लुम्विनीमा विशेष समारोहबीच सोमबार २५६२ औं बुद्धजयन्ती मनाईएको छ। लुम्विनीको नवनिर्मित सभाहलमा आयोजित समारोहको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्।
बुद्धजयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीको विकासको लागि सरकार योजनाबद्ध ढंगले अगाडि बढेको बताए।
प्रधानमन्त्री ओलीले लुम्बिनीमा धुप र ज्ञानको मात्र होईन हावा र फूलको पनि सुगन्ध हुनुपर्ने उल्लेख गर्दै लुम्विनी कुनै पनि शास्त्रमा उल्लेख गरिएभन्दा सुन्दर हुनुपर्ने बताए।
उनले बुद्धका बाणीहरू जहिले पनि सत्यको पक्षमा रहेको उल्लेख गर्दै इतिहासमा र आज पनि सत्यको पक्षमा उभिनेप्रति आभार ब्यक्त गरे। ओलीले लुम्विनीलाई हेर्दा पनि पवित्र सुन्दा पनि पवित्र र अनुभूति गर्दा भन्दा पनि पवित्र ठाउँको रूपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे।
ओलीले पवित्रस्थल भएकोमा दुई मत नभएको भन्दै यसलाई पर्यटकीयस्थल, अध्यायनस्थल र तिर्थस्थलको रूपमा एक साथ विकास गरिने बताए।
‘लुम्विनीको विकासका नाममा जथाभावी होईन उपयुक्त विकासका लागि सरकार सजग छ,’ प्रधानमन्त्री ओलीले भने।
कार्यक्रममा बोल्दै प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी परिसर बाहिरका नागरिकलाई लुम्बिनीसँग जोड्न आवश्यक रहेको बताए।
मुख्यमन्त्री पोखरेलले लुम्बिनी परिषर बाहिर रहेका स्थानीयलाई लुम्बिनीसँग जोड्न नसकेर लुम्बिनीको विकास सम्भव नभएको दाबी गर्दै स्थानीयलाई लुम्बिनीसँग आत्मियता जोडिने गरी रणनीती तयार गर्न लुम्बिनी विकास कोषलाई निर्देशन दिए।
मुख्यमन्त्री पोखरेलले लुम्बिनी र बुद्धसर्किटसँग जोडिएका क्षेत्रको विकासमा प्रयाप्त सम्भावना रहेको भन्दै यहाँका सम्पदाको अन्वेशण र संरक्षणका लागि प्रधानमन्त्री समक्ष आग्रह गरे।
पोखरेलले लुम्बिनी आउने पर्यटकहरू भारतीय एजेन्सीहरु मार्फत आउँदा लुम्बिनीबारे गलत प्रचार भईरहेको र उनीहरूको बसाई समेत छोटो भएको दाबी गरे। उनले नेपाली एजेन्सी मार्फत लुम्बिनी ल्याउने ब्यवस्था मिलाउन आग्रह गरे।