मदन भण्डारीको सालिकमा माल्यार्पण गरेर एमाले-माओवादी बैठक सुरू हुने


नेकपा एमाले र माओवादी केन्द्रले बिहीबार निर्वाचन आयोगमा एकीकृत पार्टी दर्ता गर्ने तयारी गरेका छन्।

पार्टी एकताको अन्तिम निर्णय गर्न भोलि बिहान १० बजे एकता संयोजन समितिको बैठक बस्दै छ। दुबै पार्टीका अध्यक्ष सम्मिलित समितिको बैठक बस्नुअघि बल्खुमा रहेको  मदन भण्डारीको सालिकमा नेताहरूले माल्यार्पण गर्नेछन्।

बिहीबार मदन भण्डारीको स्मृति दिवस हो। २०५० जेठ ३ गते भण्डारीको जीप दुर्घटनामा परी मृत्यु भएको थियो।

एकता संयोजन समितिको बैठकले पार्टी एकताको निर्णय गरेपछि दुबै दलका आन्तरिक बैठक बस्नेछन्।

ती बैठकले दुबै पार्टीका केन्द्रीय संरचना भंग भएको निर्णय गरेर नेताहरू नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोग जाने तयारी रहेको एक एमाले नेताले जानकारी दिए।

यसअघि आज एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको थियो। बालुवाटारमा भएको सो भेटपछि भोलि नै एकीकृत पार्टी दर्ता गर्ने तयारी थालिएको हो।

यस विषयमा आवश्यक छलफल गर्न दुबै दलले अहिले पार्टीका आन्तरिक बैठक गरिरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.