मानव बेचबिखनको मुद्दामा अदालतले कैद सजाय सुनाएका नुवाकोट स्थित घ्याङ्फेदीका सुनबहादुर तामाङ र काठमाडौँको जगन्नाथ देवल कारागारमा कैदमा राखिएका व्यक्ति एउटै नभएको भन्दै सर्वोच्च अदालतले उनलाई थुनामुक्त गर्न आदेश दिएको छ।
२०६८ साल असोजमा जिल्ला अदालत नुवाकोटले उनलाई मानव वेचबिखन मुद्दामा कैद सजाय सुनाएको थियो।
उक्त फैसला कार्यान्वयनको सिलसिलामा काठमाडौँ जिल्ला अदालतले गएको माघ ८ गते कैद गर्न पुर्जी काटेको थियो।
त्यहिँबाट उनले सर्वोच्च अदालतमा जिल्ला अदालत नुवाकोटले फैसला सुनाएको व्यक्ति आफू नभएको भन्दै बन्दिप्रत्येक्षीकरणको रिट दिएका थिए।
जिल्ला अदालतले फैसला सुनाएका व्यक्ति यीनै सुनबहादुर हुन् भन्ने यकिन नभएको भन्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो।
न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्वम भण्डारीको इजलासले भनेको छ- घ्याङफेदी गाविस वडा नम्बर ६ बस्ने सुनबहादुर तामाङ् समेत भएको जिउमास्ने बेच्ने मुद्दामा कैद सजाय भएको व्यक्ति यीनै हुन भनी एकीन नभएको केवल अनुमानको कैदमा राख्न मनासिव नदेखिँदा, अन्य मुद्दाबाट थुना वा कैदमा राख्न नपर्ने भए उक्त पुर्जी बमोजिमको कैदबाट निज सुनबहादुर तामाङलाई मुक्त गरी दिनु।