एकीकृत पार्टीको केन्द्रीय समिति बैठक आजै


नेकपा एमाले र माओवादी केन्द्रको एकतापछि बन्ने नयाँ पार्टीको केन्द्रीय समितिको बैठक आजै बस्ने भएको छ।

एमालेका स्वर्गीय नेता मदन भण्डारीको स्मृति दिवसका अवसरमा बिहीबार बल्खुमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले  आज दिउँसो एकीकृत पार्टीको केन्द्रीय समिति बैठक बस्ने जानकारी दिए।

केन्द्रीय समिति बैठकपछि नयाँ पार्टी निर्वाचन आयोगमा जाने दर्ता हुनेछ।

दुई दलको कार्यदलले तयार गरेको प्रतिवेदनमा पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहने, माक्र्सवादी—लेनीनवादी सिद्धान्त अवलम्बन गर्ने, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद र एक्काइसौं शताब्दीको जनवादलाई विधिवत् बहसमा लाने, पालैपालो नेतृत्व (सह-अध्यक्ष) गर्नेलगायत विषयमा सहमति भइसकेको छ।

एकीकृत पार्टीमा दुवै अध्यक्ष पार्टी प्रमुखका रूपमा रहनेछन्। दुवै सहअध्यक्षको हैसियतमा रहनेछन्। पार्टी बैठकको दुवैले पालैपालो अध्यक्षता गर्ने सहमति छ। दुबैमा बराबर कार्यकारी अधिकार रहनेछ। नयाँ बन्ने नेपाल कम्युनिस्ट पार्टीको चुनाव चिह्न सूर्य राख्ने सहमति भएको छ। यो चिह्न यसअघि एमालेको थियो।

एकता अन्तर्गत एमालेबाट २४१ र माओवादी केन्द्रबाट २०० गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने तयारी छ।

यस्तै, स्थायी कमिटीमा एमालेबाट २५ र माओवादी केन्द्रबाट १८ जना सदस्य गरी ४३ जना रहने सहमति भएको छ।

यस्तै उनीहरूले १४५ पोलिटब्युरो सदस्यीय बनाउने सहमति गरेका छन्।

यसरी १० तहको कमिटी बनाउने निर्णयसमेत गरेका छन् जसमा स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी, राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटी, जिल्ला कमिटी, निर्वाचन क्षेत्रीय कमिटी, महानगर/उपमहानगर/नगर/गाउँपालिका कमिटी, वडा कमिटी र प्रारम्भिक कमिटी हुनेछन्।

गत असोज १७ गते भएको चुनावी गठबन्धनमा सामेल यी दुई वाम दलले स्थायित्व, शान्ति, स्थिरता, समानता र समृद्धिका लागि एकीकृत हुने घोषणा गरेका थिए।

एमाले र माओवादीको एकीकरणबाट बन्ने नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ जनमतका आधारमा इतिहासकै ठूलो पार्टी हुनेछ।

संघीय संसद्को निर्वाचन अन्तर्गत प्रतिनिधिसभामा एमालेको १२१ र माओवादीको ५३ सिट छ। दुवैको जोड्दा दुई तिहाइभन्दा १० सिट कम अर्थात् १७४ सिट हुन्छ। जसले ५२.३७% जनमतको प्रतिनिधित्व गर्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.