।’
अर्थमन्त्री खतिवडा बलिया बाङ्गा नेता बाहेक कसैलाई टेरपुच्छर नलगाएको बजेटमा देखिएको उनले बताए। गिरिले बजेटमा दुई छलाङ आफूले देखेको भन्दै व्यंग्य गरे।
‘छलाङ के छ भनेर हेरेँ नियालेर हेरेँ’, गिरिले भने, ‘कतिपय आत्मनिर्भर हुनुपर्ने उद्योगहरूलाई नियन्त्रणमा गर्छु भन्नुभएको छ। वर्ल्ड बैंक र आइएमएफको निर्देशनमा चल्नुपर्नेमा नियन्त्रणमुखी अर्थतन्त्र ल्याउनुभयो भने अहिले नै लालसलाम ठोक्छु।’
उनले अर्को छलाङ भने बजेटमा नागरिक अधिकार खोस्न खोजेको जस्तो देखिएको भन्दै व्यंग्य गरे।
‘अर्को छलाङ अनियमित भएकोमा नागरिक अधिकार खोसिने सुविधा खोसिने भन्नु जनवादी छलाङ हो। चर्चित दस्तावेज बहुदलीय जनवादमा जनताविरुद्ध जाने सानातिनाको नागरिक अधिकार अपहरण गरिन्छ भनिएको छ। त्यसको प्रतिध्वनि यसमा पाएँ।’
अर्थमन्त्रीले बजेटमा रोजगारबाट विषय सुरु गरेकोमा आफू खुसी भए पनि रोजगारको श्रृजनाका विषयमा गम्भीरता र बाटो देखाउन संकेत नभएको बताए।
‘छलाङ हारेको छ। क्रमिकताले जितेको छ’, गिरिले भने, ‘अर्थ र योजना आयोगका कर्मचारी लेख्छन्। दस्तखत गर्ने काम गर्नुभएको छ।’
उनले स्थानीय तह पूर्वाधार कार्यक्रममा गाउँपालिकालाई सामेल गरेर ठिक गरेको बताए।
‘अर्थमन्त्रीले जनप्रतिनिधि सांसदलाई हेपेजस्तै आम जनतालाई हेपेका छन्’, गिरिले भने, ‘बजेटको आजको अवधारणा सांख्यकीका आधारमा चल्दैन। आर्थिक विकासको केन्द्रमा मनुष्य रहनुपर्छ।’