भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र जोमसोम भ्रमण सुरक्षा व्यवस्था बलियो पारिएको गृह मन्त्रालयले जनाएको छ।
दुई दिने भ्रमणमा आउन लागेका मोदीको सुरक्षा व्यवस्था अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं जनकपुर पुगेका छन्।
सोमबार बिहानै जनकपुर पुगेर गृहमन्त्री र महानिरीक्षक खनालले सुरक्षा व्यवस्थाबारे जानकारी लिए। मन्त्रालयले नेपाल प्रहरीका डिआईजी ठूले राईलाई जनकपुरमै राखेर सुरक्षा व्यवस्था मिलाउँदै आएको छ।
मोदी ‘इन्डियन एयर फोर्स’ को हेलिकप्टरमा आउने भएका गृह मन्त्रालयले जनाएको छ। उनी सवार हेलिकप्टरलाई अरु दुई वटा हेलिकप्टरले स्कर्टिङ गर्नेछन्।
त्यस्तै पाँच घेराको सुरक्षा बन्दोबस्त पनि मिलाइएको छ।
सुरक्षा व्यवस्था निम्ति भारतीय सुरक्षाकर्मीका उच्च अधिकारीहरु पनि जनकपुर पुगिसकेका छन्।
पटनाबाट हेलिकप्टरमा आउने मोदीको सुरक्षामा सिमापारि भारतीय र सिमावारि नेपाली सुरक्षाकर्मी खटिनेछन्।
मोदीसँगै इन्डियन एयरफोर्सका कम्तीमा ३५ जना कमाण्डो आउनेछन्। उनीहरू सबै सादा पोसाकमा रहनेछन् । भ्रमणभर मोदी सुरक्षाको पहिलो घेरामा उनीहरू नै रहनेछन्। जनकपुर ओर्लिएपछि सम्पूर्ण कमान्ड नेपाली सेनाले सम्हाल्नेछ। सेनाको कम्तीमा एक प्लाटुन मोदी सुरक्षाको दोस्रो घेरामा रहनेछ। उनीहरू पनि सादा पोसाकमै रहनेछन् ।
त्यसैगरी सेनाको पछि नेपाल प्रहरीको सुरक्षा घेरा रहनेछ, भने त्यसपछि शसस्त्र प्रहरी परिचालन गरिने सरकारी तयारी छ।
त्यसैगरी मोदीले भ्रमण गर्ने स्थानमा पूर्ण रूपमा राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिनेछ भने जिल्लाको सीमा क्षेत्रमा शसस्त्र प्रहरी बललाई पर्याप्त परिचालन गरिनेछ।
सुरक्षाकर्मीले हेलिप्याड र अभिनन्दन गरिने मञ्चलाई विशेष सुरक्षा प्रदान गर्नेछन्।
सुरक्षामा १२ हजार हाराहारी सुरक्षाकर्मी परिचालन गरिनेछ। आवश्यक परेका खण्डमा त्यो भन्दा बढी पनि सुरक्षाकर्मी परिचालन गर्ने तयारीमा सरकार जुटेको छ।
सर्वसाधारणलाई मञ्चभन्दा कति टाढा राख्ने भन्नेबारे पनि व्यवस्था छ।
‘सुरक्षा व्यवस्था चुस्त छ, कतैबाट कमीकमजोरी नहुने तरिकाले हामी सुरक्षामा जुटेका छौं,’ डिआईजी राईले सेतोपाटीलाई बताए।
२८ गते मोदी हेलिकप्टरबाट रंगभूमि मैदानमा अवतरण गर्नेछन्। त्यसपछि सडक मार्ग हुँदै जानकी मन्दिर पुग्नेछन्।
सो क्षेत्रमा अहिलेदेखि राष्ट्रिय अनुसन्धान विभागको टोली पनि परिचालन गरिएको छ। उनीहरुले सुरक्षा थ्रेटबारे सूचना प्रदान गर्नेछन्।
जनकपुर जस्तै जोमसोमको पनि सुरक्षा प्रबन्ध मिलाइएको मन्त्रालयले छ।
नेपाल प्रहरीले सुरक्षामा आधुनिक प्रविधि प्रयोग गर्ने पनि जनाइएको छ।
करिब १ किलोमिर आसपासमा कुनै पनि फ्रिक्वेन्सी नेटवर्कले काम नगर्ने फ्रिक्वेन्सी जामर, चाहेको क्षेत्रको भिडियो सम्प्रेशण गरी कमाण्ड सेन्टरमा पठाउनसक्ने र्यापीट कम्यूनीकेसन स्टिम लगायत प्रविधि प्रयोग हुने मन्त्रालयले जनाएको छ।