नेपाली कांग्रेसका नेता तथा सांसदहरूले सरकारले ल्याएको नीति तथा कार्यक्रम ‘सकारात्मक’ भएको टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नीति तथा कार्यक्रमलाई 'राम्रो र सकारात्मक' भएको टिप्पणी गरे। उनले पार्टीको आधिकारिक धारणा भने पछि आउने बताए।
'केही त्रुटी छन्। यो हाम्रो पार्टीले धारणा सार्वजनिक गर्छ', कोइरालाले संसद भवन बानेश्वरमा भने, 'बाटोको कुरा, स्वास्थ्यको कुरा, कनेक्टिभिटीका कुरा सकारात्मक छन्।'
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले पनि नीति तथा कार्यक्रमप्रति ‘सकारात्मक’ धारणा राखे।
'नीति तथा कार्यक्रम जहिले पनि राम्रो हुन्छ। राम्रो भए पनि व्यवहारमा कसरी उतार्ने? भन्ने प्रश्न हो', गच्छदारले भने, 'नयाँ कमिटमेन्टहरू छन्। बजेटमा कसरी उतार्छ? भन्ने हो।'
उनले नीति तथा कार्यक्रमलाई परम्परागत भएको टिप्पणी गर्दै कृषि र सिँचाइमा ध्यान पुग्न नसकेको बताए।
[caption id="attachment_160093" align="alignnone" width="1200"]

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे टिप्पणी गर्दै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार। तस्बिर : नारायण महर्जन/सेतोपाटी[/caption]
कांग्रेसकै प्रदीप गिरी पनि नीति तथा कार्यक्रमप्रति सकारात्मक देखिए।
'औपचारिकका रूपमा हरेक वर्ष आउँछ। लामो छ', गिरीले भने।
कांग्रेस सांसद नारायण खड्काले भने लक्ष्य र गन्तव्य अस्पष्ट रहेको टिप्पणी गरे।
'नीति तथा कार्यक्रममा प्रस्तुत कुरा कसरी प्राप्त गर्ने? उल्लेख छैन', खड्काले भने।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पनि नीति तथा कार्यक्रम 'ठिकै' लागेको बताए। 'के गर्ने भन्ने कुरा राम्रोसँग आएको छ', भट्टराईले भने, 'कसरी गर्ने? भन्ने छैन।'