हेटौंडा पुगेर मुख्यमन्त्री पौडेललाई देउवाले भने-प्रदेश राजधानी हेटौंडाबाट अन्यत्र नसार्नुहोस्

फाइल तस्बिर।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग मंगलबार बिहान भेटी हेटौंडाबाट अन्यत्र प्रदेश राजधानी नसार्न आग्रह गरेका छन्।

पूर्वप्रधानमन्त्री देउवाले कांग्रेसको नेतृत्वमा रहेको तत्कालीन सरकारले हेटौंडालाई अस्थायी राजधानी तोकेको बताउँदै प्रदेशसभामा काभ्रेपलाञ्चोक र नुवाकोटलाई प्रदेश राजधानी बनाउन दर्ता भएको दुई प्रस्ताव तत्काल छलफलमा नल्याउन र त्यसबारे हाल निर्णय नगर्न पनि अनुरोध गरे।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल र प्रतिनिधिसभाका सदस्य विरोध खतिवडाको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले पनि आज नेता देउवालाई भेटी अस्थायी राजधानी अन्यत्र नसार्नका लागि प्रमुख प्रतिपक्ष दलका नेताको हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरे।

यसैबीच नेता देउवाले हेटौंडा उपमहानगरपालिका–५ सानोपोखरामा स्थानीयवासीको जनसहयोगमा निर्माण हुने शिव मन्दिरको आज शिलान्यास गरे।

विभिन्न संघसंस्था र स्थानीय जनसहयोग गरी करिब  ११ लाख रुपैयाँको लागतमा मन्दिर बन्ने स्थानीय समाजसेवी माधव पराजुलीले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.