तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्याकाण्डका अभियुक्तले अदालतमा बयान फेरेका छन्। प्रहरीले पक्राउ गरी अदालत पुर्याएका ३० अभियुक्तको थुनछेक बयान मंगलबार साँझ सकिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार नवराज दुलालले सेतोपाटीलाई जानकारी दिए।
अदालतमा ८ प्रहरीसहित ३० जना अभियुक्तले यसअघि छानबिन समितिलाई दिएको भन्दा फरक बयान दिएका छन्।
मोरङका जिल्ला न्यायाधीवक्ता पुण्यप्रसाद पाठकका अनुसार उनीहरूले प्रहरी र छानबिन समितिलाई दिएको बयानभन्दा न्यायाधीश समक्ष दिएको बयान फरक छ।
'बयान सबैले फेरेका छन्। उनीहरुसबैले अनुसन्धान अधिकारीलाई दिएको र समितिलाई दिएको बयान न्दा न्यायाधीशसमक्ष दिएको बयान फरक छ। हामीले सुन तस्करी गरेको हैन, त्यसबारे थाहा छैन, जान्दैनौं, घटनाबारे जानकारी छैन जस्ता कुराहरु भनेका छन्,' उनले भने।
एक हप्ताअघि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा उनीहरुको बयान सुरू भएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। ६३ मध्ये प्रहरीले पक्राउ गरेका ३० अभियुक्तको बयान सकिएको हो।
थुनछेक बयान सकिएको स्रेस्तेदार नवराज दुलालले सेतोपाटीलाई जानकारी दिए।
उनीहरुलाई थुनामै राखेर सुनुवाई गर्ने कि धरौटी वा तारेखमा राखेर गर्ने भन्ने बहस भोलिदेखि सुरु हुनेछ।
३० अभियुक्तका तर्फबाट बहस गर्न भन्दै ४३ जना वकिलले अहिलेसम्म वकाल नामा बुझाएको स्रेस्तेदार दुलालले जानकारी दिए।
उनीहरुविरुद्ध ८ सरकारी वकिलले बहस गर्नेछन्।
मोरङ सरकारी वकिल कार्यालयका प्रमुख पुण् प्रसाद पाठकका अनुसार सुनकाण्डमा बहस गर्न २ सहन्यायाधीवक्ता २ उपन्यायाधीवक्ता, २ जिल्ला न्यायाधीवक्ता र २ जना सहायक जिल्ला न्यायाधीवक्ताको टिम बनेको छ।
सहन्यायाधीवक्ता गोपाल रिजाल, चिरन्जीवी पराजुली, उपन्यायाधीवक्ता हिमालय त्रिताल, मनोज आचार्य, जिल्ला न्यायाधिवकेता पुण्य प्रसाद सापकोटा,पुण्यप्रसाद पाठक, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्तीले सरकारको तर्फबाट बहस गर्ने छ।
तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।
यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरी सहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो। उनीहरुसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दाको अभियोगपत्रमा चुडामणि उप्रेती ‘गोरे’ को समूहले मात्र यो झण्डै ३८ क्विण्टल सुन तस्करी गरेको उल्लेख छ।
पक्राउ परेकाबाट बरामद् भएका कागजात र फरार अभियुक्तहरूबीच भएको आर्थिक कारोबारका आधारमा समितिले यो परिमाणको सुन तस्करी भएको निष्कर्ष निकालेको हो।
समितिको अनुसन्धानलाई आधार बनाएर सरकारी वकिलको कार्यालयले १५३ पृष्ठ लामो अभियोगपत्र अदालतमा दर्ता गरेको हो।
अभियोगपत्रमा प्रतिवादी ‘गोरे’ भन्ने चुडामणि उप्रेतीले आफैं र आपराधिक समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गार्ड कार्यालयमा तत्कालीन समयमा कार्यरत प्रहरी नायब महानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक सञ्जय राउत समेतलाई आर्थिक लाभ उपलब्ध गराई सुन चोरी पैठारी गरेको उल्लेख छ।
यी प्रहरी अधिकृतले आफ्ना सरकारी कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र फोर्सको लजिष्टिक्स लगायत ड्राइभर र व्यक्तिगत सुरक्षा गार्डलाई आपराधिक समूहको गतिविधिमा उपयोग गर्न दिएको अभियोगपत्रमा छ।
सुरक्षा शक्तिको आडमा नागरिक उड्डयन कार्यालयबाट पास झिकी आपराधिक समूहलाई उपलब्ध गराउने र उल्लिखित आपराधिक समूहभित्र समावेश भई गतिविधि सञ्चालन गरेको अभियोगपत्रमा भनिएको छ। सुरक्षा अधिकृतहरुले सुन चोरी पैठारीबाट आर्थिक लाभ प्राप्त गरेको बरामद रजिष्टरबाट खुलेको छ।
सुरक्षा अधिकृत र आपराधिक समूहका नाइके चुडामणि उप्रेती एवं निजका सदस्यबीचको कल डिटेल समेतका प्रमाणबाट उनीहरुको संलग्नता पुष्टि हुने अभियोगपत्रमा छ।
कार्यालयले ६३ जनाविरुद्ध संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता गरेको छ। प्रतिवादीमध्ये ९ जना प्रहरी अधिकारी छन्।
मुद्दामा प्रहरीले पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण संजेल र प्रहरी जवान विष्णु खड्कासहित २९ जनालाई पक्राउ गरी अदालत पेस गरेको छ।
त्यस्तै राप्रपा नेता भुजुङ गुरुङ, सुन व्यापारी महावीर गोल्यान, न्युरोडको आरके ज्वेलर्सका सञ्चालक राजेन्द्रमान शाक्य, थाई एयरवेजका कर्मचारी लालबहादुर मगर, हेमन्त गौतम, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङे, बालकृण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारुलाई मुद्दा चलाइएको छ। त्यस्तै सुन तस्करी गिरोहमा संलग्न मोहन काफ्ले, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्ला शेर्पा, मोहन घिमिरे, राजन कुमारलाई पनि प्रहरीले बुधबार अदालत बुझाएको हो।
त्यसैगरी प्रहरीले तस्करीका मुख्य नाइके भनेका चूडामणि उप्रेती ‘गोरे’, एसएसपी श्याम खत्री, रमेश उप्रेती, निरु खरेल, मोहनकुमार अग्रवाल, रमेश उप्रेती, दुर्गा खरेल उप्रेती, चेतन भण्डारी, सुनील अग्रवाल, प्रमोद श्रेष्ठ, रोहित आचार्य, दावा शेर्पा, भोजराज भण्डारी, भीमकुमारी खरेल, डोलेन्द्रप्रसाद खरेल, कृष्ण बस्नेत, भविन राई, कमल कार्की, सन्दीप खड्का, प्रयास पराजुली, सुरेन्द्र गौतम लगायतलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ।
गत माघ ९ मा दुबईबाट ल्याइएको तस्करीको ३३ किलो सुन हराएपछि खोजबिन सुरु भएको थियो। उक्त सुन लुकाएको भन्दै मोरङ उर्लाबारीका सनम शाक्यको फागुन १८ गते हत्या भएको थियो।
हत्याबारे छानबन गर्न गृह मन्त्रालयका सहसचिव ईश्वराज पौडेलको नेतृत्वमा बनेको छानबिन समितिको अनुसन्धानपछि ८ प्रहरी अधिकारीसहित ३० जनालाई पक्राउ गरिएको थियो।