राधा चौधरीको घटना स्थानीय सरकारलाई सबक

ओरेक धनगढीको कार्यालयमा राधा चौधरी। उनी यहाँबाट घर फर्किसकेकी छन्। तस्बिर: चेतना गुरागाईं/सेतोपाटी


सिंहदरबार बाहिरका सरकार- १५

महिला दिवसको धूमधाम थियो।

धनगढी उपमहानगर परिसरमा बिहानै गन्यमान्यहरू भेला भए। सात नम्बर प्रदेश मुख्यमन्त्रीदेखि मन्त्री, मेयर, उपमेयर र वरिष्ठ अधिकारीहरू।

भाषण गरे। नारा लगाए। सहर घुमे।

त्यही बेला लगभग ७० किलोमिटर पूर्व महेन्द्र राजमार्ग आसपास एउटा गाउँको दृश्य फरक थियो।

स्थान: घोडाघोडी नगरपालिका-५, देवकलिया

दिन: २४ फागुन, २०७४

राधा चौधरी बारीमा गोबर फ्याँक्दै थिइन्। घरमा कोही थिएन। उनलाई घिसार्दै, लछार्दै गाउँको चोकसम्म ल्याइयो।

हुलको नेतृत्व रामबहादुर चौधरीले गरेका थिए, जो ‘भोलेबाबा’ भनेर चिनिन्थे।

भोलेबाबाले राधाको कपाल अँठ्याए। ‘बोक्सी’ भन्दै कुट्न थाले। उनका श्रीमतीद्वय किस्मती र स्मारिकाले साथ दिए।

कुटपिट सिलसिला छ घन्टा चल्यो।

यो छ घन्टामा दया देखाउन कोही अघि सरेनन्। छरछिमेकीले घेरिएर तमासा हेरे। सहयोगमा उठ्नुपर्ने हातले भोलेबाबाको कृत्यमा ताली पिटे। कतिले त फोटो र भिडियोधरि खिचे।

चैत तेस्रो साता हामीले धनगढीको ओरेक कार्यालयमा राधालाई भेट्यौं।

घाउ भरिएका थिए, चोट आलै थियो।

‘म कराइरहेँ, रोइरहेँ, कसैले मद्दत गरेनन्,’ १८ वर्षीया राधाले भनिन्, ‘वरपर हुनेले थपडी बजाए, कुट्-कुट् भन्दै उक्साए।’

राधा ओरेक ‘सेफ हाउस’ बाट घर फर्किसकेकी छन्। भोलेबाबा र उनका श्रीमती जेलमा छन्।

‘बोक्सी’ आरोपमा कुटिने उनी पहिली राधा होइनन्। सायद, अन्तिम पनि हुने छैनन्।

बोक्सी, छुवाछुत लगायत सामाजिक जकड पुरानै हुन्। कानुनले ‘दण्डनीय अपराध’ भनेको उहिल्यै हो।

कानुनले दण्ड त दिनसक्छ, समाज बदल्न सक्दैन।

आज हामीसँग बलियो स्थानीय सरकार छ। यो सरकारको काम भौतिक विकास मात्र होइन। उसले पाएको अधिकार कर उठाउन मात्र होइन। समाजका यस्ता अन्धविश्वासी जकड तोड्ने उसैले हो।

कानुनले समाज बदल्दैन, जनप्रतिनिधिले चाहे अवश्य बदल्छन्।

राधा चौधरीको घटनामा जनप्रतिनिधि नै विवादमा तानिए। घोडाघोडी मेयर ममताप्रसाद चौधरी र वडाध्यक्ष प्रेमबहादुर रोकायामाथि मिलापत्र गराउन खोजेको आरोप लाग्यो।

‘सबै फिल्म हेरेझैं बसे। गाउँले त अन्धविश्वासी भए भए, बुज्रुक र गाउँ बनाउन हिँडेकाहरू पनि चुप्प लागे,’ राधाले भनिन्, ‘मैले उहाँहरूबाट न्याय आस गरेकी थिएँ।’

उनले यहाँ ‘गाउँ बनाउन हिँडेका’ भनेर मेयर र वडाध्यक्षलाई भनेकी हुन्।

राधासँगको भेटपछि हामीले बाँके, कैलाली, बर्दिया, सुर्खेत र रुपन्देहीका दुई दर्जनभन्दा बढी जनप्रतिनिधिसँग प्रश्न सोध्यौं, ‘कानुनले समाज बदल्ने भए बोक्सी र छुवाछुत उहिल्यै हटिसक्थे। यो काम तपाईंहरूको हो कि होइन?’

उनीहरूले आफ्नो भूमिका मात्र सकारेनन्, घोडाघोडी घटनाले झक्झकाएको पनि बताए।

‘यस्तो घटना हामीले धेरै देख्दै-सुन्दै आयौं। पहिले टुलुटुलु हेर्न मात्र सक्थ्यौं, अब झस्किएका छौं,’ लम्कीचुआ नगरपालिका, कैलालीकी उपमेयर टीकादेवी थापाले भनिन्, ‘जनप्रतिनिधि भइसकेपछि यस्ता सामाजिक कुरीति रोक्ने जिम्मा हाम्रै हो भन्ने अनुभूति भएको छ।’

कैलालीमा १३ स्थानीय सरकार छन्। संयुक्त मासिक बैठक बस्छ। ‘मन्त्री क्लब’ भनिने बैठकमा प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत गरी ३९ जना सहभागी हुन्छन्। जिल्लाभरिका समान मुद्दामा छलफल गर्छन्। अनुभव सुनाउँन्। र, गाह्रोसाह्रो काममा हात बाँड्छन्।

घोडाघोडी घटनापछि ‘मन्त्री क्लब’ को अघिल्लो बैठक रोकियो, तर जनप्रतिनिधिले नयाँ एजेन्डा पाए। उनीहरूले बोक्सी, छुवाछुत, छाउपडी लगायत सामाजिक जकडविरुद्ध एकीकृत अभियान सुरु गर्ने निधो गरेका छन्।

‘घोडाघोडी घटनाले झक्झक्याएको छ,’ गोदावरी नगरपालिका उपप्रमुख रत्ना कडायतले भनिन्, ‘यस्तो घटना कहिल्यै नहुनुपर्ने थियो, भयो। अब नदोहोरियोस् भनेर एकीकृत अभियान सुरु गर्न खोजेका छौं।’

एकीकृत अभियानको खाँचो पनि छ।

राधा कुटिएको पाँच दिनअघि मात्र दाङको देउखुरीमा एक महिलामाथि ‘बोक्सी’ आरोपमा कुटपिट भयो।

राजपुर गाउँपालिका-७, वनकट्टीकी ३५ वर्षीया सुशीला कुँवरले प्रहरीमा कुटपिटको जाहेरी दिएकी थिइन्। उनलाई पनि राधाजस्तै पूजापाठ र झारफुक बहानामा स्थानीय धामी र गाउँलेले यातना दिएका थिए।

२०६९ मा कैलाली, बेलादेवीपुरकी राजकुमारी रानामाथि पनि बोक्सी आरोपमै कुटपिट भयो। छ दिन घरमै बेहोस लडेकी उनले राम्रो उपचारधरि पाइनन्। थला पर्दै गइन् र सास छाडिन्।

महिलामाथिको यो यातना मध्य र सुदूरपश्चिमको मात्र समस्या होइन।

गत वर्ष मंसिरमा काभ्रे, धुलिखेलबाट ६५ किलोमिटर पर सानो गौंथली भन्ने ठाउँमा लक्ष्मी परियारलाई बोक्सी आरोपमा मलमूत्र खुवाइयो। केही दिनपछि उनको मृत्यु भयो।

उता, ०७१ सालमा पूर्व सुनसरीको हासपोसामा ४५ वर्षीया पार्वती चौधरीलाई स्थानीयले बोक्सीकै आरोपमा कुटे। ०६९ मा नुवाकोट, लच्याङकी ३५ वर्षीया मसिनी तामाङलाई गाउँलेले रातभर बाँधेर यातना दिए।

यस्तो घटनाबाट राजधानी पनि अछुतो छैन।

२०७० भदौमा काठमाडौं, स्वयम्भूकी प्रमिला शाक्यले आफूमाथि परिवारले नै बोक्सी आरोप लगाएको बताएकी थिइन्। उनको बयानबाट १४ वर्षदेखि घरपरिवारले यातना दिँदै आएको खुलेको थियो।

यी सार्वजनिक घटना मात्र हुन्। यस्ता कति घटना गाउँभित्रै गुपचुप छन् भन्ने लेखाजोखा छैन।

‘देशको कुनै न कुनै कुनाका महिलाले दिनकै बोक्सी आरोप खेप्नुपरेको छ,’ ओरेक, धनगढीकी विष्णु रेग्मीले भनिन्, ‘हामीले प्रहरीमा रिपोर्ट परेका घटना मात्र थाहा पाउने हो। सामाजिक लाञ्छनाको डरले यस्ता कति घटना घर र गाउँभित्रै गुपचुप राखिएका छन्।’

ओरेक धनगढीकी विष्णु रेग्मी। तस्बिर: चेतना गुरागाईं/सेतोपाटी

‘बोक्सी आरोप लागेपछि महिलाको आत्मबल यति तल झर्छ, उनीहरू न्याय निम्ति आवाज उठाउन पनि सक्दैनन्। भोलि त्यही समाजमा बस्नुपर्ने हुँदा बोल्न हच्किन्छन्, डराउँछन्,’ उनले भनिन्।

परिवारको साथ पाए आत्मबल बढ्छ। कति घटनामा भने परिवारै विपक्षी भइदिन्छ। समाउने आडभर नपाएपछि उनीहरूको मनोबल झन् डग्छ।

राधाकै कुरा सुनुँ न।

‘ममाथि भएको घटना त सबैले थाहा पाएछन्। नभए मजस्ता धेरै छन्,’ ११ कक्षा पढ्ने उनले भनिन्, ‘यहाँ बोक्सी आरोपमा दिदीबहिनीहरू दिनकै कुटिन्छन्। लछारपछार पारिन्छन्। बेइज्जतीको शिकार बन्छन्। सबै घटना बाहिर आउँदैनन्। गाउँमै हुन्छन्, गाउँमै सेलाउँछन्।’

‘कोही किन बोल्दैनन्?’

‘कसरी बोल्नु। समाजका सबैले स्विकारेको कुरा हो। मलाई कुटपिट गरिँदा गाउँलेले नदेखेका हुन् र? वरिपरि घेरिएर थपडी मार्दै बसे। मेरो पक्षमा उभिएनन्।’

यसको कारण के भने, गाउँलेलाई कतै न कतै ‘भोलेबाबा’ को आरोपमा विश्वास थियो। राधा उनीहरूकै अगाडि जन्मे-हुर्केकी थिइन्। तै अन्धविश्वासले आँखा टालियो। भोलेबाबाले धर्मको मन्त्र फुके, उनीहरू लहैलहैमा डोरिए।

राधाको कुरा सुन्दा, उनीमाथिको हिंसा भोलेबाबाबाट हुँदै आएको यौन शोषणको शृंखला हो भन्ने बुझिन्छ।

कुटपिटमा साथ दिने स्मारिका चौधरीलाई यसअघि तिनै भोलेबाबाले ‘बोक्सी’ लागेको भनेका थिए। बोक्सी फुकाइदिने नाममा स्मारिकालाई नौ दिनकी श्रीमती बनाएका थिए। भनेको नमान्नेलाई ‘भष्म पारिदिन्छु, खत्तम गर्दिन्छु’ भन्दै धम्काउँथे।

स्मारिकालाई फसाएपछि त्यही जाल राधाविरुद्ध बुने।

पूजापाठ र झारफुक गर्न डाके। अन्धविश्वास नमान्ने राधा गइनन्।

यहीँ झोँक आफूमाथि खनिएको राधा बताउँछिन्।

‘तिमीलाई बोक्सी लागेको छ, छुटाउनुपर्छ भन्थ्यो। झारफुक गर्न आऊ, केही दिन मेरो श्रीमती भएर बसेपछि ठिक हुन्छ भन्थ्यो,’ राधाले सम्झिइन्, ‘धेरैपटक भन्दा पनि नमानेपछि यातना दियो।’

समाधान के त?

लामो समयदेखि महिला हिंसामा काम गर्दै आएकी रेग्मीको अनुभवमा कडा कानुन मात्र पर्याप्त छैन। सामाजिक चेतना बढाउनुपर्छ, जुन जनप्रतिनिधिले गर्न सक्छन्।

‘धर्मका नाममा महिला शोषण गर्ने ढोँगी बाबामाथि कडा कारबाही हुनुपर्छ,’ उनले भनिन्, ‘त्यतिले पुग्दैन। मान्छेको दिमागबाटै अन्धविश्वास हटाउनुपर्छ, बल्ल समाज बदलिन्छ।’

यही जिम्मेवारी जनप्रतिनिधिको काँधमा छ।

यस्तो घटना पहिला ठोक्किने वडा कार्यालय हो। त्यसपछि नगरपालिका वा गाउँपालिका पुग्छ। वडास्तरका जनप्रतिनिधि स्थानीयबासीसँग निकट सम्पर्कमा हुन्छन्।

बोक्सी आरोप लगाउन खोजे वा घटना उक्साउन खोजे, पहिलो जानकारी वडा प्रतिनिधिलाई हुन्छ। घोडाघोडीका वडाध्यक्षले किन राधाको पक्ष लिएनन् भन्ने सबैको प्रश्न छ।

‘हामी जनप्रतिनिधिबाटै परिवर्तन सुरुआत हुनुपर्छ। हामीले मिलापत्र गराउने होइन, पीडकलाई दण्ड र पीडितलाई इज्जतसाथ पुनर्स्थापनाको वातावरण बनाउनुपर्छ,’ गोदावरी उपप्रमुख कडायतले भनिन्।

उनका अनुसार गोदावरी नगरपालिकाले बोक्सी, छुवाछुत, छाउपडीजस्ता मुद्दामा सचेतना कार्यक्रम सुरु गरेको छ। यसमा नगरपालिकाको महिला विकास शाखा परिचालन गरिएको उनले बताइन्।

‘एउटी निर्दोष किशोरीमाथि आपराधिक घटना भयो। हामी जिल्लाभरिका ६५ जनप्रतिनिधि राखेर छलफल चलाउँदै छौं,’ उनले भनिन्, ‘बोक्सीको आरोप किन लगाइन्छ, घरेलु हिंसा किन हुन्छ भन्नेबारे जानकारी र सचेतना कार्यक्रम गर्ने तयारी छ।’

सम्बन्धित विज्ञ, प्रत्येक वडाका समाजसेवी, बुद्धिजीवि, दलका प्रतिनिधि, शिक्षक-शिक्षिका डाकेर छलफल गरिनेछ।

कानुनी प्रतिबन्धले मात्र यस्तो कुरीति हट्न नसक्ने हुँदा जनप्रतिनिधिहरू आफैं सरिक भएर अभियान चलाउनुपर्ने उनको भनाइ छ।

‘पहिले जनप्रतिनिधि नहुँदा प्रहरी-प्रशासनले छिनोफानो गर्दै आएको थियो। हामी आएपछि जिम्मा हाम्रो पनि हो,’ कडायतले भनिन्, ‘अब पनि यसबाट मुक्त हुन सकिएन भने हाम्रै कमजोरी हुनेछ।’

दुल्लु नगरपालिका, दैलेखकी उपप्रमुख विष्णु थापा सहमत छिन्।

‘हाम्रो सबभन्दा ठूलो चुनौती नै सामाजिक अन्धविश्वास कम गर्ने हो,’ उनले भनिन्।

स्थानीय चुनावलगत्तै दैलेखको गीताचौरमा एक किशोरीको छाउपडी बस्दा मृत्यु भयो। विष्णुले यसलाई एजेन्डा बनाएर अघि बढ्ने निधो गरिन्। प्रयास जारी छ। बोल्नजति गर्न भने सहज छैन।

‘वर्षौंदेखि जरो गाडेर बसेको प्रथा एकदिनको प्रयासले हट्दैन,’ उनले भनिन्, ‘कोशिस गर्दैछौं।’

सुरुआत उनले तिनै धामीझाँक्रीबाट गरिन्, जो बोक्सी आरोप लगाउँछन् र जसकहाँ समाज बोक्सी फुकाउन जान्छ।

‘हामीले गाउँका धामीझाँक्री भेटेर बोक्सी, छाउपडी, छुवाछुत भनेका अन्धविश्वास हुन्, यसलाई आड नदिनू भनेर सम्झायौं। धेरैले बुझेझैं गरेका छन्। अन्धविश्वास तोडिए समाजमा प्रभाव सकिएला भन्ने उहाँहरूलाई डर हुनसक्छ। अहिले कम्तिमा कुरा सुन्न थाल्नुभएको छ। अब लाजगाल र कानुनको डरले पनि त्यसो नगर्नूहोला,’ उनले भनिन्।

‘एक जना परिवर्तन भए पनि राम्रो सुरुआत हुन्छ। कुनै दिन यो रोग निर्मूल होला भन्ने आस गर्न सकिन्छ।’

हामी धनगढीमै हुँदा एउटा यस्तै सचेतना कार्यक्रम भएको थियो। केही धर्मअगुवा, प्रहरी, गैरसरकारी संस्थाका प्रतिनिधि र घोडाघोडी नगरपालिकाकै उपमेयर उपस्थित थिइन्।

सहभागीको भनाइ थियो, ‘घटना हुन नदिन वडाध्यक्ष र सदस्यले पनि भूमिका खेल्नुपर्छ।’

यो पनि भने, ‘पहिले जनप्रतिनिधि थिएनन्। प्रहरी-प्रशासनकै भर थियो। अब परिवर्तनको सुरुआत वडाध्यक्षबाटै हुनुपर्छ।’

हामीले केही वडाध्यक्षसँग कुरा गर्यौं।

‘घोडाघोडी घटनापछि हाम्रा आँखा खुले,’ बाँसगढी-८, बर्दियाका वडाध्यक्ष तुलप्रसाद गौतमले भने, ‘अहिलेसम्म गम्भीर थिएनौं। हामी जनताको सबभन्दा नजिक हुन्छौं। घर-घरै गएर बुझाउने क्षमता राख्छौं।’

ठाकुरबाबा नगरपालिका-९ की वडाध्यक्ष राधा चौधरी यसै भन्छिन्।

‘हामी अगुवा भएनौं भने अरूबाट कसले आस गर्छ?’ उनले भनिन्, ‘यस्तो घटना जुनसुकै गाउँमा हुँदै आएको छ। अहिलेसम्म पहल गरेनौं, अब चुप बस्दैनौं।’

हामीले प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग पनि राधा चौधरीको कुरा उठायौं।

यो उनकै प्रदेशको घटना हो। उनी राधा भेट्न अस्पताल पुगे। घटना नदोहोरिने बाचा गरे।

उनलाई थाहा छ, बाचा गर्न जति सहज छ, काम गर्न कठिन।

‘यस्ता जकडले समाज अघि बढ्न दिँदैन,’ भने, ‘कानुनले मात्र सामाजिक समस्या हट्दैनन्। सोच्ने तरिकै बदल्नुपर्छ।’

सामाजिक रूपमा स्वीकृत अपराधले चेतनास्तर झल्काउने उनको भनाइ छ। ‘चेतनास्तर उकास्ने भनेको एकदिन वा महिनामा हुने होइन। लामो समय अभियान चलाउनुपर्छ। म सुरुआत गर्छु,’ उनले भने।

प्रदेश सरकारले सामाजिक जकड अन्त्य गर्न कडा कानुन ल्याउने उनले बताए।

‘कानुन एउटा पाटो हो, यसमा मान्छेको आर्थिक पक्ष पनि जोडिन्छ। आर्थिक हिसाबमा मान्छे सक्रिय भएपछि यस्ता घटना स्वतः कम हुँदै जान्छन्,’ उनले भने।

प्रहरी, प्रशासनले कानुनको डन्डा देखाएर धेरै समय फुर्मास गर्यो। जनप्रतिनिधिले यही सुविधा लिन नहुने ओरेककी रेग्मी बताउँछिन्।

‘हो, समाज बदलिन समय लाग्छ, चेतनास्तर एकदिन वा महिनामा बढ्दैन, तर कति समय कुर्ने? कडा कानुन बनाएर हुन्छ वा सामाजिक अभियानलाई तीव्रता दिएर, यो जकड जतिसक्दो छिटो फुकाउनुपर्छ,’ उनले भनिन्, ‘हामीसँग समय छैन।’

‘राधा चौधरीहरूले न्याय पाउन अझै कति समय कुर्नुपर्ने हो?’ उनले प्रश्न गरिन्।

यो पनि हेर्नुहोस्:

‘सिंहदरबार बाहिरका सरकार’ श्रृंखला

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.