नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नै पार्टीभित्रका नेताहरुको असहयोगले गर्दा पार्टीले निर्वाचन हारेको औँल्याएका छन्।
निर्वाचन हारको समीक्षा गर्न बसेको केन्द्रीय कार्यसमिति बैठकमा बुधबार कांग्रेस रुपान्तरणको एजेण्डा र आधुनिकीकरणको मार्गचित्र प्रस्तुत गरेका उनले पार्टीभित्र आन्तरिक लडाइँ र एक अर्कालाई खुल्याउने प्रवृत्तिले हार बेहोर्नुपरको औंलाएका हुन्।
गिरिजाप्रसाद कोइराला तथा कृष्णप्रसाद भट्टराईकै पालादेखि एकले अर्कोलाई खुल्याउने प्रवृत्ति सुरु भएको उल्लेख गर्दै उनले ०४६ पछि झन् अन्तरघात मौलाउँदा पार्टी ओरालो लागेको बताए।
‘मुर्झाएको आत्मियताले आन्तर्घातको अण्डा कोरल्यो र त्यसको वंश विस्तार हुँदै गयो । आज हाम्रो भागमा परेको पराजय नामको महाकाव्यका प्रारम्भिक शब्द र आनुच्छेद नियतिले उसबेलै कोर्न सुरु गरिसकेको थियो’ शर्माले भनेका छन्।
शर्माले भारतीय नाकाबन्दीको विरोध गर्न नसक्दा पार्टी चुकेको बताएका छन्। ‘बाह्य दबावलाई आश्विकार गरेर हाम्रो नेतृत्वमा संविधान निर्माण गर्नुको परिणाम नाकावन्दी थियो। तर नाकाबन्दीको खुलेर प्रतिवाद गर्न नसक्दा हामी चुक्यौं’ शर्माले भने।
नाकाबन्दीको विरोध नगर्दा राष्ट्रवादको मुद्दामा कांग्रेसको सार्वजानिक पकड कमजोर भएको शर्माले बताए। पार्टीको नेतृत्वमा निर्वाचन सम्पन्न भए पनि प्रचार गर्न नसक्दा समस्या देखिएको उनको भनाइ थियो।
‘बोल्न सक्नेले हिमालमा फ्रिज बेच्छ नसक्नेले मधेशमा आईसक्रिम पनि बेच्न सक्दैन। हाम्रो सन्दर्भमा त्यही भयो’ उनले भनेका छन्, ‘प्रतिस्पर्धीमाथि तथ्यपूर्ण र खरो प्रहार केन्द्रीय तहबाट हुन सकेन। हाम्रो ‘डिफेन्सिभ’ मनोविज्ञानलाई वामगठवन्धनको ‘आफेन्सिभ’ रणनीतिले परास्त गर्ने कुरा आनौठो रहेन।’
चुनावी हारको अर्को कारण परम्परागत सांगठनिक शैली भएको उनले बताए।
‘कर्पोरेट हाउसजस्तो एउटा र सैन्य मैदानबाट आएको अर्को दुई कम्युनिष्ट पार्टी एकीकृत हुने घोषणा साथ गठवन्धन बनाएर चुनाव मैदानमा आउँदा त्यसको प्रतिवाद गर्न सक्ने सांगठनिक पूर्व तत्परता हाम्रो विल्कुलै भएन । केन्द्रमा होस् या अन्य तहमा समयमै सबै पदाधिकारी मनोनयन एवं विभाग गठन तथा भ्रातृ संस्थाहरुको आधुनिकीकरण हुन सकेको भए निश्चय पनि क्षति न्यून हुन्थ्यो’ शर्माले भनेका छन्।