सिन्डिकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात ठप्प पार्ने यातायात व्यवसायीलाई पक्राउ गरी आवश्यक कारबाही गर्न गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।
हड्तालका कारण आम नागरिकलाई मर्का परेको भन्दै गृह मन्त्रालयले यातायात नचलाउने व्यवसायीलाई पक्राउ गरी अत्याश्यक ऐन २०१४ अनुसार कारबाही गर्न गृहमन्त्री रामबहादुर थापाले ७७ जिल्लाका सिडिओलाई निर्देशन दिएका हुन्।
स्रोतका अनुसार गृह मन्त्री थापाले बन्द गर्ने व्यवसायी र समितिको सम्पत्तिसमेत छानबिन गरी आवश्यक अनुसन्धानअघि बढाउन पनि निर्देशन दिएका छन्।
‘सवारी साधन नचलाएर सरकारी निणर्यको विरोध गर्नेलाई कारबाही गर्नू र उनीहरुको सम्पतीको पनि छानविन थाल्नू भनेर मन्त्रीज्यूले स्पष्ट रूपमा भन्नु भएको छ,’ गृह स्रोतले भन्यो।
व्यवसायीले सिन्डिकेट हटाउने सरकारी निर्णयको विरोध गर्दै आज देशभरि सार्वजनिक यातायात चलाएका छैनन्।
यातायात व्यवस्था विभागले गाडी नचलाउने व्यवसायीको रूट पर्मिट आजै खारेज गरिने जनाएको छ।