आतंककारी गतिविधि अहिलेको प्रमुख सुरक्षा चुनौती : प्रधानमन्त्री ओली

फाइल तस्बिर।


प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको प्रमुख सुरक्षा चुनौती आतंककारी गतिविधि भएको बताएका छन्।

बिहिबार भक्तपुरमा आयोजित श्री नेपाली सैनिक प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले आतंककारी गतिविधिले शान्ति सुरक्षा,अर्थतन्त्र र सामाजिक एकतामा प्रत्यक्ष आघात पार्ने बताएका छन्। ‘देशभित्र हिंसात्मक गतिविधिमा क्रियाशील अतिवादी तत्वहरू,अन्तर्राष्ट्रिय आतंककारी गतिविधिको चुनौतीहरू साथै क्षेत्रीय र जातीय विद्वेषमा आधारित द्वन्द्वहरू अहिलेका वास्तविक खतरा हुन्’ प्रधानमन्त्री ओलीले भने, ‘यस प्रकारका खतरा विरुद्ध हाम्रा सुरक्षा निकाय सदैव तयार हुनु पर्दछ।’

प्रधानमन्त्री ओलीले २१ औं शताब्दीको अर्को महत्त्वपूर्ण चुनौती साइबर सुरक्षा भएको बताएका छन्।

‘यो प्रत्यक्ष हमलाभन्दा पनि कारगार हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रिय सुरक्षाका विविध आयामका बारेमा जानकार रही साइबर सुरक्षाको विश्वसनीय योजनासहित सुरक्षा निकायहरूबीच असरदार समन्वय बनाउनु जरुरी छ।’

प्रधानमन्त्री ओलीले लामो अस्थिरतापछि देश स्थायित्वतर्फ अग्रसर भएको बताइएका छन्। प्रधानमन्त्री ओलीले स्थायित्वको जगमा नेपालको विकास वर्तमान सरकारको लक्ष्य रहेको बताएका छन्।

‘हामी अहिले तुलनात्मक रूपमा स्थिर र शान्तिपूर्ण अवस्थामा छौं’ प्रधानमन्त्री ओलीले भने, ‘तर हामी सधैं भविष्यमा उत्पन्न हुन सक्ने खतराका बारेमा सतर्क रहनु जरुरी छ।’

प्रधानमन्त्री ओलीले नेपाली सेनाले राष्ट्र निर्माणका लागि नेपाली जनतासँग काँधमा काँध मिलाउँदै आएकोमा प्रशंसा गरेका छन्। नेपाली सैनिकहरूले विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा पुर्‍याएको योगदानलाई नेपाललाई शान्ति सैनिकहरूको देशको रूपमा चिनाएको प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले भने, ‘नेपाली सेना विविध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जिम्मेवारीहरू पुरा गर्न सक्षम बहुआयामिक संगठनको रूपमा विकसित भएको छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.