अर्थमन्त्री युवाराज खतिवडा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य बन्ने भएका छन्। तत्कालीन नेकपा एमालेले खतिवडालाई नेकपाको केन्द्रीय सदस्यमा सिफारिस गरेको हो।
उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा मनोनित भएका हुन्। ४ सय ४१ सदस्यीय हुने भनिएको नेकपाको केन्द्रीय समितिमा तत्कालीन एमालेका २ सय ४१ केन्द्रीय सदस्य रहनेछन्।
विगतको केन्द्रीय समिति १ सय ९८ सदस्य मात्र भएकाले सदस्य थप गरी एमालेले नेकपाको केन्द्रीय समिति सदस्यका लागि खतिवडाको नाम सिफारिस गरेको हो।
वाम गठबन्धनको चुनावी घोषणापत्र निर्माण लगायतका काम गरे पनि खतिवडा सक्रिय राजनीतिमा थिएनन्।
खतिवडा जस्तै सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटा पनि केन्द्रीय सदस्यमा मनोनयन भएका छन्। सरकारमा तत्कालीन एमालेले केन्द्रीय समिति सदस्य नरहेका बास्कोटालाई मात्र मन्त्री बनाएको थियो।
तत्कालीन एमालेले नेकपाको केन्द्रीय सदस्यमा देवी ज्ञवालीलाई पनि सिफारिस गरेको छ। भरतपुर महानगरको मेयरका उनी अध्यक्ष पुष्पकमल दाहाल पुत्री रेणु दाहालसँग पराजित भएका थिए। तत्कालीन माओवादी केन्द्रले मतपत्र च्यातेर मतगणना बिथोलेपछि दोश्रो चरणको निर्वाचनबाट दाहाल विजयी भएकी थिइन्।
वाम गठबन्धन बनेपछि ज्ञवालीले अध्यक्ष दाहाललाई निर्वाचन परिचालन कमिटीमा बसेर सहयोग गरेका थिए। उनै ज्ञवाली केन्द्रीय सदस्य बन्न लागेका हुन्।
तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारी पनि नेकपाको केन्द्रीय सदस्यका लागि सिफारिस भएका छन्। सांसद महेश बस्नेत र अइन्द्रसुन्दर नेम्वाङ पनि केन्द्रीय सदस्य बन्ने पक्का भएको छ। पूर्वउद्योग मन्त्री बस्नेत एमाले महाधिवेशनका बेला युवा संघको राजनीतिमा सक्रिय थिए। त्यस्तै नेकपा मालेबाट संविधानसभा सदस्य बनेका नेम्वाङ चुनावअघि एमाले प्रवेश गरेका थिए।
एमालेले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई पनि नेकपाको केन्द्रीय सदस्य बनाउने भएको छ। अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले केन्द्रीय सदस्यको टुङ्गो लगाएका हुन्। तर उनीहरुको अनुमोदन बाँकी रहेको एक नेताले जानकारी दिए।
त्यस्तै तत्कालीन एमालेका प्रचार विभागका सचिव विष्णु रिजाल पनि केन्द्रीय सदस्यमा सिफारिस भएका छन्। पूर्वमन्त्री आनन्द पोखरेल, तत्कालीन एमाले काठमाडौंका जिल्ला अध्यक्ष कृष्ण राई, प्रदेश ३ का प्रदेश सदस्य रामेश्वर फुँयाल पनि केन्द्रीय सदस्यका लागि सिफारिस भएका छन्।
तत्कालिन नेकपा माओवादी केन्द्रले भने ४५ सदस्यीय स्थायी समितिमा १९ जनाको नाम अझै टुङ्गो लगाएको छैन। केन्द्रीय समितिमा रहनेको नाम समेत अध्यक्ष दाहालले निर्क्यौल गरेका छैनन्। जेठ ३ गते पार्टी एकीकरण घोषणाको दिन तत्कालीन माओवादीले हेडक्वाटरका सदस्यहरुलाई केन्द्रीय सदस्य बनाएको थियो। माओवादीले नेकपाको केन्द्रीय सदस्यका लागि एक सय भन्दा बढीको नाम टुङ्गो लगाउन बाँकी छ।