राधेश्याम अधिकारीको प्रश्न : गृहमन्त्री र सडकको के साइनो छ?


नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले गृहमन्त्री रामबहादुर थापा बादललाई ‘बादल’ सडकसँगको साइनो सोधेका छन्।

सयममा सडक निर्माण सम्पन्न नगर्ने ठेकेदारलाई पक्राउ गर्न थापाले आदेश दिएका थिए। थापाको आदेशपछि पोखरामा ठेकेदार सुरेन्द्र बस्नेत पक्राउ परिसकेका छन्।

अधिकारीले शुक्रबार राष्ट्रिय सभाको बैठकमा मन्त्रीहरुले ‘कानुन भन्दा माथि कोही छैन’ भन्ने बिर्सिएको टिप्पणी गरे।

‘गणतन्त्रमा कानुन भन्दा माथि कोही छैन भन्ने मन्त्रीहरुले बिर्सनुभयो’, अधिकारीले भने, ‘फरमान जारी गरेर केही हुने छैन।‘

उनले ठेकेदारहरु अदालत गएको अवस्थामा गैरकानुनी थुनाको रुपमा यस्ता घटना रहने बताए। ‘गृहमन्त्री र सडकको के साइनो छ’, अधिकारीले प्रश्न गरे, ‘यी विषय यातायात मन्त्रीले भन्ने होला नि।

उनले नागढुङ्गा कलंकी सडक अदालतका कारण मात्रै नरोकिएको तर्क गरे।

‘जति ठाउँ फराकिलो भएको छ त्यति ठाउँमा पनि अदालतले रोक्यो त’, अधिकारीले प्रश्न गरे , ‘नबनाउने बाहना चाहिएको छ। नबनाइ नबनाइ बस्न पाएपछि कसले बनाउने, भेरिएसन अर्डर पाएपछि ठेकेदारले पनि किन बाटो बनाउनुपर्‍यो।‘

उनले ठेकेदारलाई नभई मन्त्रीले सचिव र सडकको महानिर्देशकलाई किन सडक नबनेको भनेर सोध्नुपर्ने बताए।

‘ठेक्ला लागेको छ। काम लगाइदैँन’, अधिकारीको भनाई थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.