नेपाल कम्युनिष्ट पार्टीको ७० वर्षे फुट र जुटको कथा

'राजा महेन्द्रदेखि श्रीलंकालाई हेर्ने दृष्टिकोणमा फुट्ने गर्थे'

राष्ट्रिय सभागृहमा आयोजित पार्टी एकीकरण घोषणा कार्यक्रममा नेकपाका नेताहरू। तस्बिर : नारायण महर्जन/सेतोपाटी


२००६ साल वैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कलकत्तास्थित श्यामबजारमा गठन भयो।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक थिए।

५ जनाबाट सुरू भएको कम्युनिष्ट पार्टी जबजब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो। भनिन्छ- ७० वर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७० पटक नै फुट्यो।

त्रिभुवन विश्वविद्यालयमा इतिहासका प्राध्यापक सुरेन्द्र केसीका अनुसार कम्युनिष्टहरू पहिलो पटक २०१७ सालमा राजा महेन्द्रको कदमलाई लिएर फुटेका थिए।

‘चीनलाई मान्ने कि रूसलाई मान्ने भनेर पनि मतभेद हुन्थ्यो /विभाजित हुन्थे, हुँदाहुँदा यौनकाण्डको विवादमा समेत पार्टी  फुटाएका थिए,’ केसीले भने।

नेपाली कम्युनिष्टहरूले साम्यवादमा विश्वास गर्ने भने पनि त्यसैमा शंका उठ्ने गरी पार्टी फुटाउँदै गए। कहिले आफ्नै नेतामा विश्वास गरेनन् कहिले पार्टीको सिद्धान्तमै शंका गरे।

झन्डै ७० वर्षको इतिहासमा आज नेकपा एमाले र माओवादी केन्द्रबीच  एकता भएको छ। यो एकतासँगै विशाल एकीकृत कम्युनिष्ट पार्टी  बनेको छ।

एमाले नेता सूर्य थापा यसलाई सबैभन्दा ठूलो एकता भन्छन्। उनका अनुसार आज ठूला कम्युनिष्ट पार्टीमात्र मिलेका छैनन् जनताको आकांक्षा र राष्ट्रिय हितलाई केन्द्रमा राखेर दुई पार्टी मिलेका छन्।

‘यसअघिका फुट र जुट व्यक्तिगत अहमले हुन्थे, यसपालि मुलुकको हित र समृद्धका लागि दुई कम्युनिष्ट पार्टीबीच एकता भएको छ,  त्यसैले यो सबैभन्दा ठूलो हो,’ उनले भने।

थापाका अनुसार कम्युनिष्ट पार्टी स्थापना भएको एक दशक नबित्दै फुटको शृंखला सुरु भएको हो।

स्थापनाको ४ वर्षपछि २०१० मा  पार्टीको पहिलो महाधिवेशन भयो, महासचिवमा मनमोहन अधिकारी निर्वाचित भए। १४ सालको दोस्रो महाधिवेशनबाट केशरजंग रायमाझी महासचिव बने। उनी सुरूदेखि नै राजालाई मानेर अघि बढ्नुपर्छ भन्नेमा थिए। उनकै कारण २०१७ सालपछि कम्युनिष्ट पार्टी पहिलो पटक विभाजन भयो।

२०१७ साल पुष १ गते जब राजा महेन्द्रले शासनसत्ता हातमा लिएर निर्वाचित प्रधानमन्त्री विपि कोइरालालाई जेल हाले रायमाझीले त्यसको स्वागत गरे। पुष्पलाल, मोहनविक्रम सिंह र तुलसीलाल अमात्य र मनमोहन अधिकारी भने रायमाझिको विपक्षमा थिए। रायमाझि कालान्तरमा राजदरबार पसे। पुष्पलाल तुलसीलाल अमात्य, मोहनविक्रम सिंह र मनमोहन अधिकारीजस्ता नेताहरु पनि क्रमश: त्यतिखेरका शक्तिशाली कम्युनिष्ट राष्ट्रलाई हेर्ने दृष्टीकोणमा विभाजित हुन थाले।

२०२३ सालसम्म कम्युनिष्ट पार्टी लगभग अवसानको संघारमा थियो। एकातिर पूर्व मेची कोसी प्रान्तीय कमिटी गठन भयो अर्कोतिर केशरजंगको समूह छुट्टियो। त्यसको एक वर्षपछि पुष्पलालले नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशन गराए। यो पनि २०२५ सालमै टुट्यो। यो पार्टीका प्रभावशाली नेताहरू तुलसीलाल अमात्य र पुष्पलाल पनि छुट्टिए।

२०२८ सालमा नेपाल कम्युनिष्ट आन्दोलनका अर्का दुईवटा प्रष्ट लाइन देखा परे। झापा जिल्ला कमिटी र केन्द्रीय न्यूक्लियस। पुष्पलालको पार्टी यी दुबैमा थिएन।

एउटाको नेतृत्व सिपी मैनालीले गर्थे, जसले पञ्चायत फाल्न झापा विद्रोह चलाएका थिए। अर्कोको नेतृत्व मोहनविक्रम सिंहले गर्थे, जसले पञ्चायतविरुद्धमात्र होइन भारतीय विस्तारवाद र सामन्तवादविरुद्ध पनि आन्दोलन गर्ने भन्थे।

यी दुई समूहबीचको गहिरो ध्रुवीकरण ४८ वर्षसम्म रह्यो। २८ सालदेखि आजसम्म यी दुई समूह आन्तरिक रूपमा दर्जनौँ पटक फुटे दुईचार पटक जुटे पनि।

०२८ सालमा केपी शर्मा ओली झापाली समूहको सक्रिय यूवा नेता थिए।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने त्यतिबेलाका यी दुबै धारमा थिएनन्। बल्ल पुष्पलालसँग भेट्दै थिए। पुष्पलालसँग दाहाल धेरै समय बसेनन्, मोहनविक्रम सिंहको चौंथो महाधिवेशनमा पसे। जहाँ सिंहबाहेक भक्तबहादुर श्रेष्ठ र निर्मल लामाजस्ता नेता थिए।

२०३५ साल साउनमा कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको निधन भयो।

झापा विद्रोहबाट माले हुँदै एमालेसम्म  

पुष्पलालको निधनअघि नै उनी निकट रहेका मदनभण्डारी,वामदेव गौतमजस्ता नेताहरूले छुट्टिएर मुक्ति मोर्चा समूह बनाइसकेका थिए।

यता झापाको विद्रोही समूहले आफ्नो पार्टीलाई परिमार्जन गर्दै अखिल नेपाल कोअर्डिनेसन कमिटी बनाएको थियो।

यी दुबै समूहमात्रै थिए, पार्टी बनिसकेका थिएनन्। दुबै समूह मिलेर २०३५ पुष ११ गते सिपी मैनालीको नेतृत्वमा नेकपा (माले) बनाए। त्यसैले एमालेको इतिहास झापा विद्रोह हुँदै ३५ सालको पार्टी निर्माणपछि सुरू हुन्छ।

०३६ सालसम्म चुपचाप बसेका मनमोहन अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (मनमोहन) नामक आफ्नो छुट्टै पार्टी खोले।

सुधारिएको पञ्चायत वा बहुदल रोज्न राजा वीरेन्द्रले गराएको जनमत संग्रहमा उनले बहुदलका पक्षमा चुनावमा भाग लिए। नेपाली कांग्रेसलाई साथ दिए।

जनमत संग्रहमा नेकपा मालेले भने बहिष्कार गर्‍यो।

यता पुष्पलालको निधनपछि उनको पार्टीलाई बलराम उपाध्याय र साहना प्रधानले चलाए। २०४३ सालमा मनमोहन अधिकारीको पार्टीसँग एकता भयो र नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) बन्यो।

२०४६को आन्दोलनअघि पञ्चायतविरुद्ध लड्न मनमोहन नेतृत्वको मार्क्सवादी पार्टी र सिपी मैनालीको मालेसहित अन्य साना समूह मिलेर संयुक्त वाम मोर्चा बन्यो। जसले पछि नेपाली कांग्रेससँग मिलेर संयुक्त आन्दोलन गर्यो। आन्दोलनमात्र गरेन साम्यवादको लक्ष्य छोडेर कांग्रेससँगै संसदीय व्यवस्थामा प्रतिस्पर्धा गर्न उत्रियो।

जनआन्दोलनले पञ्चायती शासनको अन्त्य गरेपछि  मनमोहन र सिपी मैनालीको पार्टीबीच एकता भयो। एकतापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) बन्यो। महासचिवमा मदन भण्डारी छानिए।

यो पार्टीले बहुदलीय व्यवस्थामा चुनावी प्रतिस्पर्धा गरी समाजवादतर्फ जाने नयाँ सिद्धान्त बनायो।

२०५० जेठ ३ गते मदन भण्डारीको निधन भयो। त्यसपछि माधवकुमार नेपाल महासचिव बने।

भारतसँग गरेको महाकाली सन्धिलाई लिएर  पार्टीभित्र तीव्र मतभेत चल्यो। माधवकुमार नेपाल र केपी ओली यो सम्झौताको पक्षमा थिए भने वामदेव गौतम विपक्षमा। अन्तत: एमाले २०५४ सालमा उनले पार्टी फुटाए। नेकपा माले खोले। वामदेवसँग सिपी मैनाली पनि थिए।

 पाँच वर्षपछि फेरि गौतम एमालेमै फर्किए। मैनालीको सानो समूह छुट्टै बस्यो।

चौंथो महाधिवेशनदेखि माओवादीसम्म

मोहनविक्रम सिंहको चौंथो महाधिवेशनले २०३६ सालको जनमत संग्रहलाई बहिष्कार गर्‍यो।  राजाले गराएको जनमत संग्रहलाई लिएर पार्टीभित्र मतभेद सुरू भयो।

निर्मल लामाहरूले जनमत संग्रहलाई उपयोग गर्नुपर्छ भन्ने विचार राख्थे। मोहनविक्रमले भने हुन दिएनन्।

२०४० सालमा निर्मल लामा समूहले पार्टी फुटायो र नेकपा (चौम) भन्ने नयाँ दल बनायो। मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो।  मोहनविक्रमलाई महामन्त्री छान्यो।

नेकपा मसालको पाँचौं महाधिवेशन पनि जुट्नेभन्दा फुट्ने कारण बन्यो। महाधिवेशनको बहुमतले महामन्त्री सिंहको राजनीतिक लाइन पास गर्‍यो तर उनलाई भने यौनदुराचारको आरोप लगाएर कारबाही गरियो।

प्रचण्डले मोहनविक्रममा सैद्धान्तिक विचलन रहेको प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसपछि मशालबीच फुटको श्रृङ्खला सुरु भयो। अरू मिल्ने र फुट्ने गरे पनि सिंह र प्रचण्डको कहिल्यै मेल भएन।

२०४१ सालमा भएको पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य (किरण) निर्वाचित भए।

महाधिवेशन सकिएको केही समय नबित्दै श्रीलंकाको तमिल विद्रोहलाई समर्थन गर्ने कि विरोध भन्ने विषयमा मतभेद सुरू भयो।

आफूलाई कारबाही गरेको वर्षदिनपछि मोहनविक्रमले चित्रबहादुर केसीसहित ४ जना केन्द्रीय सदस्य लिएर नयाँ पार्टी बनाए- नेकपा मसाल।

वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल राखियो। पातलो मसाल र मोटो मशालमा उनीहरू विभाजित भए।

२०४५ सालमा नेकपा मशालले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो र माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्‍यो।

फुट्दै मिल्दै गरे पनि २०४६ सालको आन्दोलनमा उनीहरू मदन भण्डारी र मनमोहन अधिकारीको संयुक्त वाम मोर्चामा गएनन्।

चौंथो महाधिवेशनमा सँगै भएकाहरू नै मिले।

नेकपा(मशाल), नेकपा(मसाल), सर्वहारा श्रमिक संगठन (नेपाल मजदुर किसान पार्टी), नेकपा(चौम) लगायत मिलेर संयुक्त जनआन्दोलन संयोजन समिति बनाए।

बहुदलपछि प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) राखियो। मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि यही पार्टीमा आए।

एकताको दुई वर्षमै नयाँ पार्टीमा सशस्त्र युद्धको विषयलाई लिएर फेरि मतभेद सुरू भयो। निर्मल लामाहरूले एकता केन्द्र छोडे। २०५१ मा निर्मल लामा, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन,लिलामणि पोख्रेलहरु मिलेर छुट्टै ने.क.पा.(एकताकेन्द्र) गठन गरे।

प्रचण्ड नेतृत्वको एकता केन्द्रले नाम फेर्‍यो, नेकपा माओवादी राख्यो। नाम मात्रै फेरेन उसले १० वर्ष माओवादी जनयुद्ध सञ्चालन गर्‍यो।

यसबीचमा २०५९ सालमा  मोहनविक्रम सिंह नेतृत्वको मसाल र  नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच एकता भयो।

मिलेको यो पार्टीभित्र फेरि माओवादीलाई हेर्ने दृष्टीकोणमा मतभेद सुरु भयो। २०६३ सालमा उनीहरु फेरि फुटे।

 २०६२ सालको दोस्रो जनआन्दोलन

२०२८ सालमा छुटिएका दुई कम्युनिष्ट धारहरू २०४६ सालमा आइपुग्दा झन् टाढिएका थिए। एउटा धारको मूल पार्टी एमालेले संसदीय व्यवस्था रोजेको थियो भने अर्को धारको मूल पार्टी माओवादीले सशस्त्र युद्ध रोजेको थियो।

अरू ससाना कम्युनिष्ट पार्टीहरू पनि फुट्दैजुट्दै संसदीय अभ्यास गरिरहेका थिए।

२०६२/०६३ को जनआन्दोलनपछि जनयुद्ध छोडेर माओवादी पनि एमाले र कांग्रेससँगै लोकतान्त्रिक संसदीय व्यवस्थामा आइपुग्यो। २०६४को पहिलो संविधान सभा चुनाव लड्यो। यसबीच नारायणकाजी श्रेष्ठको एकता केन्द्र माओवादीमा  मिल्न आयो। मोहन वैद्य  र नेत्रविक्रम चन्द फुटेर दुईटा छुट्टाछुट्टै पार्टी खोले। बाबुराम भट्टराईले कम्युनिष्ट आन्दोलन नै छोडे। उनी नयाँ शक्ति नेपाल पार्टीका संयोजक बनेका छन्।

माओवादी संसदीय व्यवस्थामा आएको १२ वर्ष भएको छ।

१२ वर्षमा खोला पनि फर्कन्छ भन्छन्, एकीकृत कम्युनिष्ट पार्टी बनाउन भन्दै एमाले-माओवादी मिलेर एउटा सिंगो र ठूलो पार्टी बनाएका छन्।

आजभन्दा झन्डै ७० वर्षअघि ४ जना मिलेर बनाएको नेपाल कम्युनिष्ट पार्टी अहिले नेपालको सबैभन्दा  शक्तिशाली पार्टी बनेको छ र नेताहरूले अब फुटको श्रृंखला नदोहोर्‍याउने प्रतिवद्धता जनाएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.