नेपाली कांग्रेसका नेता गगन थापाले विवेकशील साझा पार्टीले कार्यालयमा भारतीय नाकाबन्दी सम्झाउँदै टाँगेको तुल प्रहरीले झिक्नु निन्दनीय भएको बताएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत् कांग्रेस नेता थापाले सरकारको उक्त कदमलाई असंवैधानिक र निन्दनीय कृत्य भएको बताएका हुन्।
विवेकशील साझाले शुक्रबार ‘मोदीजी स्वागत छ। तर नाकाबन्दी बिर्सेका छैनौं’ भन्ने तुल टाँगेको थियो। शुक्रबारै प्रहरीले उक्त तुल जबरजस्ती झिकिदिएको विवेकशील साझाले जनाएको छ।
ललितपुरस्थित विवेकशील साझाको कार्यालयमा टाँगिएको तुल डिएसपीको नेतृत्वमा आएको प्रहरी टोलीले झिकेर लगेको थियो।
थापाले संविधानमा अहिंसात्मक विरोध गर्न पाउने अधिकार भएको उल्लेख गर्दै सृजनात्मक विरोध पनि सहन नसक्ने? भनेर सरकारलाई प्रश्न गरेका छन्।
'हाम्रो संविधानले फरक मत राख्न र अहिंसात्मक विरोध गर्न पाउने अधिकार सुनिश्चित गरेको छ। त्यही संवैधानिक अधिकारको प्रयोग गर्दै गरिएको यस्तो सृजनात्मक विरोध पनि सहन नसक्ने?' उनले भनेका छन्, 'विवेकशील साझाको ब्यानर च्यात्नु असंवैधानिक र निन्दनीय कृत्य हो।'
भारतीय प्रधानमन्त्री मोदी दुई दिने राजकीय भ्रमणका लागि आज नेपाल आएका छन्।