त्रिभुवन विमानस्थलबाट हुने सुन तस्करीमा थाई एयरलायन्स र फ्लाई दुबईका कर्मचारीको महत्वपूर्ण भूमिका रहेको अनुसन्धानबाट खुलेको छ।
जिल्ला सरकारी वकिलको कार्यालय मोरङले बुधबार ६३ जनाविरूद्ध दायर गरेको मुद्दाको अभियोगपत्रमा यी दुई एयरलायन्सका कर्मचारीले सुन विमानस्थलबाट बाहिर निकाल्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
अभियोगपत्रमा थाई एयरवेजको जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि यात्रुलाई विमानबाट ओराल्न प्रयोग हुने गाडीसहितको केटिएम ४४ भर्याङलाई सुन निकाल्न मिल्ने गरी मोडिफाइड गरिएको बताइएको छ। यसरी भर्याङ मोडिफाइ गर्ने उपाय थाई एयरवेजको इन्जिनियरिङतर्फका सिनियर टेक्निसियन वीरेन्द्रमान श्रेष्ठ र गोपालकुमार श्रेष्ठले निकालेका हुन्। सुन आउने दिन यी दुई जनासहित समूहका अन्यको ड्युटी पार्ने काम कपिल पुरीले गर्थे।
अभियोगपत्रका अनुसार विमानमा आएको तस्करीको सुन निकाल्न छुट्टै भर्याङ लगाइन्थ्यो।
जहाजको पछाडिपट्टिको (ट्वाइलेटतर्फ) भर्याङ लगाउने काम एलबी भन्ने लालबहादुर मगर र वीरेन्द्रमानले गर्थे। वीरेन्द्रमानले गाडीको भर्याङको माथिल्लो सिँढी (जहाजमा चढ्दा दायाँ पर्ने भाग) को रेलिङको तलपट्टी फलामको प्वाल भएको बारको माथिल्लो भागमा रहेको बिर्को अर्थात सिललाई खोल्न मिल्ने र सुनका बिस्कुट छिराएपछि तल पिँधमा अड्किने स्क्रुनटले बन्द हुने बनाएका थिए।
उक्त भर्याङ जहाज आएपछि लालबहादुर मगर र वीरेन्द्रसमेतले लगाउँथे।
‘जहाजबाट सबै यात्रु निस्किसकेपछि दोराम खत्रीसमेतले ट्वाइलेटबाट सुन निकाल्ने र भर्याङको प्वालमा छिराउने गरेको देखियो,’ अभियोगपत्रमा भनिएको छ।
भर्याङमा बसेर मानिसको आवतजावतले चोरी पैठारीको काममा अवरोध नपुगोस् भनी गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले व्यवस्थापन गर्ने गरेको, सम्बीरप्रसाद तोलाङ र पुण्यप्रसाद तामाङले एयर होष्टेज र अन्य क्र्यु स्टाफलाई चलाखीपूर्वक निगरानी तथा छल्ने गरेको, जहाजभित्र लुकाएको सुन समूह बाहिरका मानिसले थाहा नपाऊन् भनी जहाज भित्रका ब्ल्यांकेट पट्याउने काम हेमन्त गौतम र बालकृष्णले गर्ने गरेको, भर्याङ ग्यारेजमा ल्याएर राखी रात परेपछि भर्याङबाट सुन निकाल्ने काम गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठले गर्ने गरेको अभियोग पत्रमा उल्लेख छ।
सुन झिकेपछि प्रायः गोपालकुमार श्रेष्ठ, वीरेन्द्रमान श्रेष्ठ र मृतक सानु बनले आफ्नो मोटरसाइकल तथा स्कूटरमा बनाएको फल्स बटममा राखी र कहिलेकाहीँ बरामद जिन्स ज्याकेटमा राखी एयरपोर्ट बाहिर लैजाने गरेको अभियुक्तले बयान दिएका छन्।
अभियोग पत्रमा प्रतिवादीहरूले विशेष अनुसन्धान टोलीसमक्ष दिएको बयान, श्रब्यदृश्य अभिलेख सामाग्री, थाइ एयरवेजको जहाजमा लगाउने भर्याङको फोटो, भर्याङको वस्तुस्थिति ब्यहोराको मुचुल्का, जहाजको ट्वाइइलेटमा सुन लुकाउन प्रयोग गरिएको स्थान समेतका सामाग्रीबाट यो कुरा पुष्टि भएको दाबी गरिएको छ।