प्रदेश नम्बर ४ का  मुख्यमन्त्री गुरुङबाट दुई विद्यार्थीको अभिभावकत्व ग्रहण

प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आइतबार पोखरा लेखनाथ महानगरपालिका–७ मासबारस्थित श्रीकृष्ण माविको नर्सरी कक्षामा भर्नाका लागि ५ वर्षीया शिला जिरेल र अभिषेक नेपालीलाई लैजाँदै। तस्वीर : रासस


प्रदेश नम्बर ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ दुई बालबालिकाका अभिभावक बनेका छन्।

गुरुङले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ७ मासबारस्थित श्रीकृष्ण माविमा एक कक्षाका ५ वर्षीया शिला जिरेल र अभिषेक नेपालीको भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका हुन्।

भर्ना गरिएका विद्यार्थीमध्ये जिरेलका अभिभावक रन्जित जिरेल र शान्ति जिरेल दोलखामा भूकम्पले घर भत्किएपछि पोखरामा मजदूरी गर्दै आएका छन् । त्यसैगरी, दरोसिरुवारी घर भई हाल पोखरा बस्दै आएका नेपालीका बुबा दीपक नेपाली दीर्घरोगी छन् भने आमा कल्पना मजदूरी गरी घर खर्च चलाउँदै आएका छन् ।

राष्ट्रिय भर्ना अभियान, २०७५ को आइतबार सुरू गर्दै उनले सरकारी विद्यालयको शिक्षामा सुधार ल्याउन अभिभावकहरू पनि लाग्नु पर्ने बताए। उनले दुबै विद्यार्थीलाई उनीहरूले पढेसम्म आफ्नो खर्चमा पढाउने बताए।

कार्यक्रममा उपजिल्ला शिक्षा अधिकारी दीपेन्द्र ढकालले गुणस्तरीय बनाउन सरकारी विद्यालय सुधार गर्नु सबै लाग्नु पर्ने बताए।

महानगरपालिका ७ का वडाध्यक्ष रामचन्द्र बरालले भर्ना अभियानले सरकारी विद्यालयमा विद्यार्थीको संख्या ह्वातै बढेको बताए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण अधिकारीले विद्यालयमा कक्षा ८ सम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन भएको र कक्षा १० सम्मै अंग्रेजी शिक्षा बनाउने बताए । विद्यालयका प्रध्यानध्यापक केदारनाथ अधिकारीले विद्यालयमा ४ सय बढि विद्यार्थी भएको बताए । उनले नयाँ विद्यार्थी भर्ना अन्तरगत ६० जना विद्यार्थी भर्ना भएको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.