प्रधानमन्त्रीको चीन भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली सोमबार चीन जाने भएका छन्।
फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि उत्तरी छिमेकी चीनमा पहिलो पटक मन्त्रीस्तरीय भ्रमण हुन लागेको हो। परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेश मन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्र मन्त्री ज्ञवाली चीन जान लागेका हुन्।
'भ्रमणका क्रममा विभिन्न भेटघाट र प्रधानमन्त्रीको चीन भ्रमणका विषयमा कुरा हुन्छ,' मन्त्री ज्ञवालीले सेतोपाटीसँग भने।
मन्त्री ज्ञवालीले बुधबार चिनियाँ समकक्षी यीसँग द्वीपक्षीय भेटवार्ता गर्नेछन्। बेइजिङमा रहँदा उनले अन्य राजनीतिक भेटघाट पनि गर्ने छन्।
शुक्रबार मन्त्री ज्ञवालीले सिचुवान विश्वविद्यालयमा आयोजित एउटा कार्यक्रमलाई सम्बोधन गर्ने छन्।
परराष्ट्र मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्कने कार्यक्रम छ।