अन्तरघात गर्नेहरूलाई कार्वाही गर्न पौडेल पक्षले दिएन – शेरबहादुर देउवा

फाइल तस्बिर।


नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरूलाई कार्वाही गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नदिएको आरोप लगाएका छन्।

सभापति देउवाले निर्वाचनमा अन्तरघात गर्नेहरूलाई निष्कासन  नगरेसम्म पार्टीलाई अघि बढाउन सक्ने अवस्था नरहेको दाबी समेत गरे। निर्वाचनमा अन्तरघातबाट पार्टीले ४० सिट गुमाउनु परेको सभापति देउवाको दाबी छ।

आइतबार काठमाडौंमा पार्टी निकट बुद्धिजीवीहरूको संगठन प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमाले र माओवादी केन्द्रबीचको एकताले पनि निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नु परेको पनि स्मरण गराए।

सभापति देउवाले एमाले र माओवादी केन्द्रबीचको एकतालाई चुनौतीको रूपमा लिएर पार्टी भित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरूलाई सहयोग गर्न पनि आग्रह गरे। उनले पार्टीभित्र आइपरेको चुनौती सामना गरेर अघि बढने प्रतिबद्धता पनि व्यक्त गरे।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील काँग्रेस बनाउनुपर्नेमा जोड दिए। उनले कांग्रेसलाई कामै गर्ने पार्टीको रूपमा स्थापित गराउन पार्टीका नेता, कार्यकर्ताहरूलाई आग्रह समेत गरे।

कांग्रेस महामन्त्री  शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त राख्न बुद्धिजीवीहरूले आवश्यक पहल गर्नुपर्ने आवश्यक्ता औँल्याए।

महामन्त्री कोइरालाले गुटगत गतिविधि हुन नदिन पार्टीको सिंगो पंक्ति सचेत हुनुपर्ने पनि स्पष्ट पारे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.