प्रधानमन्त्री तीन घन्टा ढिला आए, डेढ घन्टा भाषण गरे


बुधबार नेपाल उद्योग वाणिज्य महासंघको ५२ साधारण सभा थियो। राजधानीको एक पाँचतारे होटलमा बिहान ११ बजे उद्घाटन सत्र राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमका प्रमुख अतिथि थिए।

अर्थमन्त्री युवराज खतिवडासँगै देशका विभिन्न क्षेत्रका व्यक्ति र केही कुटनीतिज्ञलाई समेत बोलाइएको थियो। अर्थमन्त्री खतिवडासहितका निम्तालुहरू ११ नबज्दै कार्यक्रमस्थल पुगे। प्रमुख अतिथि प्रधानमन्त्री व्यस्त हुन सक्ने भन्दै उनीहरूले केहीबेर कुरे। तर, धेरै नै कुर्दा पनि प्रधानमन्त्री आएनन्। न त उनले कार्यक्रम आउन नसक्ने जानकारी नै गराए। २ घन्टा कुरेर अर्थमन्त्री खतिवडा कार्यक्रमस्थलबाट बाहिरिए।

निर्धारित समयभन्दा तीन घन्टापछि दिउँसो २ बजे प्रधानमन्त्री कार्यक्रमस्थल पुगे।

‘आज आउन अलिकति ढिला भयो, ठिकै छ, तपाईंहरूले पर्खिहाल्नु भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘यसको क्षतिपूर्ति मैले गाली खाएँ, तपाईंहरूले पर्खनु भयो। एक ढंगले फच्चे भयो।’ उनले ठट्टासमेत गरे- महासंघको धैर्यता हो कि नेपाली जनताको धैर्यता हो कि तीन घन्टा ढिला आउँदा पनि उज्यालो अनुहार लगाएर बसेका छन्। बेलाबेलामा ठट्टा गर्दै ओलीले कार्यक्रममा झन्डै डेढ घन्टा लामो सम्बोधन गरे।

सम्बोधनका क्रममा उनले नेपालमा आफूले जसरी पनि रेल ल्याउने भन्दै उद्योगी, व्यापारीलाई रेलमा राखेर पठाउने सामान उत्पादन गर्न आग्रह गरे। उनी आउन ढिला भएपछि अर्थमन्त्री खतिवडाको उपस्थितिमा कर, राजस्व र अर्थतन्त्रको विषयमा राखिएको कार्यक्रम हुन सकेन। प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा ढिला गएको यो पहिलो पटक भने होइन। प्राय: कार्यक्रममा ढिलै पुग्ने प्रधानमन्त्रीले सरकारी निवास बालुवाटारमा कलाकार र राष्ट्रिय क्रिकेट टिमलाई पनि झन्डै २ घन्टा कुराएका थिए।

चैत १७ गते बालुवाटारमा फान अवार्ड पाएका कलाकारलाई बधाई दिन प्रधानमन्त्रीले बालुवाटार बोलाएका थिए। अघिल्लो दिन भएको अवार्ड वितरण कार्यक्रममा प्रधानमन्त्री प्रमुख अतिथि थिए। अर्को दिन १२ बजे कलाकारलाई बालुवाटार बोलाइएको थियो। त्यहाँ उपस्थितलाई दिवाभोजको पनि व्यवस्था थियो।

झन्डै १०० जना कलाकार र पत्रकार १२ बज्नअघि नै बालुवाटार पुगेका थिए। प्रधानमन्त्री आउन ढिला हुने भएपछि उपस्थितले खाना खाए। साढे २ घन्टापछि प्रधानमन्त्री ओली बालुवाटार आए। उनले आफू ढिला भएकोमा क्षमा पनि मागेनन्।

यसअघि फागुन ११ गते विश्वकप छनोट खेल्न जिम्बावे जान लागेको नेपाली क्रिकेट टिमलाई पुरस्कार दिन र बिदाई गर्ने कार्यक्रम थियो।

खेलाडी र टोलीका अन्य सदस्यलाई दिउँसो ४ बजे बोलाइएको थियो। त्यो दिन प्रधानमन्त्री ओलीको जन्मदिन पनि थियो।

‘त्यो दिन बालुवाटार अस्तव्यस्त थियो, केहीबेरमा सुरक्षाकर्मीले पत्रकारहरू बाहिर जानुस् भने, हामी निस्कियौं,’ एक पत्रकारले भने, ‘तोकिएको समयभन्दा डेढ घन्टापछि कार्यक्रम सुरू भएको थियो रे।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.