एमाले-माओवादी एकता ९ गतेलाई टर्‍यो, प्रतिवेदनको टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई (भिडियो रिपोर्ट)

बालुवाटारमा मंगलबार भएको एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठकमा सहभागी नेताहरू। तस्बिर : निशा भण्डारी/सेतोपाटी


आगामी ९ गते हुने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता टरेको छ।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको एकता संयोजन समितिको बैठकले ९ गते हुने भनिएको एकता गृहकार्य नपुग्ने निष्कर्ष निकालेको हो। यसअघि सोमबार नै बसेको एमाले स्थायी समितिको बैठकले बैशाख ९ गतेलाई तोकिएको पार्टी एकता कार्यक्रमलाई पर धकेल्न नहुने ठहर गरेको थियो। संयोजन समितिको बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकता घोषणाका लागि अब समय अभाव हुने बताए।

‘९ गतेका लागि समय नपुग्ने देखियो,’ बैठकपछि श्रेष्ठको भनाई थियो।

बैठकले प्रतिवेदनको अन्तिम रूप दिने जिम्मा दुई अध्यक्षलाई दिएको छ। ‘प्रतिवेदनलाई आवश्यक परिमार्जनसहित अन्तिम टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएका छौ,’ उनले भने,‘प्रतिवेदन माथि सुझाव सहित उहाँहरुले संयोजन समितिमा पेश गर्नुहुनेछ।’

प्रतिवेदन परिमार्जन गर्ने समय भने तोकिएको छैन।

एमाले महासचिव एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले पनि घुमाउरो रूपमा ९ गते एकता नहुने बताए। उनले नेताहरु विद्यार्थी भर्ना अभियानमा सहभागिताका लागि बाहिर जिल्लाहरुमा भ्रमणमा रहने बताए।

‘प्रतिवेदनलाई फाइनल टच दिन बाँकी छ’, पोखरेलले भने, ‘दुई अध्यक्षलाई जिम्मा दिएका छौँ, उहाँहरूले आजैदेखि छलफल गर्नुहुन्छ।’

उनले बैठकमा चुनाव चिन्हको विषयमा नउठेको बताए। ‘चुनाव चिन्हको विषयमा केही विवाद छैन। त्यसमा कुनै तनावको विषय छैन,’ पोखरेलले भने।

यस्तै केन्द्रीय समितिको दुई पार्टीमा सहभागिता गराउँदा योग्यता, क्षमता र राजनीतिक पृष्ठभूमि हेरिने उनले बताए। ‘यति र उति प्रतिशतको कुरा भएन’, पोखरेलले भने। उनले प्रतिनिधि सभा निर्वाचन राष्ट्रिय सभा निर्वाचनमा फरक फरक मोडल अपनाइएको उल्लेख गर्दै एकतामा पनि फरक मोडल हुन सक्ने तर्क गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.