नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकताकालागि गठिन एकता संयोजन समितिको बैठक मंगलबार बस्ने भएको छ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच तीन घण्टा लामो एक्लाएक्लै छलफलपछि भोली बिहान ९ बजे बैठक राख्ने सहमति भएको हो।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले मंगलबार बिहान बालुवाटारमा संयोजन समितिको बैठक राख्ने सहमति जुटेको जानकारी दिए।
पार्टी एकतामा सहजिकरणका लागि गठित दुई दलका कार्यदलले प्रधानमन्त्री केपी शर्मा ओली गत चैत २३ मा भारत भ्रमणमा जानु अघि नै एकताका लागि आवश्यक राजनीतिक र संगठनात्मक प्रतिवेदन बुझाएपनि संयोजन समितिमा छलफल हुन सकेको छैन। दुई दलबीच पार्टीको चुनाव चिन्ह, प्रस्तावनामा जनयुद्ध राख्ने कि नराख्ने तथा एकीकरण गर्दा निर्माण गरिने केन्द्रीय समिति र पोलिटब्युरो समिति लगायतको आकारमा सहमति जुट्न सकेको छैन। माओवादी केन्द्रले 'एकतालाई विलय'को रुपमा अर्थ्याउन नहुने भन्दै सम्मानजक एकताको तर्क अगाडि सार्दै आएको छ। जसमा उसले पार्टी कमिटीहरुमा पचास प्रतिशत सहभागिता खोजेको छ।
एमालेले भने अघिल्लो निर्वाचन परिणाम र बढीमा साठी चालिसको पूर्व सहमतिका आधारमा एकता अगाडि बढाउन प्रस्ताव गर्दै आएको छ। दुई पार्टीका अध्यक्षले दुई साता यता पार्टी एकतामा छलफल गरेका थिएनन्। छलफल घनिभूत रुपमा अगाडि नबढ्दा बैशाख ९ मा गर्ने भनिएको एकता घोषणा समेत अन्यौलमा परेको छ।