ओलीको दाहाललाई सम्बोधन-अहिलेसम्म माओवादी केन्द्रका अध्यक्ष भइराख्नुभएका पूर्वप्रधानमन्त्री


नेकपा एमाले र  माओवादी केन्द्रबीच आज पार्टी एकता हुदैँछ। मदन आश्रित २५ औं स्मृति दिवसको कार्यक्रममा ओलीले आफ्नो खुसी व्यक्त गर्न भुलेनन्। अधिकाशं कार्यक्रमा ढिला पुग्ने ओली बल्खुस्थित एमालेको पुरानो पार्टी कार्यालयका प्राङ्गणमा पुगेर प्रचण्डलाई कुरे।

‘अहिलेसम्म नेकपा माओवादी केन्द्रको अध्यक्ष नै भइराख्नुभएका पूर्वप्रधानमन्त्री’ भन्दै ओलीले प्रचण्डलाई सम्बोधन गरे। प्रचण्ड मुसुमुसु हाँसे। उनले प्रचण्डलाई जिस्काउन यतिमै छाडेनन्।

मदन भण्डारीको शालिकमा माल्यार्पणपछि छोटो सम्बोधन गरेका प्रचण्डलाई ओलीले भने, ‘कमरेड प्रचण्डले बोल्न पर्ने धेरै कुरा बोल्नु भएको छैन। पुष्पार्पण मात्र गर्नु भएको छ। बोल्ने कुरा भरेलाई राख्नुभएको छ।’

ओलीले कार्यकर्तालाई ३ बजे राष्ट्रिय सभा गृह आउन आह्वान गरे। उनले सभा गृहको हल सानो हुने उल्लेख गर्दै चौरमा बस्न कार्यकर्तालाई सुझाए।

बुधबार पार्टी एकताका विषयमा प्रचण्डसँग छलफल हुँदामसेत आफू उत्साही भएको ओलीले सुनाए। ‘म त उत्साही छँदै थिएँ, प्रचण्डसँग भेटेपछि झन् उत्साहित भएँ’, ओलीले भने, ‘हामीले बिलम्ब गर्नुपर्ने आवश्यकता छैन भन्यौं।’

ओलीले नयाँ कम्युनिष्ट पार्टीसँग बहुमत र गन्ति नै गर्दा पनि बहुजनको समर्थन रहेको बताए।

पार्टीको तारिफ गररहँदा उनी केहिबेर रोकिए।

‘अहिलेसम्म एमाले भन्न खोजिन्छ’, ओलीले बोलीमा ब्रेक लगाउँदै भनें, ‘हामीसँग छ।’

ओलीले नयाँ पार्टीसँग अब संसदमा एकल आरामदायी बहुमत रहेको बताए। ‘अझै हेर्दै जानुहोस्’, ओलीले भने, ‘म धेरै भन्न चाहन्नँ।’

ओलीले माओवादी केन्द्रसँग सम्बन्ध चिसिएको भनेर मिडियामा आएको समाचारको  खिसी गरे।

‘अस्तिका दिन पत्रपत्रिकामा दुई पार्टी टाढिए, प्रयास छाडिए र सम्बन्ध चिसो भनेर आयो’, ओलीले भने, ‘चिसो कि तातो दुई दिनमा थाहा पाउला भनेर मैले भन्नुपर्‍यो।‘

पार्टी एकताको विषयमा टुङ्गो लगाउन दुई दलको एकता संयोजन समितिको बैठक अहिले बसिरहेको छ। लगत्तै दुबै दलको छुट्टाछुट्टै र संयुक्त केन्द्रीय समितिको बैठक बस्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.