सामाखुसी–टोखा सडक निर्माण सुधारका लागि भुक्तानी भएको रकम पासाङ ल्हामु लोकपथ, गुह्येश्वरी मार्ग, वालाजु प्रयोग भएको पाइएको छ।
महालेखा परीक्षककको कार्यालयले राष्ट्रपतिलाई बुझाएको ५५ औं वार्षिक प्रतिवेदनमा डिभिजन सडक कार्यालय, काठमाडौं २ अन्तर्गत सामाखुसी–टोखा सडक निर्माण सुधार गर्न ७ करोड बराबर भएको भुक्तानी रकम पासाङ ल्हामु लोकपथ, गुह्येश्वरी मार्ग, वालाजुमा प्रयोग भएको पाइएको हो।
‘एक निर्माण व्यवसायीसँग ८ करोड २८ लाख ३३ सम्झौता भएकोमा ७ करोड ९२ लाख ८४ हजार भुक्तानी भएको छ। उक्त कार्यको पाँचौ बिलसम्म ६ हजार ७०७.३१ घन मिटर रेन्डम रब्बल म्यासनरीको कार्य गराई ४ करोड १५ लाख ६७ हजार भुक्तानी भएको छ। स्थलगत अवलोकन गर्दा त्यस सडक खण्डमा काम नभएर पासाङ ल्हामु लोकपथ, गुह्येश्वरी मार्ग, वालाजुमा गराएको पाइयो,’ प्रतिवेदनमा भनिएको छ, ‘लागत अनुमानमा रेन्डम रब्बल म्यासनरी आइटमको ३ करोड १० लाख ३१ हजार रहेकोमा सडक खण्डमा सो कार्य आवश्यक नपर्ने देखिए तापनि भेरिएसनबाट ९६ प्रतिशत थप गरी ६ करोड ८ लाख ३८ हजार पुर्याई अर्कै सडकमा काम गराई भुक्तानी दिनेलाई जिम्मेवार बनाउनु पर्दछ।’
सम्झौता भएको २५ महिनामा पनि सुरु भएन कामप्रतिवेदन अनुसार काठमाडौँ चक्रपथ सुधार आयोजनाअन्तर्गत ग्वार्को चोकदेखि सातदोबाटोसम्म सर्भिस गर्ने गरी खरिद सम्झौता भएकोमा म्याद समाप्त भएको २५ महिना पनि काम सुरु हुन सकेको छैन।
निर्माण व्यवसायीले म्यासनरी वोल निर्माण गर्नुपर्ने ठाउँ नदेखिएको भनी सम्झौता बाहिरको क्षेत्रमा २३ लाख २१ हजारमा पर्खाल लगाउन साइट परिवर्तन गरेको छ।
‘सुरुमा तोकेको क्षेत्रमा निर्माण कार्य नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्न सार्वजनिक सूचना प्रकाशन गरेकोमा सोको कार्यान्वयन नगरी निर्माण स्थल परिवर्तन गर्ने निर्णय गर्ने गराउनेलाई जिम्मेवार बनाउनुपर्दछ’ प्रतिवेदनमा भनिएको छ।
प्रतिवेदनअनुसार काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाअन्तर्गत त्रिपुरेश्वरदेखि नागढुङ्गासम्मको सडकको रेखाङ्कन तथा सीमांकन कार्य गरी सडक सीमामा परेका संरचनाहरू काठमाडौँ उपत्यका विकास प्राधिकरणले नभत्काएकोले सडक विस्तार रोकिएको छ।
सो सडक खण्डमा परेका तथा संरचना भत्काउने जिम्मेवारी प्राधिकरणको हो। तर कतिपय स्थानमा प्राधिकरणले पहिले चिन्ह लगाएको आधारमा घर टहरा तथा अन्य संरचना हटाई सडक आयोजनाले पर्खाल लगाई सकेपछि रेखांकन फेरबदल गरेको तथा दोहोरो मार्किङ्गको कारण विवाद सिर्जना भएको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
त्यस्तै विद्युत पोल तथा टेलिफोन तारहरु सम्बन्धित निकायले नहटाएको एवं रूख विरुवा नकाटेकोले सडक विस्तार अवरुद्ध भएको छ।
काममा दोहोरोपनाप्रतिवेदनमा डिभिजन सडक कार्यालय र काठमाडौँ दिगो शहरी यातायात आयोजनाले एकै काम दुई पटक गरेको उल्लेख छ।
अठारौं सार्क शिखर सम्मेलनमा त्रिपुरेश्वर, शहीद गेट, रत्नपार्क, जमल, केशरमहललगायत सडक खण्डमा रेलिङ तथा फुटपाथ निर्माण र मर्मत सम्भारको कार्य ४ करोड ७६ लाख ७१ हजारमा गरेकोमा काठमाडौं दिगो शहरी यातायात आयोजनाले पुनः ९८१ मिटर रेलिङ र ५४७.६१ वर्गमिटर इन्टरलक वे ब्लक तथा पिसिसी भत्काई सफा गर्ने कार्यमा २७ लाख ५६ हजार खर्च गरेको छ।
प्रतिवेदनमा दुवै निकायको अलग अलग कार्यक्षेत्र निर्धारण भएकोमा कार्यक्षेत्र बाहिर काम गर्ने र भत्काई दोहोरो खर्च गराउनेलाई जिम्मेवार बनाइनुपर्ने उल्लेख गरेको छ।