नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौँको महाबौद्धस्थित ९ तले त्रिचन्द्र मिलिटरी अस्पतालका लागि १७ तलालाई पुग्ने टायल खरिद गरेको भेटिएको छ।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ५५ औं वार्षिक प्रतिवेदनबाट भवन निर्माण सम्पन्न हुनु अघि नै सेनाको प्रबन्धरथी विभागले टायल र ढोका खरिद गरेको देखाएको हो। अस्पतालको निर्माण कार्य अझै जारी छ।
सेनाले २०७० सालमा १७ तलाको भवन बनाउने प्रक्रिया थालेको थियो। तर २०७२ वैशाखको भूकम्पपछि भवनलाई ९ तल्ला मात्र बनाउने निर्णय भयो। तर सेनाले भवन निर्माण नहुँदै २०७०/७१ मा १० करोड ३२ लाख खर्च गरेर ३७ हजार वर्गमिटरको टायल किनेको थियो। त्यस्तै २ करोड ९३ लाखको 'एबिएस डोर' सहित १३ करोड २६ लाखको सामान किनेको थियो। सामान अझै प्रयोगमा आउन सकेको छैन।
हाल भवनको क्षेत्रफल ३७ हजार वर्गमिटरबाट १९ हजार ९ सयमा झरेको छ।
'टायल प्रयोग गर्ने अवस्थामा निर्माण कार्य नपुग्दै टायल खरिद गरी बढी मौज्दात गर्नेलाई जिम्मेवार बनाउनुपर्दछ', महालेखाको प्रतिवेदनमा भनिएको छ।
यी पनि पढ्नुहोस् :सेनाले उक्त भवनलाई अस्पतालका लागि बनाएको सो भवन भाडामा लगाएर आम्दानीको नियमित स्रोतको रुपमा प्रयोग गर्न खोजिरहेको भन्दै महालेखा परीक्षकको कार्यालयले अस्पताल भवनलाई सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने बताएको छ।
'सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२५ अनुसार निर्माण कार्य सम्पनन्न गरी कार्यलयको उद्देश्यअनुसार अस्पताल सञ्चालनमा आउनुपर्दछ', प्रतिवेदनले भनिएको छ।
प्रतिवेदनले सेनाको जवानले शान्ति मिसनमा खटिई सेवा गरेबापत् प्राप्त रकमबाट जम्मा भएको कोषबाट अस्पताल निर्माण भइरहेको समेत नेपाली सेनालाई स्मरण गराएको छ।
भवन निर्माणमा हालसम्म १ अर्ब २३ करोड ५६ लाख खर्च भएको प्रतिवेदनमा उल्लेख छ।