नेकपा एमाले र माओवादी केन्द्रको एकता संयोजन समितिको बैठक जारी छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पौने १० बजेदेखि बैठक बसिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने बताएका एमाले र माओवादीबीच प्रतिनिधित्वलगायत विषयमा कुरा टुंगिन बाँकी छ।
बैठकमा एकतामा प्रतिनिधित्वको आधार, नयाँ पार्टीको चुनाव चिन्ह र विधानमा जनयुद्ध शब्द राख्ने/नराख्ने लगायतका विषयमा छलफल हुने बताइएको छ।
यसअघि सोमबार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच यी विषयमा एक्लाएक्लै छलफल भएको थियो।
दुई अध्यक्षबीच हिजो लामो छलफल भएकाले आजको बैठकले मिल्न बाँकी विषय टुंग्याउने अपेक्षा गरिएको छ।
एमाले र माओवादी एकतामा दुईटा कुरामा फरक धारणा रहेका छन्।
माओवादीले नयाँ पार्टीको स्थायी समिति, पोलिटब्यूरो र केन्द्रीय समितिमा समानताका आधारमा दुबै पार्टीको प्रतिनिधित्व हुनु पर्ने बताएको छ।
यो कुरा एमालेले मानेको छैन।
दुबै दलका नेता सम्मिलित कार्यदलले नयाँ पार्टीको केन्द्रीय समिति ३०० सदस्यीय हुने लगभग टुंगो लगाएको छ। एमालेका अहिले २०९ जना केन्द्रीय समिति सदस्य छन्। त्यसमा बाँकी ९० जना माओवादीबाट थपेर केन्द्रीय समिति बनाउने एमाले नेताहरूको प्रस्ताव छ।
प्रदेश र प्रतिनिधि सभामा ६० र ४० प्रतिशतको हाराहारीमा उम्मेदवार बनाएका र राष्ट्रिय सभामा ७० र ३० प्रतिशत उम्मेदवारी दिएकाले केन्द्रीय समितिमा समानताको सिद्धान्त लागु गर्न नसकिने एमालेको अडान छ।
यसमा माओवादी सहमत छैन। यसरी एकता गर्दा पार्टी समर्पण गरेको जस्तो देखिने र त्यसले भविष्यमा पनि पार्टी मजबुद नहुने भएकाले दुबैको आत्मसम्मान हुने गरी एकता गरौं भन्ने माओवादी तर्क छ।