नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केन्द्रीय कार्यालय टुङ्गो लगाउन असफल भएको छ। नेकपाको केन्द्रीय कार्यालयको बालुवाटारमा आज बसेको पहिलो बैठकमा कार्यालयबारे छलफल भएपनि टुङ्गो नभएको हो।
शुक्रबार नेकपामा दुवै अध्यक्षले तत्कालिन नेकपा एमालेको धुम्बाराही र माओवादी केन्द्रको पेरिसडाँडामा रहेको कार्यालय भवनको निरिक्षण गरेका थिए। तर केन्द्रीय कार्यालयको बैठकले कहाँ एकीकृत पार्टीको केन्द्रीय कार्यालय बनाउने भन्ने टुङ्गो लगाउन नसकेको हो।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी केन्द्रीय कार्यालयको टुङ्गो लगाउने जिम्मा दुई अध्यक्षलाई दिइएको बताए।
‘केही दिन भित्रै अध्यक्षहरुले निर्णय लिनुहुन्छ’, प्रवक्ता श्रेष्ठले भने।
धुम्बाराही र पेरिसडाँडामा राखिएका दुवै कार्यालयको बोर्डमा केन्द्रीय कार्यालय उल्लेख गरिएको छ। तर धुम्बाराहीमा रहेको एमाले कार्यालयले केन्द्रीय कार्यालय लेखिएको भाग रातो लगाएर छोपेको छ। पेरिसडाँडामा भने सानो बोर्ड राखिएको छ।
नेकपाले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिको भने टुङ्गो लगाएको छ।