वरियता मिचिएकोमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), केन्द्रीय कार्यालयका वरिष्ठ नेता झलनाथ खनालले असहमति प्रकट गरेका छन्। नेकपाको केन्द्रीय कार्यालयको बैठकमा खनालले वरियताको विषयमा खेद व्यक्त गरेका हुन्।
खनालले असहमति प्रकट गर्दा अध्यक्षद्वयसहित अन्य नेताहरू भने चुप बसेका थिए। हाल नेकपाको वरियतामा खनाल चौंथो नम्बरमा रहेका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच जेठ ३ गते एकताका दिन खनाल चीन भ्रमणमा रहेका थिए।
तत्कालीन नेकपा एमालेमा खनाल वरिष्ठ नेताको रूपमा दोश्रो वरियतामा थिए भने अर्का वरिष्ठ नेता माधव नेपाल तेश्रो वरियतामा रहेका थिए। तर खनाललाई नेकपामा नेपालले उछिनेका हुन्। बैठकमा बोल्दै उनले आफूलाई माधव नेपालभन्दा अगाडि राख्न माग गरेका छन्।
यद्यपी नेकपाले दुवै पूर्व प्रधानमन्त्रीलाई वरिष्ठ नेताको दर्जा दिएको छ।
'वरियताको क्रमको बारेमा तलमाथि गर्ने काम भयो त्यो अनावश्यक, गलत र अन्यायपूर्ण भएको छ। यस विषयमा पुनर्विचार गरियोस् र मलाई पुनर्स्थापित गर्नुपर्छ भनेर मैले भनेको छु', खनालले सेतोपाटीसँग भने, 'छलफल भयो, मैले असहमति प्रकट गरेको छु।'
खनालको धारणमा अध्यक्षहरूले अर्को बैठकमा छलफल गर्ने आश्वासन दिएका छन्।
तत्कालीन नेकपा एमालेका धेरै नेताहरूले अहिले वरियतामा असन्तुष्टि जनाइरहेका छन्। तत्कालीन उपाध्यक्ष भीम रावल, अर्का उपाध्यक्ष युवराज ज्ञवालीले पनि असन्तुष्टि जनाएका छन्। संसदमा पहिलो लाइनमा बस्दै आएका रावलको सिट नयाँ वरियतापछि अर्को लाइनमा सरेको छ। त्यस्तै, युवराज ज्ञवालीले पनि सावर्जनिक रूपमै असन्तुष्टि जनाएका छन्।